ग्रामीण केन्द्रित चिकित्सा शिक्षाका अभियन्ता

अमेरिकामा उज्ज्वल करिअर, एमडीको पढाइ सकेर उच्च आम्दानी र सुरक्षित जीवनको बाटो खुलिसकेको थियो । तर प्राध्यापक डा. अर्जुन कार्कीले त्यो बाटो रोजेनन् । अमेरिकामा बसेर नेपाल र अमेरिकाको स्वास्थ्य सेवाको तुलना गरे । र, मनमनै भने, ‘मजस्ता चिकित्सक आफ्नै देश फर्किएनन् भने नेपालको हालत त्यस्तै रहन्छ । मैले स्वदेश फर्किएर आफूले सकेसम्मको सेवा गर्नुपर्छ ।’ अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्यूयोर्कबाट तीन वर्ष ‘इन्टरनल मेडिसिन’ र ब्राउन युनिभर्सिटीबाट थप तीन वर्ष फोक्सो रोग र क्रिटिकल केयर सम्बन्धी विशेषज्ञ कोर्स पूरा गरेपछि सन् १९९९ मा डा. कार्की नेपाल फर्किए । उनको त्यो निर्णयलाई उनका साथीभाइले ‘पागलनपन’को संज्ञा दिए । किनकि चिकित्सा शिक्षामा अमेरिकामा एमडी पास गरेका उनलाई अमेरिकी बजार स्वागत गर्न तयार थियो । उनले भने अनुसारको तलबसुविधा पनि पाउन सक्थे । तर, उनको अगाडि त्यो सुविधाले नेपालको दयनीय स्वास्थ्य प्रणाली, दुर्गम वस्तीका नागरिकले भोगिरहेको सास्ती र असमान स्वास्थ्य सेवाले जिस्क्याइरह्यो । र, उनी नेपाल फर्किए ।  परिवर्तन सजिलो हुँदैन । तर, एक व्यक्तिले पनि सही उद्देश्य लिएर काम गर्‍यो भने नयाँपुस्तालाई मार्गदर्शन गर्ने संस्था निर्माण गर्न सकिन्छ । मैले ५० वर्षको अवधिमा हजारौंलाई उपचार गरें होला, कुनै सुधारको काम गरियो भने त्यसको प्रभाव पछिसम्म रहन्छ, त्यसको लाभ आउने पुस्ताले पनि लिन्छ । विदेशमा पढ्न जानुअघि डा. कार्की त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा फ्याकल्टीका रूपमा कार्यरत थिए । चिकित्सा शिक्षामा अब्बल र अनुभवीको योग्यता पाएर नेपाल फर्किएका उनलाई शिक्षण अस्पतालमा काम गर्ने वातावरण सिर्जना भएन । र, उनको माग काठमाडौं विश्वविद्यालयमा भयो । ‘अमेरिकाबाट फर्केपछि सन् २००० मा काठमाडौं विश्वविद्यालयमा जोडिएँ, त्यतिबेला ‘केयू स्कूल अफ मेडिकल साइन्सेज’बाट पाँचवटा मेडिकल कलेजले सम्बन्धन लिइसकेका थिए । तर, सो विश्वविद्यालयले आफ्नै आंगिक मेडिकल क्याम्पस सञ्चालन गर्न सकेको थिएन, मेरो नेतृत्वमा आफ्नै मेडिकल शिक्षा सुरु भयो,’ उनले भने । प्रा. डा. अर्जुन कार्की ।  गुणस्तरीय मेडिकल शिक्षाको अवधारणापत्र उनै डा. कार्कीले तयार गरे । विश्वविद्यालयले डाक्टर उत्पादन गरेर मात्र हुँदैन, उनीहरूलाई दूरदराज र आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट विमुख रहेका समुदायसम्म पुगेर सेवा दिनसक्ने पनि बनाउनुपर्छ भनेर उनले अवधारणा पत्र तयार गरे । उनमा ग्रामीण भेगका गरिबका छोराले पनि मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने थियो । किनकि त्यसअघि सहर र गाउँका नागरिकले पाउने स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षामा पनि ठूलो असमानता थियो । उनी त्यो असमानता र विभेद चिर्न चाहन्थे । त्यसैका लागि उनी अमेरिकाबाट स्वदेश फर्किएका थिए ।  ‘त्यही असमानता चिर्न मेरै नेतृत्वमा समस्यामा आधारित सिकाइ (पीबीएल)’ भनिने नवीनतम शिक्षण विधिबाट सन् २००१ मा केयूमा एमबीबीएस कार्यक्रमको पढाइ सुरु भयो, पाठ्यक्रम पनि सोही ढंगले तयार ग¥यौं । पछि धेरै गरिब विद्यार्थी र ग्रामीण क्षेत्रका विद्यार्थीले पनि चिकित्सा शिक्षा पढ्न पाए,’ उनी भन्छन्, ‘नेपालको चिकित्सा क्षेत्रमा थोरै भएपनि केही सुधार गरेको महसुस हुन्छ ।’ तीन वर्षसम्म काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षामा डा. कार्कीको नेतृत्वमा परिणाम दिने काम भयो । दर्जनौं ग्रामीण क्षेत्रका विद्यार्थीले एमबीबीएस शिक्षा पढ्न पाए । उनीहरूले आफ्नै ठाउँमा चिकित्सक बनेर सेवा गर्ने अवसर पाए । आफूले बसालेको जगकै कारण दर्जनौं चिकित्सकले आफ्नै गाउँमा फर्केर गरेको सेवाप्रति उनी गर्व गर्छन् ।  केयूमा उनले समस्यामा आधारित सिकाइ,  समुदायमा आधारित चिकित्साशास्त्र क्लिनिकल प्रस्तुति मोडेल विधिमा विद्यार्थीलाई किताबका सैद्धान्तिक विषयभन्दा पनि बिरामीको वास्तविक समस्या बुझेर सिकाउने प्रयास गरे । त्यसमा आफू सफल पनि भएको उनी दाबी गर्छन् । ग्रामीण वस्तीका स्वास्थ्य समस्या, सामाजिक संरचना, रोगका व्यवहारिक र आर्थिक कारण पहिचान गरेर विद्यार्थीलाई त्यहीअनुसार सिकाउन सकिएको उनी बताउँछन्।  काठमाडौं विश्वविद्यालयको नेतृत्व आफ्नो मुख्य एजेण्डामाथि विमुख भएको महसुस डा. कार्कीले गरे । तीन वर्ष काम गरेपछि उनले त्यहाँबाट पनि राजीनामा दिए । अब आफूले बसालेको जग र आफ्नो अवधारणामा थप प्रवाभकारी भएर काम गर्न उनी योजना बनाउँदै थिए । त्यही सिलसिलामा उनी पाटन अस्पतालसँग जोडिए । डा. कार्कीले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा शिक्षामा रचनात्मक र नवप्रवर्तनको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर ग्रामीण केन्द्रित चिकित्सा शिक्षाको अभियान र त्यसलाई कार्यान्वयन गरे भने अहिले नेपाल नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर अगाडि बढिरहेका छन् ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जन्मदाता काठमाडौं विश्वविद्यालयबाट अलग भएपछि उनले पाटन अस्पतालमै मेडिकल कलेज खोल्ने योजना अघि सारे । प्रधानमन्त्री र मन्त्रीहरूसँग बारम्बार भेटे, छलफल गरे । देशमा छुट्टै किसिमको मेडिकल कलेजको स्थापनाको आवश्यकता बारेमा ब्रिफ्रिङ गरे । त्यतिखरे प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । ‘संयोगवश त्यतिबेला म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य उपचार टीममा पनि संलग्न थिएँ । मैले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्ताव उहाँलाई सुनाएँ, उहाँले तुरुन्तै स्वीकार पनि गर्नुभयो,’ स्थापनाका दिन स्मरण गर्दै डा. कार्कीले भने ।  अन्ततः सन् २००७ सालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो । त्यसको संस्थापक उपकुलपति उनै डा. कार्की बने । त्यही वर्षबाट पाटनमा एमबीबीएसको पठनपाठन सुरु भयो । उनले एमबीबीएसका विद्यार्थीको प्रवेश परीक्षा अन्य मेडिकल कलेजको भन्दा रचनात्मक र पृथक बनाए । उनको चाहना थियो, ग्रामीण भेग र गरिबका जनता छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्न पाउन् ।  ‘हामीले परीक्षामा विद्यार्थीले प्राप्त गर्ने अंकलाई मात्र भर्ना छनोटको आधार बनाएनौं, त्यो विद्यार्थी असल चिकित्सक बन्न योग्य छ कि छैन भनेर उसको ‘एप्टिच्युड’ जाँच गर्ने काम पनि ग¥यौं । सोही किसिमले प्रश्नपत्र बनायौं, ग्रामीण भेगमा पढेको विद्यार्थी र सहरमा पढेको विद्यार्थीलाई एउटै किसिमले मूल्यांकन गरेनौं, पाठ्यक्रम र शिक्षण विधि पनि रचनात्मक बनायौं,’ उनले आफूले गरेको काम सुनाउँदै भने, ‘परिणामस्वरूप सबै क्षेत्रका विद्यार्थीले पाटनमा पढ्ने अवसर पाए ।’ डा. कार्कीले आफूले बसालेको जगकै कारण आज पाटन अस्पतालबाट उत्पादन भएका ५० प्रतिशत बढी चिकित्सक सरकारी अस्पतालमा कार्यरत रहेको सुनाए । उनले यो विषयलाई गर्वका रूपमा हेरेका छन् । ‘सहरमा पढेहुर्केको विद्यार्थीको अंग्रेजी राम्रो हुन्छ, गणित राम्रो हुन्छ, उसले सहजै एमबीबीएसको प्रवेश परीक्षा पास गर्न सक्छ । तर, ग्रामीण भेगमा पढेको विद्याथीसँग त्यो क्षमता हुँदैन, हामीले गाउँमा पढेको विद्यार्थीले पनि चिकित्सक बन्न सक्ने ढोका खोल्यौं, त्यो असमानता हटाउने प्रश्नपत्र निर्माण गर्‍यौं,’ उनले भने, ‘त्यो अवधारणाले राम्रो प्रतिफल प्राप्त गर्‍यौं, गरिबका छोराछोरी पनि चिकित्सक बन्ने बाटो खुल्यो ।’ डा. कार्कीले नेपालको चिकित्सा शिक्षामा मौलिक रूपान्तरणको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटा शैक्षिक सेवाको स्थापित संस्था बनाउन उनी सफल भए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना हुनु नेपाली चिकित्सा क्षेत्रमा एउटा ऐतिहासिक क्रान्तिको जग बस्यो । विगतका अंकको भरमा चिकित्सक बन्न सक्ने बार उनै डा. कार्कीले तोडे । उनकै योजना र अवधारणाअनुसार पछि त्यस संस्थाबाट उत्पादित चिकित्सकहरू खुसी हुँदै विकट र ग्रामीण क्षेत्रमा पनि सेवा दिन तयार बने ।  विगतमा कुनै विकट जिल्लाहरूमा सेवा गर्नको लागि जान तयार नहुने नेपाली चिकित्सकहरू डा. कार्कीको योजनाले जुनसुकै जिल्ला र क्षेत्रमा पनि जान तयार भए । उनको नेतृत्वमा नै कमजोर पृष्ठभूमिका विद्यार्थीलाई सक्षम बनाउन ६ महिनाको फाउण्डेसन कोर्स पनि सुरु गरिएको थियो । जुन नेपालकै चिकित्सा शिक्षामा पहिलो कार्यक्रम हो । सो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई गाउँगाउँमा पठाइन्थ्यो । स्थानीय स्वास्थ्य संस्था, वडा कार्यालय, घर–घरमा पुगेर जनस्वास्थ्यका वास्तविक चुनौती बुझाइन्थ्यो ।  डा. कार्कीका अनुसार पहिलो पटक विद्यार्थी गाउँ पुग्दा डराउँथे, असजिलो मान्थे । तर पटक–पटक जान थालेपछि गाउँ नै आफ्नो कार्यक्षेत्र बन्न सक्छ भन्ने आत्मविश्वास उनीहरूमा विकास भयो । चिकित्सक बनिसकेपछि उनीहरू निर्धक्क भएर कार्यक्षेत्रमा सेवा गर्न जाने वातावरण निर्माण भयो ।  ‘केही हदसम्म भए पनि मैले नेपालको चिकित्सा क्षेत्रलाई रिफर्म गरेको महसुस हुन्छ, हाम्रो देशलाई काम गर्ने डाक्टर काम लाग्छ भनेर, विद्यार्थीको मनसाय बुझेर हामीले काम गर्‍यौं । अन्तर्राष्ट्रिय स्तरका तथा धेरै उच्चस्तरीय विशेषज्ञ पाठ्यक्रम विकास, संकाय तालिम, तथा प्रवेश प्रणाली सुधारमा ठूलो टेवा पुर्‍याएँ,’ उनी भन्छन्, ‘अहिले पाटन अस्पतालको जुन विश्वसनीयता छ, त्यसको जग बनेकोमा मलाई गर्व छ ।’ चिकित्सा शिक्षा आयोग बनेपछि भने देशभरिको एमबीबीएसको परीक्षा लिने प्रणाली समान छ । यो प्रणालीले फेरि पनि टाठाबाठाहरूले नै पढ्न पाउने वातावरण निर्माण भएकोमा उनी बेखुसी छन् । नेपाल विश्वविद्यालयका संस्थापक चिकित्सा शिक्षामा संरचनागत सुधार गर्दै जाँदा डा. कार्कीले नेपालको उच्च शिक्षामा त्यहाँभन्दा ठूलो समस्या देखे । विद्यार्थीहरूलाई सानै उमेरदेखि विभिन्न विषय यति सकस, यति गाह्रो भनेर भनेर भारी बोकाएको आभास उनलाई भयो । उनले त्यो समस्याको समाधान पहिल्याए ।  ‘कक्षा १० पास हुनेबित्तिकै हामीले विद्यार्थीको दिमागमा ‘साइन्स, म्यानेजमेन्ट, ‘आर्टस्’ वा अन्य विषय भनेर तिनको भारी पनि बोकायौं, एउटा पढेको विद्यार्थीले अर्को विषयको ज्ञान नै नराख्ने अभ्यास देखियो,’ उनी भन्छन्, ‘यो हाम्रो शैक्षिक प्रणालीको दोष हो, यो प्रणालीको सुधार नहुँदासम्म शैक्षिक सुधार हुँदैन भन्ने महसुस भयो ।’ एउटा विद्यार्थीलाई मानव समाज, संस्कार र संस्कृति, भाषा र नवीनतम् सूचना प्रविधिको पनि ज्ञान हुन आवश्यक रहेको निचोड डा. कार्कीले निकाले । एउटा व्यवहारिक र सिर्जनशील विद्यार्थी उत्पादनका लागि सुरुमा प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता उनले देखे । त्यसपछि उनी त्यो प्रणाली सुधारका लागि नयाँ विश्वविद्यालय नै खोल्नुपर्ने अभियानमा लागे ।  ‘हामीले व्यक्तिलाई न नैतिकवान बन्न सिकायौं, न त समाज बुझने जिम्मेवार नागरिक । सबैको मुखमा देश बनेन भन्ने कुरामात्रै सुनियो । यसको महत्त्वपूर्ण बिन्दु शिक्षा नै हो,’ उनी भन्छन्, ‘समाजको विभिन्न पक्ष बुझ्ने, समाजप्रति जिम्मेवार र व्यवहारिक नागरिक उत्पादन गर्न आवश्यक भएको महसुस गर्दै हामीले नेपाल विश्वविद्यालय स्थापना गर्ने अभियान अगाडि बढायौं ।’ विगत ७ वर्षदेखि थालेको अभियानले अहिले सार्थकता पाएको छ । नेपाल विश्वविद्यालय स्थापना भइसकेको छ । विश्वविद्यालयले अहिले पाठ्यक्रम निर्माण, शिक्षण विधि, शिक्षक व्यवस्थापन लगायतका विषयमा काम गरिरहेको छ । डा. कार्की त्यही विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यरत छन् ।  अन्य विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था भए पनि यो विश्वविद्यालय भने स्वायत्त सार्वजनिक र गरनाफामूलक संस्थाको रूपमा काम गर्नेछ । विश्वविद्यालयको संरक्षक परिषद् छ । सोही परिषदले उपकुलपतिलाई नियुक्त गर्छ ।   अहिले विश्वविद्यालयको संरक्षक परिषदमा डा. बिन्दु लोहनी, बिमला राई पौड्याल, प्राध्यापक बिपिन अधिकारी, चाँदनी जोशी, जगदीश सी पोखरेल, लालकृष्ण केसी, लक्ष्मीदेवी पाण्डे, माधव पौडेल, रामेश्वर खनाल, प्राध्यापक डा. राम श्रेष्ठ र डा. सिबा थापा सदस्य रहेका छन् । विश्वविद्यालयको रजिष्ट्रार डा. सूर्यराज आचार्य रहेका छन् ।  डा. कार्कीका अनुसार अहिले विश्वविद्यालय स्थापनाका लागि जग्गा खोज्ने काम भइरहेको छ । उनका अनुसार अहिले विश्वविद्यालयले ‘मास्टर इन पब्लिक पोलिसी’मा भर्ना पनि खुलाएको छ ।  विद्यार्थी पासमात्रै भन्दा पनि उनीहरू सोच्न, प्रश्न गर्न, विश्लेषण गर्न र समालोचना गर्र्न किसिमको निर्माण गर्न खोजेको उनी बताउँछन् ।  डा. कार्की चिकित्सकको भूमिकामा मात्रै नभई समाज सुधारकको रूपमा पनि काम गरिरहेका छन् । शिक्षामा रूपान्तरण ल्याउने अभियानमा उनी लागिरहेका छन् । उनले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा शिक्षामा रचनात्मक र नवप्रवर्तनको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर ग्रामीण केन्द्रित चिकित्सा शिक्षाको अभियान र त्यसलाई कार्यान्वयन गरे भने अहिले नेपाल नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर अगाडि बढिरहेका छन् ।  ‘परिवर्तन सजिलो हुँदैन । तर, एक व्यक्तिले पनि सही उद्देश्य लिएर काम गर्‍यो भने नयाँ पुस्तालाई मार्गदर्शन गर्ने संस्था निर्माण गर्न सकिन्छ,’ डा. कार्की भन्छन्, ‘मैले ५० वर्षको अवधिमा हजारौंलाई उपचार गरें होला, कुनै सुधारको काम गरियो भने त्यसको प्रभाव पछिसम्म रहन्छ, त्यसको लाभ आउने पुस्ताले पनि लिन्छ ।’ डा. कार्की सामूहिक प्रयत्नले नै नतिजा दिन सकिने धारणा राख्छन् । ‘विश्वविद्यालयमा विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने मात्रै हुनु हुँदैन । विचार, विश्लेषण र सोच्न सक्ने जनशक्ति हामी उत्पादन गर्छौं, विश्वका कुनै पनि देशभन्दा हाम्रो शिक्षा कम हुँदैन भन्ने किसिमले हामी गरिरहेका छौं,’ उनी भन्छन्, ‘मैले थालेको काम गज्जवले सम्पन्न गर्छु र यसले मुलुकको वृहत्तर हितको लागि काम गर्छ भन्ने विश्वास पनि छ ।’ यसरी बने विशेषज्ञ सिन्धुपाल्चोकको पेट्कु (हाल लिसंखु–पाखर गाउँपालिका) मा घर भएका डा. कार्की  सन् १९५५ मा काठमाडौंको एक डेराको घरमा जन्मिए । बुवा नेपाली सेना र पछि नेपाल प्रहरीमा भएकोले उनको बाल्यकाल विभिन्न ठाउँमा गएर बित्यो । बिरामी हुँदा अस्पताल पुगेका उनले डाक्टर देखेपछि म पनि डाक्टर बन्छु भन्ने सपना उनमा पलायो।   एसएलसीको नतिजा कमजोर हुँदाहुँदै पनि हेल्थ असिस्टेन्ट (एचए) पढ्ने अभिलाषा उनमा जाग्यो । पहिलो र दोस्रो प्रयास असफल भए पनि स्वीस सहयोगमा सञ्चालन भएको ग्रामीण विकास परियोजनामा क्लिनिक सहायक बनेर पाएको अनुभवले तेस्रो प्रयासमा सफलता दिलायो । उनी विगत सम्झिँदै भन्छन्, ‘सन् १९७५ मा एचएमा  नाम निकालें । तीन वर्षमा उत्कृष्ट नम्बर ल्याएर पास पनि भएँ ।’ एचए पास गरेपछि उनले नुवाकोट र दोलखाका स्वास्थ्य चौकीमा एक वर्ष सेवा गरे । चिकित्साशास्त्र अध्ययन संस्थानले महाराजगञ्ज क्याम्पसमा एमबीबीएस कार्यक्रम सुरु गर्‍यो । आवश्यक योग्यता पूरा भएकाले सन् १९७९ मा उनी पनि भर्ना भए । उनले सन् १९८५ मा एमबीबीएस उत्तीर्ण गरे ।  डा. कार्की एमबीबीएसपछि छिटोभन्दा छिटो विशेषज्ञ बन्ने चाहन्थे । तर, त्यतिबेला नेपालमा स्नातकोत्तर (मास्टर्स) कार्यक्रम उपलब्ध थिएन । सन् १९९१ मा स्वीडेनको लुन्ड विश्वविद्यालयमा मेडिकल एक वर्षको अनुसन्धान सकाएर उनी सन् १९९३ मा अमेरिका गए । उनले अमेरिकामा क्रिटिकल केयरमा विशेषज्ञता हासिल गरेपछि स्वदेश फर्किए ।  उनी सामाजिक काममा पनि सक्रिय भए । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न सरकारले गठन गरेको डा. केदारभक्त माथेमा आयोगका सदस्य पनि बने । उनले प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका संस्थापक कार्यकारी निर्देशक तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका संस्थापक अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।  कार्कीकै शब्दहरू : बिरामीका समस्या सुन्नु, बुझ्नु र निदान गर्नु चिकित्सकको दायित्व हो । तर, स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले सदैव महसुस गरें कि रोगको उपचार मात्र पर्याप्त हुँदैन । रोग जन्माउने संरचनात्मक असमानता हटाउन नसकिएसम्म समाजमा दिगो शान्ति र स्थायित्व आउँदैन । गाउँ–सहरबीच स्वास्थ्य पहुँचबीचको अमानताता र खाडल, शिशु र मातृ मृत्युदरले मलाई झकझक्याइरह्यो । सोही कारण म अमेरिकाबाट नेपाल फर्किएँ ।  नेपालमा तालिमप्राप्त चिकित्सक दुर्गममा जान चाहँदैनन् भन्ने आरोप धेरै लाग्थ्यो । अहिले पनि त्यो अवस्था छ । तर, अध्ययन गर्दै जाँदा मैले के बुझें भने समस्या चिकित्सकमा मात्र होइन, हाम्रो सम्पूर्ण चिकित्सा प्रणालीमै छ । ग्रामीण प्राथमिकताको अभाव, अवसरको असमानता र प्रणालीगत कमजोरीले गर्दा धेरै चिकित्सक विदेशतिरै जाने प्रवृत्ति बढेको रहेछ । यही समस्यालाई उल्ट्याउने संकल्प लिएर म चिकित्सक उत्पादन र चिकित्सा शिक्षा सुधारतर्फ सक्रिय भएँ । त्यही सिलसिलामा काठमाडौं विश्वविद्यालयसँग जोडिएँ । काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालन गर्नका लागि ठूलो भूमिका खेलें । देश–विदेशका प्राध्यापक ल्याएर तीन वर्षसम्म चिकित्सा शिक्षालाई आधुनिक र व्यवहारिक बनाउने प्रयास गरें । केही हदसम्म म सफल पनि भएँ । तर, पछि त्यहाँको नेतृत्वसँग मैले चाहेको ‘ग्रामीण–उन्मुख’ दृष्टिकोण मेल खाएन । उनीहरू प्राविधिक शिक्षा मात्र दिनुपर्छ, त्यसपछि चिकित्सक कहाँ जान्छन् भन्ने मतलब राख्नुपर्दैन भन्ने मान्यता राख्थे । तर, म चाहन्थें—चिकित्सा शिक्षा समाजको आवश्यकता र ग्रामीण जनताको समस्यासँग जोडिनुपर्छ । कुरा नमिलेपछि त्यहाँबाट बाहिरिएँ । मेरो चाहना र सपना थियो कि ग्रामीण भेगमा जन्मेहुर्केका विद्यार्थीलाई चिकित्सक बन्न प्रेरित गर्ने । किनकि गाउँमै जन्मेहुर्केका विद्यार्थी आफ्नै गाउँमा सेवा गर्न बढी इच्छुक हुन्छन् , सहरमा हुर्केकालाई गाउँ पठाउन कठिन थियो ।  त्यही सिलसिलामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सफल भइयो । त्यसको मैले नेतृत्व गरें । हामीले एमबीबीएसको प्रवेश परीक्षाको संरचना नै परिवर्तन गरेपछि गाउँका विद्यार्थी पनि एमबीबीएस पढ्ने बाटो खुल्यो । प्रतिष्ठानले यसले ग्रामीण पृष्ठभूमिका धेरै विद्यार्थीलाई चिकित्सक बन्न उत्प्रेरित ग¥यो । पाटनले उत्पादन गरेका ५० प्रतिशत चिकित्सक अहिले सरकारी अस्पतालमा कार्यरत छन् । यसमा मलाई ठूलो गर्व छ ।  मैले जीवनमा पैसालाई होइन, सेवालाई प्राथमिकता दिएँ । यदि पैसा नै अन्तिम लक्ष्य भएको भए म अमेरिकाबाट कहिल्यै फर्किँदैन थिएँ । यो अवधिमा कति बिरामीको उपचार गरें, म आफैंलाई समेत हिसाब छैन । तर, समाजले मप्रति देखाएको विश्वास नै मेरो सबैभन्दा ठूलो पुँजी हो । चिकित्सा शिक्षामा लाग्दै गर्दा नेपालको उच्च शिक्षामा पनि ठूलो समस्या रहेछ भन्ने पहिचान भयो । विद्यार्थी पासका लागि मात्रै पढ्ने प्रवृत्ति तोड्न हामीले नेपाल विश्वविद्यालय खोल्ने योजना अगाडि बढायौं । हामी अब समालोचना गर्न सक्ने, विश्लेषण गर्ने र सिर्जनात्मक सोच भएका जनशक्ति उत्पादन गर्ने गरी काम गरिरहेका छौं । त्यसमा सफल पनि हुन्छौं भन्ने विश्वास छ । 

हरित ऊर्जा उद्यमी, ऊर्जाशील अभिभावक

जति उद्योग डुबे । जति नोक्सानी भयो, त्यसमा निराश भएको भए, हरेश खाएको भए सायद आज नेपाली उद्योगीमाझ सफल र प्रेरक उद्यमीका रूपमा परिचित हुन्थेनन् कृष्णप्रसाद आचार्य । उनी ४३ कम्पनीका मालिक बने । तीमध्ये कति नोक्सानी बेहोरेर बन्द भए । कतिपयबाट लगानी झिके त कतिपयलाई सुस्त सञ्चालन गरे । तर, अहिले पनि ३० वटा कम्पनीको दैनिक रिपोर्टिङ लिन्छन् आरएम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्य । अफिसकै कुर्सीमा बसेर ।  साढे सात दशकको उमेर । मुहारमा आत्मविश्वास । काममा लगनशील । नम्र स्वभाव । जलविद्युत उद्यमी कृष्णप्रसाद आचार्यलाई चिन्ने जो कोहीले पनि झ्वाट्ट देख्दा र बुझ्दा यसरी नै लिन्छन् । पंक्तिकारले उनै आचार्यलाई जिज्ञासा राखे, ‘अब व्यवसायबाट विश्राम लिऔं, आराम गरौं भन्ने लाग्दैन ?’ जवाफमा उनले भने, ‘म रिटायर्ड हुँदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम साससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ ।’ विसं २००९ जेठमा कास्कीको निर्मलपोखरीमा जन्मिएका आचार्य किसान परिवारको पृष्ठभूमिमै हुर्किए । परिवार किसान भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने ढाडस उनलाई बुवाले दिइरहन्थे । त्यही उत्प्रेरणाले उनी व्यवसाय गर्ने तरखरमा लागे । तर, अभाव थियो पुँजीको । उनले पुख्र्यौली जमीन बिक्री गरे । जमीन बिक्री गरेर बस किने । त्यतिखेर यातायात क्षेत्रमा उनले राम्रै सम्भावना देखे । बस सेवा सञ्चालन गरेर राम्रै अनुभव लिए । उनले पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्षका रूपमा पनि काम गरे ।  यातायातपछि आचार्यले पर्यटन क्षेत्रमा सम्भावना देखे । पोखरामा पहिलो पटक पर्यटकस्तरीय होटल खोले । पोखराको महेन्द्रपुलमा पहिलो पटक वि.सं. २०३० सालमा होटल खोलेर पर्यटन क्षेत्रमा सम्भावनाको सञ्चार उनैले गरे । जतिबेला पोखरामा बस्नयोग्य पर्यटकस्तरीय होटलहरू थिएनन् ।  ‘होटल व्यवसाय गर्दा नेपाल औद्योगिक विकास निगमबाट ऋण लिएँ, त्यतिबेला निजी क्षेत्रका बैंक थिएनन् । सरकारी बैंकले होटलमा लगानी गर्थेनन्,’ आचार्यले भने । उनी पर्यटन क्षेत्रमा अहिले पनि पर्याप्त सम्भावना र अवसरहरू रहेको सुनाउँछन् ।  दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग उद्योगी आचार्य जहाँ सम्भावना देख्छन्, त्यहाँ सिफ्ट भइहाल्छन् । त्यो उनको पहिचान बनिसकेको छ । समय र परिस्थितिसँगै आफूलाई रूपान्तरण गरेर सोही किसिमले काम गर्नु एउटा सफल व्यवसायीको विशेषता हो । उद्यमी आचार्यको जीवनमा यस  विशेषता ठ्याक्कै लागू भएको देखिन्छ ।  विसं २०३० को दशकमा चाउचाउ भन्ने शब्द नेपाली शब्दकोषमा थिएन । जब उनले रारा चाउचाउ उत्पादन गरेर बजारमा ल्याए, सबैको मुखमा झुण्डियो ‘रारा’ । नेपालमा चाउचाउ उद्योग खोल्दाका सुरुवाती दिनहरू भने निकै सकस थिए । सरकारी कर्मचारीले उद्योग खोल्न नदिएको सकस उनलाई अहिले पनि स्मरण छ । तर, कृष्ण आचार्य र उनको टिमले त्यसलाई सार्थक तुल्यायो । र, २०३९ माघ २३ मा रारा चाउचाउको उत्पादन सुरु भयो ।  ‘दक्षिण एसियामै पहिलो रारा तयारी चाउचाउ उद्योग सुरु ग¥यौं । चाउचाउ भन्ने शब्द नै नेपाली शब्दकोषमा थिएन । हामीले सुरु गरेपछि शब्द पनि स्थापित भयो र उद्योग पनि,’ खुसी हुँदै उनी भन्छन् ।  रारा चाउचाउ उत्पादनका मुख्य पायोनियर कृष्ण आचार्य, सूर्यबहादुर केसी र फणिन्द्रमान श्रेष्ठ थिए । लगानीकर्ता भने १०६ जना थिए । केसी र श्रेष्ठको निधन भइसकेको छ । आचार्यले त्यो उद्योगको नेतृत्व २० वर्ष गरे । अहिले केसीका छोरा प्रकाश केसीले रारा चाउचाउ उत्पादन गरिरहेका छन् ।   ‘मलाई उद्योग क्षेत्रमा चिनाउने रारा चाउचाउ नै हो । म २७ वर्षको थिएँ । त्यसबेलाका बिजनेस टाइकनले मलाई खोज्थे, ठूल्ठूला राजनीतिज्ञले खोज्थे । राजा वीरेन्द्रले एक दिन बोलाएर उद्योग कसरी सुरु गर्याै ? प्रविधि कहाँबाट ल्यायौ, को–को संलग्न छौ भनेर सोध्नु भएको थियो,’ उद्योग सञ्चालन गर्दाका दिन स्मरण गर्दै आचार्यले भने । नयाँ उद्योगसँग उनको परिचय नै बदलियो ।  आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा, र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० कम्पनी बढीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । त्यसपछि ऊर्जामा प्रवेश चाउचाउ उत्पादन गरेर राष्ट्रिय व्यवसायीमाझ चिनिएका आचार्य सम्भावनाको खोजीमा लागिरहे । पछि अरू धेरै चाउचाउ उद्योग आए । प्रतिस्पर्धा बढ्यो । उनले भने क्षेत्र सिफ्ट गर्ने सोंच बनाए । ठूलो प्रतिस्पर्धा नभएको क्षेत्र खोजे । सम्भावना र अवसरको पहिचान गरे । र, दुई दशकअघि ऊर्जा क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे ।  उनको बुझाइमा जलविद्युत क्षेत्रमा प्रतिस्पर्धा छैन । जति जलविद्युत उत्पादन गरे पनि सम्भावना प्रचुर छ । यसले व्यवसाय सफलतासँगै राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान दिन्छ । आचार्य अहिले ऊर्जा क्षेत्रका पायोनियर उद्यमीका रूपमा परिचित छन् ।  उसो त आचार्यको पढाइ पोलिटिकल साइन्स हो । तर, उनलाई व्यवसाय नै मन पर्छ । उनी व्यवसायमै रमाएका छन् । ‘गर्दै, सिक्दै, नोक्सान बेहोर्दै फेरि उठ्दै’ व्यवसाय सुरु गरेको हुँ, व्यवसायमा पारदर्शीता र लगनशीलता भयो भने लामो यात्रा तय गर्न सकिन्छ,’ उनले अनुभव सुनाउँदै भने ।  उनका अनुसार जलविद्युत क्षेत्रमा लाग्नु भनेको पैसा कमाउनु मात्रै होइन, राष्ट्रिय अर्थतन्त्र पनि बढाउनु हो । ‘प्रकृतिले पानी दिएको छ, त्यो पानीको उपयोग गर्नुपर्छ भनेर जलविद्युत क्षेत्रमा लागें । जहाँ आयोजना सुरु हुन्छ, त्यहाँ विकास हुन्छ, बाटो र बिजुली जान्छ, त्यसपछि विद्यालय र स्वास्थ्य संस्था खुल्छ । यसले रोजगारी सिर्जना हुन्छ, विविध अवसरहरू सिर्जना गर्छ, लगानीको उपयुक्त क्षेत्र सोंचेर नै म यो क्षेत्रमा प्रवेश गरेको हुँ,’ उनले भने ।  आचार्यले वातावरणका लागि पनि राम्रो र प्रतिस्पर्धा पनि नभएको क्षेत्र भएकोले हाइड्रो क्षेत्र रोजेको सुनाए । उनकै नेतृत्वमा ४७५ मेगावाट विद्युत उत्पादनको चरणमा छ । उनका अनुसार २ आयोजनाको बक्ती बलिसकेको छ । दुई आयोजना निर्माणको अन्तिम चरणमा छन् भने एउटाको काम सुरु भइसकेको छ र दुइटा आयोजना अध्ययनको चरणमा छन् । आचार्यको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुडी ‘ए’ र ६.६ मेगावाटको रुडी ‘बी’, मल्टी एनर्जी डेभलपमेन्ट प्रालिले २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना, ७.५ को मेगावाट गुप्चे खोला जलविद्युत् आयोजना, ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजना, ८.८ मेगावाटको रुदीखोला, १ सय ५५ मेगावाटको घुन्सा खोला आयोजना र ४० मेगावाटको बलेफी खोला जलविद्युत आयोजना अगाडि बढाइरहेका छन् । कतिपयको निर्माण सम्पन्न भएर बक्ती पनि बलिसकेका छन् भने कतिपय निर्माणको अन्तिम चरणमा र कतिपय अध्ययनको चरणमा छन् ।  आचार्य ऊर्जाले नै सबैलाई धनी बनाउन सक्ने बताउँछन् । ‘जलविद्युतमा अथाह सम्भावना छ, कुनै बेला ८२ हजार मेगावाटको क्षमता भनिए पनि वास्तममै डेढ लाख मेगावाटको सम्भावना छ । तर, अहिले २० हजार मेगावाट उत्पादन प्रयासको चरणमा मात्रै छ । व्यापार र उद्योगभन्दा पनि जलविद्युत राम्रो सम्भावनाको क्षेत्र हो,’ उनले भने ।  आचार्य जलविद्युत समूहमा लगानी हुने भएकोले ‘गोइङ टुगेदर र ग्रो टुगेदर’को मान्यतालाई विश्वास गर्छन् । उनले लगानी गरेर अगाडि बढाएका आयोजनामा पनि चार हजार बढी संस्थापक सेयरधनी छन् । उनले आफूले नेतृत्व गरेर बिजुली बलेका कम्पनीले प्रतिफल पनि राम्रै दिइरहेको सुनाए । उनको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रो सुरुवात भएको थियो । ‘हामीले निर्माण गरेका जलविद्युत आयोजना बन्दा बाटो लियौं, बिजुली लियौं । त्यहाँको युवा क्लब, आमा समूहमा सामाजिक काम ग¥यौं, जलविद्युतले गाउँगाउँमा विकासको अनुभूति गराएको छ,’ उनले भने ।  ‘बिन्ध्यवासिनी हाइड्रोपावरले काम गर्दा आयोजना स्थलबाट पोखरामासम्म आउन बीचमै बास बस्नुपर्ने अवस्था थियो । तर, अहिले डेढ घण्टामै पुगिन्छ । बिरामी बीचमै मृत्यु हुने समस्या थियो । अहिले त्यहाँको जनजीवनमा ठूलो परिवर्तन आएको छ,’ उनले भने ।  उर्जा उद्यमीका अभिभावक उर्जा उद्यमी कृष्णप्रसाद आचार्यको पृथक पहिचान छ । अधिकांश जलविद्युत प्रवद्र्धकले उनलाई अग्रज उद्यमीका रूपमा सम्मान गर्ने गरेका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुन् । उनलाई ऊर्जा उद्यमीहरूले निर्विरोध रूपमा इप्पानको अध्यक्षमा चयन गरेका थिए ।   एक इमानदार र लगनशील ऊर्जा उद्यमीको रूपमा पहिचान बनाएका आचार्यले इप्पानमा रहँदा पनि महत्वपूर्ण काम गरेको दाबी गर्छन् । ‘मैले आफैले पनि सकेजतिको जलविद्युत उत्पादन गरें । धेरै साथीहरूलाई जुटाएँ, ऊर्जामा लगानी गर्न उत्प्रेरित गरें, अझै गरिरहेको छु,’ उनी भन्छन्, ‘मैले इप्पानको नेतृत्व गरेपछि जलविद्युतमा सकारात्मक मुभमेन्ट सुरु भयो ।’ विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य बनाइएको थियो । आफू इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएको उनी सुनाउँछन् । ‘जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित ग¥यौं, प्रवद्र्धकको  पहिचान बनाएँ । विद्युत खरिद बिक्री (पीपीए) रोकिएको थियो, ट्रासमिसन लाइनको समस्या थियो, नेपाल विद्युत प्राधिकरणले उत्पादन रोक, यति प्रतिशत मात्रै गर भनेर निर्देशन दिन्थ्यो । त्यसलाई हटाउन मेरो नेतृत्वको टिम सफल भयो,’ उनले आफू इप्पानको नेतृत्वमा भएका काम सुनाउँदै भने ।  विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य थियो । म इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएँ, जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित भयो ।  आचार्य इप्पानमा जानुअघि प्रवद्र्धकले कबुल गरेजति विद्युत उत्पादन गरेन भने प्राधिकरणले जरिवाना गथ्र्यो । आफूले त्यो जरिवाना गर्ने अभ्यास हटाउन सफल भएको उनले दाबी गरे । उनका अनुसार उनको नेतृत्वमा इप्पानमा भएको महत्वपूर्ण काम संगठन विस्तार हो ।  १४/१५ जनामात्रै प्रवद्र्धक जोडिएका इप्पानमा उनकै कारण ५०० जना संगठित भए । अहिले जलविद्युतसँग सम्बन्धित सरकारका समिति तथा निकायमा जलविद्युत उद्यमी नै आवद्ध हुने विषय स्थापित भएको उनले सुनाए ।  सरकारले ऊर्जा उद्यमीका लागि नीतिगत सहजताका साथै दुःख नदिने प्रवृत्तिमात्रै ग¥यो भने पनि धेरै काम गर्न सकिने आचार्य बताउँछन् । ‘अहिले उत्पादकहरू धेरै छन्, खरिदकर्ता र बिक्रेता एउटा मात्रै छ ।  २०६८ सालमा तोकेको दरमा प्राधिकरणले अहिलेसम्म खरिद गर्छ । बिक्री दर भने तीन पटक बढाइसक्यो । मुद्रास्फीतिअनुसार दर पुनरावलोकन गरेको छैन । ७ वटा मन्त्रालय, २२ वटा विभाग र २०० वटा टेबलमा जलविद्युत उद्यमी पुग्नुपर्छ । ३६ वटा कानुनको अधिनमा रहेर काम गर्नुपर्छ, यो किसिमले जलविद्युत क्षेत्रको विकास हुन सक्दैन,’ उनले भने । उनले सरकारले भाषणमा एकद्वार प्रणाली भने पनि व्यवहारमा लागू नभएको गुनासो गरे । ‘मैले काममा एकद्वार प्रणाली तत्कालीन राजा वीरेन्द्रबाट सुनेको हुँ, अहिलेसम्म सुनिन्छ, तर कार्यान्वयन भएको छैन । अधिकांशको नियत दुःख दिने छ । पदमा बस्नेसम्म दुःख दिने तर बाहिर आएपछि यो काम भएन भन्छन्,’ उनले भने, ‘यस्तो प्रवृत्ति रोकियो भने जलविद्युत प्रवर्द्धकले ५० हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छन् ।’ निजी क्षेत्रकै कारण अहिले देशमा लोडसेडिङ अन्त्य भएको तर यसका श्रेय एक जनालाई मात्र दिने काम भएको आचार्यको भनाइ छ । लोडसेडिङ अन्त्यको श्रेय निजी क्षेत्रलाई दिनुपर्ने उनको धारणा छ ।  चुनौती र समस्या धेरै भएपनि आफू चुनौतीभित्र नै सम्भावना खोज्ने गरेको आचार्य बताउँछन् । ‘जलविद्युत क्षेत्रमा चुनौती अथाह छन् । तर, म कहिल्यै पनि निराश भइनँ । भारतले नाकाबन्दी गरेको बेला मैले दुई नयाँ उद्योग ल्याएँ । त्यतिबेला धेरै मान्छेहरूले यो लगानी गर्ने समय होइन भनेका थिए । भूकम्पको समयमा बर्बाद भयो भन्थे तर मैले काम रोकिनँ । अप्ठ्यारो परेको बेला काम गर्ने मान्छेको पहिचान हुन्छ,’ उनले भने ।  मध्यरातमा फोन गरेर भोलि तपाईंको साइटमा रगतको खोला बग्छ भन्ने मान्छेसँग पनि आचार्य जुधे । मन्त्रालयमा वर्षौंदिनसम्म गएर फाइल अगाडि नबढेको अनुभव पनि लिए । तर, उनी निराश भएनन् । उनी भन्छन्, ‘चुनौती र समस्याबाट भागेको भए आज तपाईंसँग कुरा गर्ने सक्ने अवस्थामा कहाँ पुग्थें र !’ छोराहरू नै सफलताका सारथी उद्यमी कृष्ण आर्चाका दुई छोरा छन् । जेठो सुदीप र कान्छो सन्दिप । दुवै छोराले उनलाई व्यवसायमा साथ दिइरहेका छन् । दुइटै छोरालाई उनले अमेरिकामा पढाए । तर, उनलाई खुसी यसमा मिलेको छ कि दुवै छोरा नेपाल फर्किएर व्यवसायमा साथ दिइरहेका छन् । ‘धेरैले छोराछोरी विदेश पठाउने विषयलाई गौरवका रुपमा लिन्छन् । तर, मैले नेपाल फर्काएकोमा गौरव महसुस गर्छु । हामी अहिले संयुक्त परिवारमा छौं । छोरा बुहारीले व्यवसायमा राम्रो साथ दिइरहेका छन्, म एकदमै खुसी छु,’ उत्साहित हुँदै उनले भने ।  छोराहरु सन्दीप र सुदीपसँग कृष्णप्रसाद आचार्य ।  सुदीप कामना सेवा विकास बैंकका अध्यक्ष, डिस होमका प्रबन्ध निर्देशक, डीएचआईको अध्यक्ष, मल्टिपल इनिर्जी प्रालिको सञ्चालक रहेर काम गरिरहेका छन् । उनले बुवालाई जलविद्युतमा पनि साथ दिइरहेका छन् । सन्दिपले आईटी कम्पनीको नेतृत्व गरिरहेका छन् । उनले नेपालमा आईटी प्रडक्ट उत्पादन गरेर अमेरिकामा निर्यात गर्दै आएका छन् ।  आचार्य साथीभाइहरू जुटाएर काम गर्दा सफल भइने तर पारदर्शिताको भने आवश्यकता हुने बताए । ‘नेपालमा पारदर्शिताको कमी छ, व्यावसायिक साझेदारहरूसँग पारदर्शी कायम गर्न सकियो भने सफलताको सबैभन्दा ठूलो सफलता हुन्छ । इमान्दारिता र लगनशीलता आवश्यक पर्छ,’ उनले भने । म रिटायर्ड हुदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम स्वाससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ । आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० भन्दा बढी कम्पनीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । नेपालको अन्तरिम व्यवस्थापिका संसद २०६३–२०६४ को सांसद समेत रहेर काम गरेका आचार्य व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । उनी गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका रूपमा पनि कार्यरत छन् ।  ‘कहिले कता त कहिले कता लाग्नु हुँदैन, त्यसले क्षणिक रूपमा पैसा कमाए पनि सफलता भने मिल्दैन, समाज र राष्ट्रले केही पाउँदैन । समाजलाई के दिनु भयो भन्ने कुराले ठूलो अर्थ राख्छ,’ उनी भन्छन्, ‘अहिले म ७५ वर्षको भएँ, मेरो अन्त्य पनि कुनै परियोजना निर्माण गर्दागर्दै होस् भन्ने चाहना छ ।’ इप्पानका अध्यक्ष गणेश कार्की पनि ऊर्जा क्षेत्रको विकासमा आचार्यको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउँछन् । ‘उहाँले इप्पानको नेृतृत्व गर्दा पनि परिणामुखी काम भए । उहाँ पहिले पनि माननीय भइसकेको हुनाले इप्पानलाई संस्थागत बनाउन र सरकारसँग नीतिगत समन्वय गर्न उहाँको कार्यकाल उदाहरणीय बन्यो,’ उनी भन्छन्, ‘उहाँको व्यक्तिगत सम्बन्ध राम्रो भएकोले पनि काम गर्न सहज भयो ।’ जलविद्युत क्षेत्रमा सामूहिक लगानीको मोडललाई अगाडि बढाउन पनि उनले ठूलो भूमिका खेलेको कार्कीको भनाइ छ ।  कृष्णकै शब्दहरू:  जागिरले आफूलाई मात्र चलाउँछ, व्यवसायले धेरैलाई जोड्छ भन्ने बुवाको प्रेरणाले म व्यवसायमा लागें । सुरु यातायातबाट गरें । पछि पोखरामा पर्यटकस्तरको पहिलो होटल खोलें । यातायात र होटल सञ्चालन गरेपछि दक्षिण एसियाकै पहिलो तयारी चाउचाउ उद्योग सुरु गरें, ‘रारा चाउचाउ’ । त्यतिबेला चाउचाउ भन्ने शब्द पनि नेपाली शब्दकोषमा थिएन, हामीले सुरु गरेपछि शब्द पनि चलनमा आयो, उद्योग पनि स्थापित भयो । राजा वीरेन्द्रले समेत बोलाएर सोध्नुभयो कि उद्योग कसरी सुरु गर्यौ भनेर ।  पैसा कमाउने मात्र काम होइन, राष्ट्र निर्माणको सोंचसहित म जलविद्युत उत्पादनको क्षेत्रमा आएँ । अहिले ४०० मेगावाटभन्दा बढी बिजुली उत्पादनमा संलग्न छु । केही आयोजनामा बत्ती बालिसक्यो, केही अन्तिम चरणमा छन् । जलविद्युतमा आएपछि बुझें– जहाँ आयोजना जान्छ, त्यहाँ विकास पुग्छ ।  बाटो जान्छ, बिजुली जान्छ, विद्यालय–स्वास्थ्य संस्था आउँछन् । रोजगारी सिर्जना हुन्छ । स्थानीय मानिसको जीवनस्तर माथि उकास्सिन्छ ।  ‘गो टुगेदर, ग्रो टुगेदर’ भन्ने मान्यतामा काम गरिरहेको छु, मैले चार हजारभन्दा बढी प्रमोटरलाई जोडेको छु । नेपालको व्यवसायमा सबैभन्दा ठूलो समस्या पारदर्शिता नहुनु हो । साझेदारसँग पारदर्शिता राखियो भने सफल भइन्छ । अमेरिकाबाट फर्किएर छोराहरूले पनि मलाई व्यवसायमा साथ दिइरहेका छन् । मलाई त्यसमा ठूलो गौरव छ ।  सरकारले नीतिगत सहजता गरिदियो भने जलविद्युत उद्यमीहरूले ५० हजार मेगावाट उत्पादन गर्न सक्छन् । म इप्पानको नेतृत्व गर्दा ‘झोलामा खोला बोक्ने’ भनेर आरोप लगाइन्थ्यो । म त्यो भाष्यलाई बदल्न सफल भएँ । जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भनेर स्थापित गरें । पीपीए रोकिएको थियो, कबोल गरेको विद्युत उत्पादन नगर्नेलाई जरिवाना लगाइन्थ्यो । ट्रान्समिसन लाइनका अवरोध थिए । सबै हटाउन लडें । संगठन १२/१५ सदस्यबाट ५०० पु¥यायौं ।  निजी क्षेत्र नआएको भए लोडसेडिङ हट्दैनथ्यो । त्यो श्रेय लिइरहेकै आधारमा कतिपयले पार्टी खोले । म कठिन समयमा नै काम गर्छु । नाकाबन्दीमा दुई उद्योग ल्याएँ, भूकम्पमा पनि रोकिनँ । धम्की दिने, रोक्ने, काम नगरिदिने लगायत धेरै चुनौतीहरू भोगें । तर, कहिल्यै निराश भइनँ । म व्यापारमा होइन, उत्पादनमा लागें । पारदर्शी र इमानदार भएर काम गर्छु । अहिले तीन दर्जनभन्दा बढी कम्पनीमा लगानी छ, ५०० भन्दा बढीले रोजगार पाएका छन् । मेरै जीवनकालमा एक हजार विद्युत उत्पादन गर्ने लक्ष्य छ । मेरो कामको मूल्यांकन गर्दै विकास मिडियाले मलाई विकास नायकको रूपमा सम्मान गर्न लागेको खबर सुनेपछि राम्रो काम गर्नेको कहीँ नै कही मूल्याङकन भइरहेको हुन्छ भन्ने लाग्यो । यो कार्यलाई निरन्तरता पनि दियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । 

पात्रमा प्राण भर्ने कलाकार

मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरूमा डुब्ने नायिका । सिनेमाको पात्रमा प्राण भर्ने अभिनेत्री । सिनेमा हेर्ने र कलाप्रेमीहरूले चिन्ने, बुझ्ने र ग्रहण गर्ने यसरी नै हुन् अभिनेत्री सुरक्षा पन्तलाई । सिर्जनशीलता, रचनात्मकता र समाजलाई केही पाठ र सन्देश दिन खोज्ने कथामा डुबेर अभिनयमा अब्बलता देखाउनु उनको विशेषता हो ।  कथामा नयाँपन खोजिरहने सुरक्षा सधैं सुरक्षित बाटोभन्दा फरक, नयाँ र चुनौतीपूर्ण कथाहरूको माग गर्छिन् । किनकि उनका लागि कला प्रख्याति मात्र नभई समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण पनि हुनुपर्छ । ‘हामीले जे काम गरिरहेका हुन्छौं, त्यो कामले अन्य व्यक्तिको जीवनमा कति प्रभाव पारिरहेको रहेछ भनेर हामीले भेट्ने मान्छेहरूबाट थाहा पाउँछौं, यसले ठूलो आत्मसन्तुष्टि दिन्छ,’ सुरक्षाले भनिन् ।  इन्जिनियरिङ पृष्ठभूमिबाट आएर नेपाली सिनेमा क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल सुरक्षा आज दर्शकले ‘राम्रो कलाकार’ भनेर सिफारिस गर्ने नाममध्येमा पर्छिन् । आफू सफल भए पनि असफल भए पनि कलालाई माया गर्ने कलाकारलाई यस क्षेत्रले अन्ततः अँगाल्छ भन्ने उनको विश्वास छ । ‘कला क्षेत्रलाई विशुद्ध माया गरेर काम गर्ने कलाकारहरूलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ, माया गर्दाे रहेछ, ठाउँ दिँदोरहेछ । त्यसमा ढिलो चाँडो होला । तर, खुला रुपमा स्वागत गर्दो रहेछ,’ उनले अनुभव सुनाउँदै भनिन् ।  सरलदेखि जटिल मनोविज्ञान बोकेका महिला पात्रहरूमा उनले दिएको जीवन्त प्रस्तुति दर्शकमाझ चर्चित बन्दै गएको छ । कला प्रख्याति मात्र नभई, समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण हुनुपर्छ भन्ने बुझाइ सुरक्षाको छ ।  सुरक्षाले सन् २०१५ मा चलचित्र ‘अझै पनि’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिन् । उक्त चलचित्रबाट सहायक भूमिकामा डेब्यू गर्दा उनले साइँलीको चरित्र निभाइन् ।  चरित्र लेखनदेखि कथावस्तु र फिल्म सबैतिर समस्या भएकैले यो फिल्म चलेन । तर, दर्शक र चलचित्र निर्माताको नजरमा भने उनी परिसकेकी थिइन् । उनी एउटा राम्रो समूहको फिल्ममा पुगिन्, ‘धनपति’। एक ड्राइभर धनपतिले परिवार पाल्न गरेको संघर्षमा आधारित यो फिल्म अन्य मसालेदार फिल्मभन्दा धेरै फरक छ । चरित्र निर्माणमा सुरक्षाले गरेको मिहिनेत धनपतिमा देखियो । धनपति पनि खासै पैसा कमाउने फिल्म बन्न नसकेपनि दर्शक र समीक्षकहरूले सुरक्षाको अभिनयलाई खुलेरै प्रशंसा गरे । धनपति पछि उनले लगातार ‘भैरे’, ‘रोमियो एण्ड मुन्ना’ र ‘चङ्गा चेट’ मा काम गरिन् ।  त्यसपछि उनले फिल्म ‘गोपी’मा अभिनय गरिन् । सुरक्षाको अभिनय र चरित्रले गोपी फिल्ममा राम्रै प्रशंसा बटुल्यो । त्यसपछि उनी चरित्रमा झनै घुस्न थालिन् ।  ‘आमा’ फिल्ममा चरित्रका लागि भन्दै सुरक्षाले कपालसमेत काटिन् । उनले कपाल काटेकै भरमा समेत फिल्मको प्रचारप्रसार चुलीमा पुग्यो । फिल्मले राम्रै प्रशंसा पायो । चरित्रमा डुब्नका लागि कपाल काटेको विषयले निकै चर्चा पायो । सिनेमा र चरित्रप्रतिको सुरक्षाको इमानदारिता, लगनशीलता र त्यागको निकै तारिफ भयो । आमापछि उनले धेरै फिल्ममा काम गरिन् । ‘घर’ नामको हरर फिल्मदेखि ‘के घर के डेरा’सम्ममा उनले अभिनय गरिन् । यसैबीच उनले इटालियन चलचित्र ‘द एट माउन्टेन’मा पनि अभिनय गरिन् । जसले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनायो । मेरो सफलताको सारथि मेरो इच्छाशक्ति नै हो । नयाँ र फरक विषयवस्तु दर्शकमाझ पुर्‍याउने काममा प्रयासरत रहनेछु । अब अभिनयसँगै निर्देशन र सिनेमा निर्माणमा पनि काम गर्ने योजना छ ।  ‘बहाव‘देखि ‘बुलाकी’सम्ममा सुरक्षाले फरक चरित्रमा काम गरिन् । बुलाकी फिल्ममा सुदूरपश्चिमको भाषामा बोल्ने मात्रै होइन, उनले आफ्नै आवाजमा सुदूरपश्चिमकै भाषामा गीतसमेत गाइन् । यसले उनको कला र क्षमताको थप पुष्टि गर्‍यो । ‘बहाव’देखि ‘बुलाकी’सम्म फरक–फरक चरित्रमा देखिँदै आएकी उनी हिटको पछि होइन, चरित्रको पछि दौडिरहेकी कलाकार हुन् भन्ने प्रमाणित गर्‍यो । छोटा फिल्महरूदेखि म्युजिक भिडियोसम्म सबैमा काम गरेको अनुभव उनीसँग छ ।   सुरक्षाका लागि सफलताको सारथि नै इच्छाशक्ति हो । कला क्षेत्रमा नयाँ र फरक विषयवस्तु दर्शकमाझ पु¥याउने उद्देश्यसहित निरन्तर प्रयास उनको छ । उनका अनुसार फिल्म पढेर आएका नयाँ पुस्ताका फिल्ममेकरहरूलाई मूलधारको सिनेमामा ल्याउन सामूहिक प्रयास आवश्यक छ ।  आफूले अभिनयमार्फत नयाँ कथालाई समर्थन गर्ने कोसिस गरिरहेको बताउँदै सुरक्षाले यसलाई आफ्नो उद्देश्यकै रूपमा अघि बढाइरहेको बताइन् । ‘अलिकति नयाँ, फरक किसिमका विषयवस्तुलाई अझै दर्शकमाझ पुर्‍याउन खोजिरहेकी छु, हजारौंको संख्यामा नयाँ फिल्म मेकरहरू पढे–लेखेर बाहिर निस्कनु हुन्छ । कहिलेकाहीँ ममार्फत पनि उहाँहरूलाई मेनस्ट्रीम फिल्म मेकिङमा ल्याउन सकुँ भन्ने लाग्छ,’ सुरक्षाले आफ्नो उदारता पोखिन्।  अभिनयसँगै निर्मातातर्फको बाटो   अब अभिनयमात्रै होइन, निर्देशन र निर्माताको बाटो समाउने योजना सुरक्षाको छ । कथा लेखन, निर्माण वा निर्देशनतर्फ पनि लाग्ने योजना सुनाइन् उनले । ‘भविष्यमा अझै विभिन्न पात्रहरूमा उभिन पाऊँ भन्ने छ । आफ्नो इच्छाशक्ति रहेसम्म अभिनयबाहेक पनि कथा भन्नेतिर आउने योजना छ,’ उनले भनिन्, ‘विस्तारै कथा लेखन, निर्देशक र निर्माता भएर काम गर्न मन छ, कला क्षेत्रमा अझै धेरै काम  गर्ने योजना छ ।’ कला क्षेत्र धमिलो नहोस् भन्ने चाहनासहित राम्रो कथा, बलियो पटकथा, उत्कृष्ट अभिनय र निर्देशनमार्फत सक्षम टिमवर्क निर्माण गर्नु नै आफ्नो मूल लक्ष्य रहेको सुरक्षाले सुनाइन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको प्रतिनिधित्व गर्ने अनुहार बनेकी उनले अभिनय, रंगमञ्च, टेलिभिजन र अन्तर्राष्ट्रिय चलचित्रसम्मको यात्रा तय गर्दै आफूलाई स्थापित कलाकारका रूपमा दर्ज गराएकी छन् ।  नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत चिनिएकी सुरक्षा पुरस्कार र सम्मानको हिसाबले पनि उत्तिकै स्थापित छिन् । आफ्ना लागि दर्शकको माया नै सबैभन्दा ठूलो सफलता भएको उनी बताउँछिन् । ‘कला क्षेत्रमा काम गर्ने कलाकारहरूको सफलताको मुख्य मापन भनेको दर्शकहरूको माया हो,’ उनी भन्छिन्, ‘जहाँ जाँदा पनि राम्रो कलाकार हो भनेर चिनिनु गर्वको विषय हो, जुन मैले दर्शकबाट पाइरहेकी छु ।’ व्यावसायिक स्टारडमभन्दा बाहिर रहेर अभिनयलाई प्राथमिकता दिएकी सुरक्षाले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चबाट महत्त्वपूर्ण सम्मान र उचाइ प्राप्त गरेकी छन् । उनले सन् २०१९ मा चलचित्र ‘गोपी’बाट नेफ्टा फिल्म अवार्ड प्राप्त गरेकी गरिन् । यस फिल्ममा उनले मुख्य पात्रसँग जोडिएको संवेदनशील महिला चरित्र निभाएकी थिइन् । भूमिका आकारमा ठूलो नभए पनि कथामा यसको प्रभाव निर्णायक थियो । नेफ्टा अवार्डले उनलाई सह–भूमिकामा समेत प्रभाव छोड्न सक्ने अभिनेत्रीका रूपमा चिनायो । यस्तै, सन् २०२० मा  फिल्म ‘आमा’ राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषित भएसँगै उक्त फिल्मबाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन् । फिल्म ‘बुलाकी’बाट उनले नेपाल–अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)बाट पनि उत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरिन् ।  ‘बुलाकी’ फिल्ममा सुरक्षाले सुदूरपश्चिमेली महिलाको जीवन, पीडा र सामाजिक यथार्थलाई प्रस्तुत गरेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरको महोत्सवबाट सम्मानित हुनु सुरक्षाको अभिनय यात्रामा महत्वपूर्ण उपलब्धिका हो । सुरक्षाले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेर प्राप्त गरेको मान्यता पनि उनको सम्मान सूचीमै जोडिने विषय हो ।  इटालियन फिल्म ‘द एट माउन्टेन’को टिमसँग कान्स पुगेकी सुरक्षाको उपस्थितिलाई नेपाली फिल्म क्षेत्रका लागि अन्तर्राष्ट्रिय मान्यता र गौरवको रूपमा लिइएको थियो । यस उपलब्धिले उनलाई केवल पुरस्कार प्राप्त अभिनेत्री मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान बनाउने कलाकारको रूपमा पनि स्थापित गरेको छ । चिकित्सक बन्ने सपना, इन्जिनियरिङ पढाइ बुटवलमा जन्मिएकी सुरक्षा सानैदेखि पढाइमा अब्बल थिइन् । चार दिदी बहिनी र एक भाइसहित बाबुआमाको संरक्षणमा हुर्किएकी उनी घरपरिवारमै सीमित जीवनबाट बाहिर निस्केर केही फरक गर्ने चाहना बोकेर बसेकी थिइन् । तर, एसएलसीअघि उनले घर छाडेकी थिइनन् । उनको सपनाको सहर भने सधैं काठमाडौं नै थियो । तर, त्यो सपना घरमा राख्नु र व्यक्त गर्नु सजिलो थिएन । पढाइप्रतिको लगाव र निरन्तर मिहिनेतले अन्ततः उनलाई काठमाडौं आउने अवसर दिलायो । छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने परिवारको सल्लाहले उनी सपनाको सहर काठमाडौं आइन्  । आफू काठमाडौं आउँदा कुखुरा बोक्ने गाडीमा आएको अनुभव सुनाइन् । काठमाडौंमा सुरक्षाले आफूलाई प्रमाणित गर्दै अघि बढ्ने बाटो रोजिन् । डाक्टर बन्ने सपना बोकेर काठमाडौं आइपुगेकी उनको जीवनले यहाँ आएपछि नयाँ मोड लियो । चिकित्साशास्त्र पढ्ने लक्ष्यसहित राजधानी प्रवेश त गरिन् तर अपेक्षित छात्रवृत्तिमा नाम निस्केन ।  परिस्थितिले उनलाई विकल्प खोज्न बाध्य बनायो र अन्ततः उनले इन्जिनियरिङ पढ्ने निर्णय गरिन् । पढाइप्रतिको लगाव र इमानदारिताका कारण उनी इन्जिनियरिङमा पनि सफल भइन् र यही विषयमा उच्च अध्ययनतर्फ अघि बढिन् । इन्जिनियरिङमा मास्टर्स अध्ययन सुरु गर्नुअघि नै सुरक्षाको जीवनमा अर्को अप्रत्याशित अवसर आयो फिल्म अभिनय । त्यसपछि उनले नेपाली कला क्षेत्रको यात्रा तय भयो ।  २०७९ फागुनमा प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी सुरक्षाले आफ्नो अभिनय करिअरलाई निरन्तरता दिइरहेकी छन् । व्यक्तिगत जीवनमा महिला अधिकार, समानता र सामाजिक न्यायका विषयमा सचेत देखिने उनी अभिनय गरेका चलचित्रहरूमा महिला पात्रलाई कमजोर वा सजावटी रूपमा नभई सोच्ने, निर्णय गर्ने र प्रश्न उठाउने पात्रका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छन् ।  नेपाली कला क्षेत्रमा जीवनको कुनै सुनिश्चितता नभएको सुरक्षाको गुनासो छ । उनका अनुसार यो क्षेत्रलाई अझै चलायमान बनाउन नसकेको र नीतिगत तहसम्म पनि यसले प्राथमिकता पाएको छैन । ‘अझै धेरै कथाहरू छन्, जुन हामीले भन्न सकेका छैनौं, यो क्षेत्रलाई चलायमान बनाउन प्रयास गर्नुपर्छ,’ उनले भनिन्, लगानीकर्ताको ध्यान फिल्म उद्योगमा पनि जानुपर्छ ।’ सुरक्षाकै शब्दहरू :  कलाकारले गर्ने हरेक कामले कसैको जीवनमा प्रभाव पारिरहेको हुन्छ । कतिपय मानिसहरू आएर ‘मेरो जस्तै कथा रहेछ, राम्रो लाग्यो’ भन्नुहुन्छ । उहाँहरूले आफैलाई कथामा भेटे झैं महसुस गर्न पाउनुहुन्छ र कलाकारले आत्मसन्तुष्टि अनुभव गर्छन् । त्यो अनुभव गर्न पाउँदा धेरै खुसी लाग्छ । मानिसभित्रको सहानुभूति र संवेदनशीलता जगाउनु नै कलाको मूल प्रभाव हो । कलालाई माया गर्ने कलाकारलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ । म फरक पृष्ठभूमिबाट आएको हुनाले मेरो फिल्म क्षेत्रमा प्रवेश केही नौलो रह्यो । यसले कला क्षेत्रमा फरक विधाबाट आएका, पढेलेखेका मानिसले पनि राम्रो गर्न सक्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ ।  म नयाँनयाँ कथामा काम गर्न रुचाउँछु, किनकि नयाँपन नै कला क्षेत्र विकासको आधार हो । कलाकारका लागि सफलताको सबैभन्दा ठूलो मापन भनेको दर्शकको माया हो, राम्रो कलाकार भनेर चिनिनु, फिल्म नचले पनि हौसला दिनु आफ्नो सफलता हो जस्तो लाग्छ । यस यात्रामा सबैभन्दा ठूलो सारथि मेरो आफ्नै इच्छाशक्ति हो । इच्छाशक्ति बिना कलाकार दिगो रूपमा टिक्न सक्दैन । यसको पछि दर्शकको माया, परिवार, साथीभाइ र सकारात्मक सोचले बल दिन्छ । समाज, देश र अझ ठूलो अर्थमा संसारका लागि के गर्न सक्छु भन्ने दृष्टिकोणले पनि निरन्तर अघि बढ्न प्रेरित गर्छ ।  नयाँ र फरक कथावस्तु दर्शकमाझ पुर्‍याउने मेरो निरन्तर प्रयास रहनेछ । कहिलेकाहीँ चुनौती आउँछन्, नयाँ फिल्म–मेकिङ सिकेर आएका युवालाई मेनस्ट्रीममा ल्याउने चाहना पनि हुन्छ । सबै कुरा एक्लैले सम्भव हुँदैन, सामूहिक प्रयास आवश्यक हुन्छ र यही कुरा नै मेरा उद्देश्यहरूसँग जोडिएको छ । म फिल्म करिअरलाई अझ विविध बनाउन चाहन्छु । नयाँ पात्र, नयाँ अभिनय, र भविष्यमा कथावाचन, लेखन, निर्माण वा निर्देशनतर्फ पनि अघि बढ्ने योजना  छ । विकास मिडियाले गरेको ‘विकास नायक’ सम्मानलाई म विभिन्न क्षेत्रका व्यक्तिलाई एकै मञ्चमा ल्याउने राम्रो प्लेटफर्मका रूपमा हेरेकी छु । यस्तो प्लेटफर्मले फरक क्षेत्रका प्रभावशाली व्यक्तिसँग कलाकारलाई जोडिदिन्छ, सहकार्य र नेटवर्किङको नयाँ ढोका खोलिदिन्छ ।  

किसान जगाउँदै, निर्यात बढाउँदै

‘हामीले बनाएको फ्रेन्च फ्राइज अब अमेरिकाले खान थालेको छ । नेपाली किसानको हातबाट बनेको उत्पादन अमेरिका पुगेको दिन मेरो जीवनको सबैभन्दा अर्थपूर्ण क्षण हो,’ फर्स्ट च्वाइस फुड्स प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेल निकै उत्साहका साथ आफ्नो खुशी साटे ।  कम्पनीले दुई महिनाअघि मात्रै ११० टन फ्रेन्च फ्राइज अमेरिका र भारतमा पठाए । जापान, बेलायत र अष्ट्रेलिया छिट्टै निर्यात गर्ने लक्ष्य छ । यस समाचारले नेपाल र देश बाहिरका सञ्चारमाध्यममा महत्त्वपूर्ण स्थान पायो । खाडी मुलुकहरूमा पनि निर्यात गर्ने सोचका साथ काम भइरहेको अध्यक्ष पौडेल बताउँछन् ।  फ्रेन्च फ्राइज निर्यात कम्पनीको पछिल्लो उपलब्धि हो । आन्तरिक बजारमा यसको उपस्थिति र कम्पनीले हासिल गरेको उपलब्धि निकै महत्त्वपूर्ण छ । नेपालमा खपत हुने कुल फ्रेन्च फ्राइजमध्ये करिब ६० प्रतिशत बजार आयात प्रतिस्थापन गरेको पौडेलले जानकारी दिए । नेपाली स्वादको फ्रेन्च फ्राइज उत्पादन गर्ने देशको पहिलो उद्योग नै फर्स्ट च्वाइस फुड्स हो ।  पाँच वर्षअघि २ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको उद्योगले छोटो अवधिमै फ्रेन्चफ्राइज बजारमा आफ्नो बलियो स्थान बनाउन सफल भएको छ ।  कृष्णप्रसाद पाैडेल  पौडेलका अनुसार उद्योगले अहिले फ्रेन्च फ्राइजसँगै क्रिनिकल कट, स्माइल्स, ह्यास ब्राउन, आलु टिक्की, भेग स्टिक, बर्गर प्याटीलगायत उत्पादन गर्दै आएको छ ।  एउटा उद्योगले वार्षिक ४० हजार मेट्रिक टन आलु खपत गर्छ भने यस्तै दुई÷तीन वटा उद्योग आयो भने अबको तीन वर्षमा हामी आलुमा आत्मनिर्भर बन्न सक्छौं । बिहान–बेलुका हाम्रो भान्सामा पाक्ने आलु गत आर्थिक वर्षमा मात्रै २० अर्बको भित्रिएको छ । तर, हाम्रा खेतहरू बाँझै छन् । कागजमा रमाउनेहरूले मात्रै सरकारबाट अनुदान र लाभ लिएका छन् । उद्योगले उत्पादन गरेको प्रडक्डले ६० प्रतिशतभन्दा बढी नेपाली मार्केट ओगटिसकेको छ । नेपाली उत्पादन विदेशीको तुलनामा स्वादिष्ट भएकोले पनि उपभोक्ताको रोजाइमा पर्न सफल भएको उनको दावी छ । अहिले फ्रेन्च फ्राइज काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगञ्ज लगायतका सहरका ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट र १७१ मोडर्न मार्टमार्फत उपभोक्तासम्म पुगेको छ । विस्तारै ठूला तारे चेन होटलहरूमा पनि टेन्डरमार्फत जाने तयारी छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले अहिले विदेशी फ्रेन्च फ्राइजभन्दा फर्स्ट च्वाइस फुड्सले उत्पादन गरेको फ्रेन्फ्राइजको राम्रो माग भइरहेको बताए । उनका अनुसार यो उद्योग आउनुभन्दा अघि विदेशी कम्पनीको बढी बिक्री हुने भएको भए पनि अहिले यस उद्योगले गुणस्तरीय फ्रेन्च फ्राइज उत्पादन गरिरहेकोले माग पनि बढिरहेको छ । ‘स्वदेशी उत्पादन हो, अहिले सबैले फर्स्ट च्वाइस फुड्स फ्रेन्च फ्राइज माग गर्छन्, बजारमा माग बढेको छ, गुणस्तर पनि राम्रो छ, यो उद्योगले राम्रो बजार लिएको देखेको छु,’ उनले भने ।  यस उद्योगसँग जोडिएर आज ३५ हजार बढी किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित छन् । किसानका खेतसम्म गएर बीउ, प्राविधिक सहयोग, भण्डारण सुविधा र बजारको सुनिश्चितता लगायत सबै कुरा कम्पनीले उपलब्ध गराएको छ । किसान अब वर्षभरि ‘कहाँ बेच्ने ?’ भनेर चिन्तित छैनन् । नेपालमा प्रयोग हुने फ्रेन्च फ्राइज प्रायः विदेशबाटै आउँथ्यो । आर्थिक वर्ष २०७७/७८ मा मात्रै २५ करोड रुपैयाँ बराबरको फ्रेन्च फ्राइज आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले यो उद्योगले आयातको परिणामलाई कम गर्दै निर्यात बढाइरहेको छ । अब विदेशी मुद्रा नेपाल आउने बाटो पनि यस उद्योगले खुला गरिदिएको छ ।  आफ्नो उद्योगले हजारौं किसानलाई सँगसँगै जोडेर लगेको सुनाउँछन् पौडेल । नवलपुरबाट  डेढ सय–दुई सय किसानबाट सुरु गरेको आलु उत्पादन आजको दिनसम्म आइपुग्दा उद्योगले २६ जिल्लाका ३५ हजार किसानलाई उद्योगसँग जोडिसकेको छ  । पौडेलका अनुसार गत वर्ष मात्रै उद्योगले किसानबाट २ हजार मेट्रिक टनभन्दा बढी आलु खरिद गरेको छ । रुपन्देही, कैलाली, नवलपुर, सिन्धुली, मकवानपुर, दाङ, बारा, पर्सालगायतका किसान उद्योगसँग जोडिएका छन् । किसानलाई बीउ, मल र प्राविधिक सहयोग उद्योगले नै गर्छ । साथै गण्डकी प्रदेश सरकारले पनि किसानलाई बीउमा अनुदान दिने गरेको पौडेलले बताए । ‘गण्डकी सरकारले नवलपुरमा आलु खेती गर्ने किसानलाई बीउमा अनुदान दिन्छ, यो हाम्रै पहलबाट भएको हो,’ पौडेल भन्छन्, ‘हामीले बीउदेखि प्राविधिक सहयोग र खेतमै बोरा लगेर आलु खरिद गर्छौं ।’ पौडेलका अनुसार किसानले प्रदेश सरकारबाट बीउमा ७५ प्रतिशत अनुदान र उत्पादन गरिसकेपछि उद्योगको नाममा बिलिङ गरिसकेपछि किलोमा २ रुपैयाँसम्म छुट पाउँछन् । नेपालमै पहिलो उद्योग, विदेशमा निर्यात  नेपाल आलु उत्पादनको लागि तीनै क्षेत्र (हिमाल, पहाड र तराई) उपयुक्त रहेको सुनाउँछन् कृष्णप्रसाद पौडेल । आजको दिनमा यो उद्योगले नेपाली फ्रेन्च फ्राइज उत्पादन गरेर विदेशी मुद्रा आम्दानी गर्नमा उदाहरणीय भूमिका निभाएको छ । यस्ता उद्योगहरू नेपालमा धेरै आउनुपर्ने पौडेल बताउँछन् । आगामी दिनमा उद्योगलाई थप विस्तार गर्ने योजना बनाएको उनले सुनाए । कम्पनीले प्रशोधन केन्द्रसँगै आलु भण्डारणका लागि ठूलो कोल्ड स्टोर हब बनाउने तयारी गरेको छ । यसैगरी, आलुको उत्पादनलाई विविधीकरण गर्ने योजना पनि रहेको छ । उनले भने, ‘हामीले अहिलेसम्म फ्रेन्च फ्राइजको उत्पादन सुरु गरेर बजारमा ल्यायौं,  अबको दुई वर्षभित्र पराठा, समोसा, टिकीलगायत थुप्रै आइटम सुरु गर्छौं ।’ पौडेल आमउपभोक्तालाई नेपाली उत्पादन नै प्रयोग गर्न सुझाउँछन् । उनी भन्छन्, ‘हाम्रो उत्पादन स्वादिष्ट हुनुका साथै स्वास्थ्यको लागि लाभदायक छ, तपाईंहरू जतिजना  फ्रेन्च फ्राइज खानुहुन्छ, आफ्नै किसानले उत्पादन गरेको आलुबाट बनाएको फ्रेन्च फ्राइज किन्नूस् र हामीलाई सहयोग गर्नूस् ।’ सरकारले म र मेरो टिमलाई विश्वास गरेर औजार र किसानलाई अनुदान दिन्छ भने अबको ४/५ वर्षमा मैले पनि देशलाई आलुमा आत्मनिर्भर बनाउन सक्छु । काम गर्न सकिन्छ, सम्भावना धेरै छन् । तराईका अधिकांश ठाउँमा जमीन खाली छ । आलुबाट राम्रो फाइदा लिन सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा २५ करोडको फ्रेन्च फ्राइज आयात भएको थियो । अहिले हामी निर्यात गरिरहेका छौं । हामीले ११० टन निर्यात गरिसक्यौं । जापान, बेलायत र अष्ट्रेलियामा निर्यात गर्ने लक्ष्य छ । आफ्नो व्यवसायलाई अभियानको रूपमा अगाडि बढाउँदैछन् उद्योगी पौडेल । किसानको पीडा देखेर नेपालमा पहिलोपटक प्लान्ट टप प्रविधि प्रयोगमा ल्याएको उनले बताए । यो अभियानअन्तर्गत कसरी लागत घटाउने र उत्पादन वृद्धि भन्नेमा जोड दिएको उनको भनाइ छ । ‘माटोमा रमाउने किसानको प्रगति जबसम्म हुँदैन तबसम्म उद्योग र राष्ट्रको प्रगति हुँदैन भनेर मैले बुझेको छु,’ पौडेल भन्छन्, ‘म उहाँहरूकै हकहितको लागि दिनरात लागिरहेको छु, उहाँहरूसँगै हातेमालो गरेर अघि बढिरहेको छु ।’ किसानको लागि स्थानीय सरकार, कृषि मन्त्रालयलगायत सम्बन्धित क्षेत्रले ध्यान दिनुपर्ने बताउँछन् उद्योगी पौडेल । कागजमा मात्रै कृषि उत्पादन नहुने, त्यसको लागि माटोमा रमाउने किसानसँग हात मिलाउनुपर्ने उनको तर्क छ  । ‘कागजमा रमाउने किसानलाई समातेर देश विकास हुँदैन, वास्तविक किसानको पीडा सुन्नुपर्यो, माटोमा रमाउने किसानलई समातेर देशको अर्थतन्त्रदेखि लिएर उत्पादन पनि वृद्धि गर्नुपर्यो,’ उनले भने । नेपालमा गर्नसके सम्भावना नै सम्भावना रहेको तर त्यसमा व्यक्ति मात्रै नभएर सबै क्षेत्रले समन्वय गर्नुपर्ने उद्योगी पौडेलको बुझाइ छ । ‘म एउटा व्यक्ति हो, व्यक्तिले मात्रै अगाडि बढाएर केही हुँदैन, राष्ट्रलाई अगाडि बढाउने हो भने सबै क्षेत्रले हातेमालो गर्नुपर्छ,’ उनी भन्छन् ।  त्यस्तै, उनी उद्योगको विकासको लागि सरकारले नीति, नियम र कानुन स्पष्ट बनाउनुपर्ने बताउँछन् । उनी उद्योगमा जाने विद्युत डेटिकेटेड हुनुपर्नेदेखि किसानलाई अनुदान र उद्योगीलाई केही वर्षसम्म ब्याजमा छुट गर्दिनुपर्ने धारणा राख्छन् ।  त्यस्तै, पौडेलले नेपालमा भविष्य छैन भनेर विदेश पलायन हुने युवाहरूलाई नेपालमै गर्न सक्ने अवस्था रहेको औंल्याउँछन् । ‘युवाहरू भविष्य छैन भनेर विदेश गएको देख्छु, त्यहाँ पुगेर उहाँहरूले मिहिनेत गर्दा भविष्य सुरक्षित हुने अनि यहाँ मिहिनेत गर्दा सुरक्षित नहुने भन्ने हुँदैन, मिहिनेत गरौं, यहाँ पनि त सम्भावना छ,’ उनले भने।  खेती किसानी भनेको पढेलेखेकाहरूले गर्नुहुन्न भन्ने भाष्य छ, त्यसलाई चिर्नुपर्ने उनको तर्क छ । नेपालमा गर्न चाहनेलाई थुप्रै अवसर रहेकोले त्यसमा ध्यान जानुपर्ने उनको सुझाव छ । ‘आलु किसानको पसिना हो, त्यसलाई प्राविधिक मिहिनेत जोडेर विश्व बजारसम्म पुर्‍याउनु नै हाम्रो राष्ट्रिय गौरव हो,’ उनले भने । कृष्णप्रसाद र उनको परिवार गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका कृष्णप्रसाद पौडेललाई आफ्नो गाउँ–बस्तीमा उब्जिएको आलु अमेरिकाको सुपरमार्केटमा पस्छ भनेर कल्पना पनि गरेका थिएनन् । तर, जीवन कहिलेकाहीँ कठोर संयोगहरूसँगै अघि बढ्छ । र, त्यही संयोगहरूको कुञ्जबाट निस्किएको एउटा सशक्त र सफल कथाका पात्र हुन् कृष्णप्रसाद पौडेल ।  ५२ वर्षअघि गुल्मीको मदाने गाउँपालिकामा जन्मिएका कृष्णप्रसाद पौडेल तीन भाइमध्ये जेठो सन्तान् हुन् । उनी पढ्ने बेला अहिलेजस्तो नजिकै विद्यालय थिएनन् । डेढ घण्टा पैदल हिँडेर पढ्न जानुपर्थ्यो । त्यो पनि खाली खुट्टा । सात कक्षा पढ्दासम्मै उनको खुट्टामा कहिल्यै चप्पल परेन । त्यो समयमा आजजस्तो बिजुली थिएन । मट्टीतेल बालेर पढ्नुपर्थ्यो । मट्टीतेल पनि सहजै उपलब्ध थिएन । विद्यालय शिक्षा पूरा नहुँदै उनले घरको दैनिकीलाई टेवा दिन परदेशको बाटो रोजे । कामको खोजीमा भारत पसे ।  ‘त्यतिबेला स्कुलको २०/२५ रुपैयाँ शुल्क तिर्नको लागि पनि समस्या थियो । बाख्राको पाठा, घ्यू बेचेर स्कुलको फी तिरिन्थ्यो, फी न्यून थियो तर २०–२५ रुपैयाँ पनि हाम्रो लागि धैरै थियो, त्यति रकम जुटाउन ५ माना घिउ बेच्नुपर्थ्यो,’ विगत स्मरण गर्दै उनले भने । भारतमा पौडेलको दैनिकी सहज थिएन । सुरुमा उनले एउटा क्यान्टिनमा भाँडा माझ्ने काम थाले । महिनाको २५ रुपैयाँमा ६ महिनासम्म काम गरिसकेपछि उनले मासु पसलमा काम गर्ने अवसर पाए । उनी काम गर्ने मासु पसलमा १८/२० जना नेपालीहरू थिए । ती सबैको नेतृत्व पौडेलले नै गर्थे । भारतमा करिब ८ बिताएपछि उनी २०५८ सालमा स्वदेश फर्किए ।  उनले आफ्नो उद्यममा परिवारलाई पनि सँगै ल्याएका छन् । पौडेलको सिंगो परिवार नै उद्योगमा संलग्न छन् । परिवारमा उनकी श्रीमती, दुई छोरी र एक छोरा–बुहारी छन् । उनका जेठी छोरी मानव संशाधन विभाग हेर्छिन्, छोरो मार्केटिङ, बुहारी फुड टेक्निसिएन ल्याब हेर्छिन् र श्रीमतीले पुरानो फ्याक्ट्रीमा एडमिन हेर्छिन् । कान्छी छोरी भने पढ्दैछिन् । मासु पसलबाट व्यवसायको सुरुवात पौडेलले कल्पना पनि गरेका थिएनन् कि एकदिन म ठूलो उद्योगी बन्छु, सयौंलाई रोजगारी दिन्छु । हजारौंलाई आफ्नो काममा संलग्न गराउँछु । तर, उनको मिहिनेत, परिश्रम र लगनशीलताले अर्कै मोड लियो ।  ठूला उद्यमी बन्न धनाढ्य परिवार वा व्यावसायिक पृष्ठभूमिबाट आउनुपर्छ भन्ने सोच धेरैको हुन्छ । तर, धेरैजना शून्यबाट उठेर करोडौंको मालिक बन्न सफल भएका थुप्रै उदाहरण यही समाजमा छन् । ती उदाहरणमध्येका एक पात्र हुन् पौडेल । सानो लगानीबाट व्यवसायको यात्रा थालनी गरेका पौडेल आज अर्बौं मूल्यको आलु साम्राज्य खडा गरेका छन् । उनको उद्योगबाट उत्पादन भएको वस्तुले आज नेपाली बजार मात्रै होइन, अन्तर्राष्ट्रिय बजारसमेत पाउन सफल भएको छ । यो उनको मात्रै नभएर नेपालको लागि गौरवको विषय हो । उनको यो व्यावसायिक कदमले हजारौं युवालाई प्रेरणा मिलेको छ । २०५८ सालमा कृष्णप्रसाद पौडेल नेपाल फर्किँदा मासु पसल भए पनि व्यवस्थित थिएनन् । पौडेलका अनुसार त्यतिबेला मासु फोहोर ठाउँमा काटेर भाग लगाइन्थ्यो । बाहिर खुला ठाउँमा राखिन्थ्यो, गुणस्तर मेन्टेन गरिएको हुन्थेन । त्यही समयमा पौडेलले त्यसलाई परिवर्तन गर्दै सफा र एसीसहितको मासु पसल खोले । सुरुमा उनले  १० वटा कुखुरा र एउटा खसीबाट आफ्नो व्यवसाय सुरुवात गरे । त्यहीबाट सुरु भएको हो उनको उद्यमशीलताको यात्रा । सधैं स्वच्छ र गुणस्तरयुक्त सामान दिनुपर्छ भन्नेमा सचेत थिए पौडेल । त्यसको नजिता उनको व्यवसाय दिनप्रतिदिन बढ्दै गयो, उपभोक्ताहरू बढ्दै जान थाले । त्यसपछि पौडेलले आफ्नो व्यवसायलाई थोरै रूपान्तरण गरे । उनले नेपालमै पहिलो पटक विसं २०६२ सालमा फुड ट्रक भित्र्याए ।  त्यसपछि उनको व्यवसाय झन् फस्टाउँदै गयो ।  ‘जहाँ भीडभाड हुन्छ, त्यहाँ हामी ‘फुड ट्रक’ मा मःम, ससेज, मासु आइटमहरू राखेर बेच्थ्यौं, त्यसले हाम्रो मार्केटलाई असाध्यै उचाइँमा पुर्‍याइदियो,’ पौडेलले आफ्नो व्यवसायमा पाउँदै गएको सफलताबारे सुनाउँदै भने, ‘बुटवलदेखि भैरहवासम्म हामीले तीन/चार वटासम्म फुड ट्रक चलायौं, त्यसबाट हामीले असाध्यै प्रशंसा पायौं ।’ व्यापार बढ्दै गयो । त्यसपछि उनले विसं २०६६ सालदेखि बुटवलको नयाँगाउँमा सुपर क्वालिटी मिट प्रोसेसिङ उद्योग सञ्चालनमा ल्याए । ६/७ कठ्ठा जग्गा खरिद गरेर त्यही उनले उद्योग सञ्चालनमा ल्याएका थिए । सो व्यवसाय पनि फस्टाउँदै गयो । बुटवलबाट सुरु गरेर उनले दाङ, नेपालगञ्ज हुँदै ठूला सहर पोखरा र काठमाडौंमा पनि विस्तार गरे । उनका अनुसार हाल देशभर करिब २५० आउटलेटबाट सुपर क्वालिटीका उत्पादन बिक्री हुन्छन् । ३०÷३५ वटा आइटमहरू भाटभटेनी, बिगमार्टलगायत थुप्रै रिटेलहरूमा उपलब्ध छ । अहिले धेरैले कृष्णप्रसादलाई ‘क्वालिटी’ उपनामले चिन्छन् ।  उपभोक्ताको मागसँगै जन्मिएको ‘फर्स्ट च्वाइस’ व्यवसाय सञ्चालन गर्दै जाँदा बजारमा ‘फ्रेन्च फ्राइज’ को माग हुन थाल्यो । तर, त्यतिबेलासम्म फ्रेन्च फ्राइजबारे अनभिज्ञ थिए उनी । विदेशी ‘म्याकन’ भन्ने कम्पनीबाट फ्रेन्च फ्राइज नेपाल आउने रहेछ भन्ने थाहा पाएपछि त्यहाँबाट लगेर बुटवलमा बेच्न थाले । त्यही बेला अहमदाबादमा खुलेको फ्रेन्च फ्राइज उद्योगका डाइरेक्टरहरूसँग भेट हुने मौका जुरेको पौडेलले सुनाए । उनले विं.सं २०७३ सालतिर अहमदाबादको उद्योगसँग सम्झौता गरेर फ्रेन्च फ्राइज ल्याएर बेच्न थाले । उनका अनुसार १२ सय कार्टुन फ्रेन्च फ्राइज बेच्न कम्पनीलाई करिब ५ महिना लाग्यो । त्यतिबेला ठूला पाँचतारे, चेन होटलमाबाहेक कसैले पनि फ्रेन्च फ्राइज मगाउँदैनथिए । उनका अनुसार विसं २०७५/७६ मा आइपुग्दा फ्रेन्च फ्राइजको माग नेपालमा ह्वात्तै बढ्यो ।   माग उच्च हुँदै गए पनि नेपालमा मार्केट सानो छ, सम्भव छैन भनेर लगानी गर्न उनले हिम्मत गर्न सकेनन् । तर, बजारमा फ्रेन्च फ्राइजको माग झन्–झन् उच्च हुँदै गएपछि उनी सोच्न बाध्य भए । पौडेलको तत्कालीन नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानासँग भेट भयो ।  तत्काल सानो प्लान्टबाट सुरु गरौं भनेर उनले बैंकसँग प्रस्ताव राखे । लगानीको ७५ प्रतिशत बैंकले कर्जा लगानी गर्ने र २५ प्रतिशत उद्योगले लगानी गर्नेगरी सम्झौता भयो । उनका अनुसार तत्कालीन प्रोजेक्टेको भ्यालु ७० देखि ७२ करोडको बीचमा थियो । यसरी २०७७ फागुनबाट फर्स्ट च्वाइस फुड्स सुरु भएको उनले सुनाए । प्लान्ट निर्माणको समयमा कोरोनाको कारणले केही समय निर्माण कार्य पछि धकेल्यो, जसले गर्दा उद्योगको लागत बढ्न गएको पौडेल बताउँछन् । सुरुमा फ्रेन्च फ्राइज उत्पादन गर्ने मेसिन युरोपबाट मगाइएको थियो । जसको क्षमता प्रतिघण्टा ५ सय टन क्षमता थियो, त्यसलाई बढाएर उनले २५ सय टनमा पुर्‍याए । छिट्टै ४० हजार टन उत्पादन क्षमता राख्ने उनी बताउँछन् । त्यससँगै कम्पनीले आलु प्रशोधनको लागि अत्याधुनिक कोल्ड चेन, प्याकेजिङ र क्वालिटी कन्ट्रोल प्रणाली सञ्चालनमा ल्याएपछि उत्पादनमा गुणस्तरसमेत पाएको उनले सुनाए । उद्योगमा लगानीकर्ताको रूपमा रहेको अवसर इक्विटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ध्रुव तिमल्सिनाले पनि फर्स्ट च्वाइस फुड्सले राम्रो पफर्मेन्स गरेर किसानलाई लाभ र आयात प्रतिस्थापन गर्ने काममा ठूलो टेवा पुर्‍याएको बताए । उनका अनुसार अहिले तत्काल बजार लिन केही समय लागे पनि केही वर्षपछि भने यसको बजार ठूलो हुने सक्ने सम्भावना छ ।  ‘फ्रेन्च फ्राइजको गुणस्तर राम्रो छ, विदेशीभन्दा यस उद्योगले उत्पादन गरेका फ्रेन्च फ्राइज गुणस्तरीय छन् । विश्वस्तरीय उद्योगको प्लान्ट छ, हजारौं किसानहरूले लाभ लिइरहेका छन्, आयातमा प्रतिस्थापन भइरहेको छ । यो उद्योगले आगामी दिनमा थप गति लिने ठूलो सम्भावना छ,’ उनले भने ।   पौडेलकै शब्दहरू : हामी देशभित्र केही गरौं, किसानरूको जीवन उचालौं र सम्भावना भएका क्षेत्रहरूमा लागेर उत्पादन बढाऔं भन्ने उद्देश्यले काम गरिरहेका छौं । अहिले कैलाली र टीकापुरमा आधुनिक मेसिनहरूबाटखसयौं बिघामा मेसिनबाट आलु रोपेका छौं । यसले श्रमिकको लागत पनि घटाएको छ । यसबाट किसानले फाइदा लिन सक्ने भए । अब थप प्रविधि भित्राएर गयौं भने विश्वका कुनै पनि देशभन्दा नेपाल कम हुँदैन । म त एउटा व्यक्ति हो । एउटा व्यक्तिले गरेको काम कति होला ? आलुमा अनुसन्धान गर्नैका लागि १० करोड खर्च गरिसक्यौं । किसानलाई कसरी फाइदा दिन सकिन्छ, कसरी नवीनतम् काम गर्न सकिन्छ भनेर लागिरहेका छौं । हामी तीन सिजन आलु उत्पादन गर्न सक्छौं ।  स्थानीय र प्रदेश सरकारलाई पनि हामी झकझक्याइरहेका छौं । राज्यबाट वितरण भइरहेको अनुदान कागजमा रमाउने किसानले मात्रै पाइरहेका छन्, माटोमा रमाउनेले त्यो लाभ पाइरहेका छैनन् । किसानहरूसँग मेसिन छैन । यस्तो तरिकाले कृषिमा फाइदा हुँदैन । कृषिबाट लाभ लिनका लागि योजना चाहिन्छ, प्रविधि, जोस जाँगर, परियोजना र प्राविधिकहरूको आवश्यकता पर्छ । भारतमा सरकारले किसानलाई के आवश्यक छ भनेर विकल्प दिन्छ । के दियौं भने उत्पादन वृद्धि हुन्छ भनेर उप्रेरणा दिन्छ । अब कृषि क्षेत्रको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ । किसानहरूका लागि सरकारले काम गर्नुपर्छ । एउटा उद्योगले वार्षिक ४० हजार मेट्रिक टन आलु खपत गर्छ भने यस्तै दुई÷तीन वटा उद्योग आयो भने अबको २/३ वर्षमा हामी आलुमा आत्मनिर्भर बन्न सक्छौं । बिहान–बेलुका हाम्रो भान्सामा पाक्ने आलु गत आर्थिक वर्षमा मात्रै २० अर्बको भित्रिएको छ । तर, हाम्रा खेतहरू बाँझै छन् । कागजमा रमाउनेहरूले मात्रै सरकारबाट अनुदान र लाभ लिएका छन् ।  अब सरकारको नीति नै परिवर्तन हुनुपर्छ । किसानहरूलाई उत्प्रेरणा गर्नुपर्छ । तबमात्रै आत्मनिर्भर हुन सकिन्छ । सरकारले म र मेरो टिमलाई विश्वास गरेर औजार र किसानलाई अनुदान दिन्छ भने अबको ४/५ वर्षमा मैले पनि देशलाई आलुमा आत्मनिर्भर बनाउन सक्छु । काम गर्न सकिन्छ, सम्भावना धेरै छन् । तराईका अधिकांश ठाउँमा जमीन खाली छ । आलुबाट राम्रो फाइदा लिन सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा २५ करोडको फ्रेन्च फ्राइज आयात भएको थियो । अहिले हामी निर्यात गरिरहेका छौं । हामीले ११० टन निर्यात गरिसक्यौं । जापान, बेलायत र अष्ट्रेलियामा निर्यात गर्ने लक्ष्य छ ।  ६० प्रतिशत आयात प्रतिस्थापन गरेका छौं । विदेशी कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छौं । तर, विदेशबाट आएका वस्तु भन्सारमा ‘ल्याब टेष्ट’ हुनुपर्छ । हामीले निर्यात हुने वस्तु १० ठाउँमा परीक्षण हुन्छन् । तर, नेपाल सरकारले भने गुणस्तर जाँच  नै नगरेर आयात गर्छ । हामी जुनसुकै कम्पनीसँग प्रतिस्पर्धा गर्न तयार छौं । तर, गुणस्तर परीक्षण हुनुपर्छ । हाम्रा उपभोक्ताको जीवनमाथि खेलवाड गर्न पाइँदैन ।  अहिले उद्योगमा एग्रोनोमी, प्रडक्सन, इन्जिनियर, फाइनान्स, म्यानेजमेन्ट टिमले काम गरिरहेका छन् । यो सफलताको श्रेय उनीहरूलाई नै जान्छ । मैले बाटो मात्रै देखाएको हो । उनीहरूको ठूलो हात छ । २० वटा बढी जिल्लामा ३५ हजार घरपरिवार पनि जोडिएका छन् । उनीहरूको मिहिनेतले यो सफलता मिलेको हो । उनीहरूले आलु उत्पादन गरेर हाम्रो उद्योगमा बिक्री गर्ने गरेका छन् । यसलाई हामीले ठूलो उपलब्धिका रूपमा लिएका छौं । म मुस्ताङ पनि गएको थिएँ । अब त्यहाँका जनतालाई पनि लाभ हुने काम हामी गर्छौं । नेपालमा उत्पादन भएको वस्तु अमेरिकामा जान्छ, आगामी दिनमा थप विस्तार गर्ने लक्ष्य राखेका छौं । जापानबाट अर्डर आइरहेको छ, अष्ट्रेलियाबाट आइरहेको छ । तर, स्टक छैन । यसमा राज्यले पनि ध्यान दिनुपर्छ । हामीले विद्युत सब्सिडी पायौं भने खुसी हुन्छौं ।  सुदूरपश्चिम सरकारले कैलालीलाई आलुको जोन बनाउन लागौं भन्नु भएको छ । सहयोग गर्छौं भनेर सुदूरपश्चिम सरकारले प्रतिवद्धता गरेको छ । आलुबाट बन्ने २५ वटा परिकारहरू उत्पादन गर्नका लागि अर्को प्लान्टबाट काम गर्ने तयारी भइरहेको छ । प्लान्ट बनिरहेको छ, मेसिन आएपछि उत्पादन थाल्छौं । विकासन्युजको यो सम्मानले हामीलाई थप उत्प्रेरणा मिल्छ । काम गर्न हौसला मिलेको छ । 

नबिल बैंक : समाजको सारथी, राष्ट्रको गौरव

नेपाली बैंक तथा वित्तीय क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंक हो, नबिल । सन् १९८४ मा मुलुककै पहिलो ज्वोइन्ट भेन्चर बैंकका रूपमा स्थापित नबिलले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ ।  कुनैबेला मुलुकमा साहु तथा महाजनबाट पैसा लिएर आफ्नो खर्च धान्ने नेपाली समाजलाई नबिलले बैंकिङ कारोबार सिकायो । उच्च सरकारी अधिकारीहरूसँग पहुँच हुने वर्गमा सीमित बैंकिङलाई पहुँच नहुने वर्गसामु पुर्‍याउन नबिलले ठूलो मिहिनेत गर्‍यो । चिटिक्क परेको बैंकको ढोकाभित्र छिर्न डराउने नेपालीहरूलाई सफा सोफामा बसेर बैंकिङ कारोबार गर्न नबिलले उत्प्रेरित गर्‍यो । आज घरबाटै बैंकिङ, मोबाइलबाटै कारोबार गर्ने अवस्थामा समाजलाई पुर्‍याउने नबिल बैंकको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।  त्यसैले पनि बैंकिङ क्षेत्रमा नबिल बैंकप्रतिको विश्वास उच्च छ । बैंकमा पूर्ण विश्वाससहित ढुक्कले पैसा राख्ने र ऋण लिने अभ्यासले प्रसय पाएको छ । ढड्डा र घर्राबाट चल्ने पुरानो ढर्राको बैंकिङ अभ्यासलाई नबिलले प्रविधिमैत्री बनाएर बैंकिङ कारोबारलाई पूर्णरूपमा कम्प्युटराइज गर्न सफल भएको छ । र, सेवाग्राहीलाई पनि त्यसमा अभ्यस्त पार्दै लगेको छ ।  नबिलले पहिलो पटक आधुनिक कम्प्युटराइज्ड बैंकिङ प्रणाली सुरु गर्दै सेवामुखी प्रतिस्पर्धात्मक बैंकिङ वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यस अवधिमा नबिलले बैंकिङ क्षेत्रमा प्रविधिमा नेतृत्व, पूर्वाधार तथा उत्पादक क्षेत्रमा उच्च कर्जा प्रवाह र राजस्व योगदानमार्फत राष्ट्रिय विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ ।  नबिल बैंक निरन्तर रूपमा नेपालको बैंकिङ क्षेत्रमा आधुनिकीकरणको नेतृत्वकर्ताको रूपमा आफूलाई चिनाउँदै आएको छ । बैंकले सन् १९९२ मा नेपालको इतिहासमै पहिलो पटक क्रेडिट कार्ड सेवा सुरु गरेर आफूलाई लिडरका रूपमा परिचित गरायो भने त्यसपछि एटीएम तथा पीओएस सेवाहरूको विस्तारले भुक्तानी प्रणालीलाई डिजिटल बनाउन बैंकिङ क्षेत्रमै पायोनियर बैंकका रूपमा चिनाउन सफल भयो ।  पछिल्ला वर्षहरूमा नबिलले डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै छिटो, सरल र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । नबिलको ‘एन बैंक’ एप तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीले शाखा धाउनु नपर्ने वातावरण सिर्जना भएको छ ।  बैंकमा खाता खोल्न तथा वित्तीय कारोबार गर्न भौतिकरूपमा शाखा कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभ्यासमा नबिलले अग्रणी भूमिका खेलिरहेको छ ।  यसले सेवाग्राहीको समय तथा यात्रा खर्च मात्रै घटाएको छैन, शाखामा पुग्न नसक्ने आम नागरिकलाई पनि सहज बैंकिङ पहुँच विस्तार गरिदिएको छ ।  नबिल बैंकले डिजिटल तथा रोबोटिक प्रोसेस अटोमेशनद्वारा काम गर्दै आएको छ । यसले सेवाको गुणस्तर, समय व्यवस्थापन तथा दिगो बैंकिङलाई मजबुत बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली बताउँछन् ।  सीईओ ज्ञवालीका अनुसार नबिल बैंकको विकास योगदानको मूल आधार नै वित्तीय समावेशीकरण हो । बैंकले सेवाविहीन तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा शाखा तथा सेवा विस्तार गरेर दूरदराजका समुदायलाई पनि औपचारिक रूपमा बैंकिङ प्रणालीमा ल्याएको छ । यसले बचत गर्ने बानीको विकास, सुरक्षित तथा पारदर्शी वित्तीय सेवामा पहुँच, उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याएको उनको दाबी छ। पूर्वाधार निर्माण र ऊर्जा विकासमा अग्रणी बैंक नबिल बैंकले नेपालको पूर्वाधार तथा ऊर्जा क्षेत्रमा रूपान्तरणकारी भूमिका खेलेको छ । नेपालमा पूर्वाधार बैंक नहुँदा नै नबिलले परियोजना फाइनान्सिङ र कर्पोरेट/होलसेल बैंकिङको क्षमता विकास गरेर व्यवसायीको मन जितेको थियो । र, अहिले पनि व्यवसायीको कारोबारका लागि नबिल नै रोजाइमा पर्ने गरेको छ।   नबिलले सन् १९९८ मा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा लगानी गरेर निजी क्षेत्रको ऊर्जा विकासमा नयाँ अध्यायको सुरुवात गरेको थियो । यो आयोजना निजी क्षेत्रबाट विकास भएको एक मेगावाटभन्दा ठूलो क्षमताको पहिलो आयोजना थियो । जलविद्युत् आयोजनामा वित्तीयकरण गर्ने पहिलो व्यावसायिक बैंक नै नबिल हो ।  सीईओ ज्ञवालीका अनुसार नबिल बैंकले सुरुदेखि नै जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको छ । जलविद्युत परियोजनाहरू जटिल र जोखिमपूर्ण भए पनि नबिलको सो कदमले ऊर्जा क्षेत्रमै विश्वास जगाएको छ । र, अन्य बैंकहरूलाई पनि ऊर्जा क्षेत्रमा लगानी गर्न नबिलले नै प्रेरित गर्‍यो । आज बैंकहरूको लगानीको मुख्य क्षेत्र नै जलविद्युत क्षेत्र बनिरहेको छ । हाल ऊर्जा क्षेत्रमा नबिलको योगदान झनै व्यापक छ । जलविद्युत्, सौर्य, नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र अन्य ऊर्जा परियोजनामा नबिलले लगानी बढाउँदै गएको छ ।  नबिल बैंकले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा ४ अर्ब ४६ करोड, ७३ मेगावाटको सानिमा मध्य तमोरमा १ अर्ब ६७ करोड, ४० मेगावाटको माथिल्लो चमेलियामा २ अर्ब १४ करोड र ३७ मेगावाटको त्रिशूली–३ बी जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ ।   बढ्दै गएको लगानीले नेपालको ऊर्जा उत्पादन, औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक दिगोपनामा योगदान पुगिरहेको सीईओ ज्ञवालीको धारणा छ । उनका अनुसार नबिल सौर्य ग्रिड परियोजनामा पनि प्रवेश गरेको छ । जसले हरित ऊर्जा तथा सुक्खा महिनाको ऊर्जा सन्तुलन गर्न सहयोग गर्नेछ ।  सीईओ ज्ञवालीले बैंकले ऊर्जा क्षेत्रमा कुल ७५ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता गरेको जानकारी दिए । बैंकले प्रतिबद्धता गरेको विद्युतको क्षमता ३ हजार १६४.२२ मेगावाट हो । बैंकले हालसम्म ५४ वटा जलविद्युत परियोजनामा लगानी गरेको छ, जसमध्ये चारवटा सौर्य ऊर्जा परियोजना पनि छन् ।   नबिलकै साथ सहयोगमा ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत परियोजना निर्माण हुन सफल भयो । बैंकले सो जलविद्युतको उपकरणहरू भित्र्याउनका लागि आवश्यक प्रतितपत्र (एलसी)को व्यवस्था गरिदिएको थियो । त्यस समयमा बैंकको पुँजी सानो हुँदा पनि यति ठूलो प्रतिबद्धता कठिन थियो । तर, नबिलले जोखिम साझेदारीसहित नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा नयाँ काम सम्पन्न गरी आफूलाई अब्बल बैंकका रूपमा चिनाएको थियो । यसले अन्तर्राष्ट्रिय बैंक तथा लगानीकर्ताहरूमाझ नेपाली बैंकमाथि विश्वास बढाएको सीईओ ज्ञवाली बताउँछन्। नेपालभर सडक, पुल, अस्पताल, कार्यालय भवन, जलविद्युत, राजमार्ग निर्माण गर्ने ठेकेदारहरूलाई आवश्यक बैंक ग्यारेन्टी, कर्जा सुविधा तथा अन्य वित्तीय उपकरण प्रदान गर्दै नबिल निर्माण क्षेत्रको विकासको एक महत्वपूर्ण स्टेक होल्डर बन्दै आएको छ । सार्वजनिक खरिद ऐन अनुसार ठेकेदारले बैंक ग्यारेन्टी सुविधाबिना निर्माण कार्यको बिड गर्न सक्दैनन् । नबिल बैंककै अग्रणी भूमिका र सहयोगले ठूल्ठूला परियोजनाहरू निर्माणमा टेवा पुगेको बैंकले दाबी गरेको छ ।  नबिलले सिमेन्ट, उड्डयन, दूरसञ्चार तथा ठूल्ठूला उद्योगहरूको स्थापना र विस्तारका लागि कर्जा विस्तार गरेर देशको अर्थतन्त्रमा सहयोग गरिरहेको छ । बैंकका अनुसार हालसम्म १० वटा सिमेन्ट उद्योगमा ८.५ अर्ब कर्जा लगानी भइसकेको छ । प्रत्येक दिन २६ हजार ५०० टन उत्पादन क्षमता सिमेन्ट उद्योगमा उक्त लगानी भएको हो । बैंकले कुल क्षमताको ३५ प्रतिशत अर्थात् लगानी गरेको जनाएको छ । जसले कुनै बेला आयात गर्नुपर्ने बाध्यतामा रहेको सिमेन्ट क्षेत्र अहिले निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । नेपालबाट अहिले सिमेन्ट निर्यातसमेत हुन थालेको छ ।  कर भुक्तानी र सामाजिक कार्यमा सधैं अगाडि नबिल बैंकले कर भुक्तानीमार्फत राज्यलाई पनि ठूलो योगदान गरेको छ । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमध्ये सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नबिल ८ पटकसम्म सरकारबाट सम्मानित भइसकेको छ । आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले नाफामा ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा नबिल बैंक पहिलो पटक सम्मानित भएको थियो । त्यसपछि आव २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/८० मा उत्कृष्ट करदाता बनेर सरकारबाट सम्मानित भएको थियो । बैंकले पछिल्लो एक दशकमा मात्रै साढे १९ अर्ब रुपैयाँ कर तिरेको बैंकको वित्तीय विवरणबाट देखिन्छ ।   बैंकले डिजिटल तथा औपचारिक बैंकिङ विस्तारले आर्थिक क्रियाकलाप पारदर्शी बनाउने, सुशासन बलियो बनाउने तथा दीर्घकालीन आर्थिक स्थिरता स्थापित गर्न मद्दत गरेको छ । नबिल बैंक सूचकमात्र अब्बल र अगाडि छैन, जनजीवनमा पनि ठूलो प्रभाव पारेको छ । नबिल सस्टेनेबल बैंकिङका माध्यमबाट सामाजिक क्षेत्र र सुशासनमा आधारित बैंकिङ अभ्यास गर्दै आएको छ । बैंकले प्रत्यक्षरूपमा हजारौंलाई रोजगारीमात्रै प्रदान गरेको छैन, देशमा समस्या परेको बेला ठूलो सहयोग पनि गर्दै आएको छ ।  बैंकले २०७२ को महाभूकम्पको समयमा प्रधानमन्त्री राहत कोषमा २ करोड १ लाख, दुई वर्षअघि रुकुम–पश्चिम र जाजरकोटमा भूकम्प जाँदा ९६ अस्थायी घर निर्माण गरिदिएको थियो भने बाढीपीडित ९० परिवारलाई फ्लड–सपोर्ट किट सहयोग गरेको थियो ।  यस्तै, कोभिडको समयमा वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारी राहत कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको थियो भने सिन्धुपाल्चोकमा भूकम्प जाँदा ३१ घरधुरीलाई राहत सामग्री वितरण गरेको थियो । चार वर्षअघि टीकापुरमा बाढी आउँदा १ हजार बढी घरपरिवारलाई खाद्यान्न वितरण गरेको थियो ।  शिक्षाबाट पछाडि परेका समुदायका विद्यार्थीहरूको लागि छात्रवृत्ति, सरकारी विद्यालयहरूमा शैक्षिक सामग्री र डिजिटल सिकाइका उपकरणका साथै ब्रेल सामग्रीजस्ता समावेशी सिकाइ सहयोग उपलब्ध गराउन नबिल बैंक अग्रपङ्क्तिमा आउँछ । नबिलले १०४ वटा विद्यालयमा नबिल स्वच्छ खानेपानी अभियान सञ्चालन गरेर ९० हजार बढी शिक्षक तथा विद्यार्थीलाई लाभान्वित बनाएको छ । विद्यालयका किशोरीलाई सेनिटरी प्याड वितरण गरेर ५० हजार बढीलाई लाभान्वित बनाएको छ ।  यसैगरी, निःशुल्क कृत्रिम अंग वितरण, जटिल शल्यक्रिया तथा विशेष स्वास्थ्य आवश्यकता भएका व्यक्तिहरूका लागि सहयोग, विपन्न समुदायहरूका लागि स्वास्थ्य शिविर तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक चिकित्सा उपकरण उपलब्ध गराउने जस्ता पहलहरू गरेको छ । नबिल बैंकले युवाहरू, महिला समूह, साना तथा मध्यम उद्योग (एसएमई) र समुदायहरूलाई लक्षित गरी नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (नबिल एसएसई) मार्फत बैंकले विभिन्न व्यक्ति तथा स्टार्टअपहरूलाई दिगो सामाजिक उद्यम निर्माण गर्न मद्दत गरिरहेको छ । जसले जीविकोपार्जन र रोजगारमा सकारात्मक प्रभाव पारिरहेको छ ।  नबिल बैंकको यो अभियानले डिजिटल वित्तीय साक्षरता तथा ठगी सचेतनासहित करिब ४० हजार मानिस लाभान्वित भएका छन् भने ११ हजार बढीले नबिल एसएसईको तालिम लिएका छन् । यही अभियानबाट १९३ वटा सामाजिक उद्यम स्थापना भई १७ हजारले रोजगारी पाएको नबिलको दाबी छ ।  बैंकले अर्थतन्त्रमा योगदानसँगसँगै सामाजिक कार्य अन्तर्गत ‘क्लिन हिमालय’ अभियान अन्तर्गत ४५ टन फोहोर व्यवस्थापन गरेको दाबी गरेको छ ।  स्वस्थ सूचक, अब्बल प्रतिफल  बैंकले समाज र देशको अर्थतन्त्रसँगै बैंकका सेयरधनीलाई पनि राम्रो प्रतिफल वितरण दिइरहेको छ । बैंकका हरेक वित्तीय सूचकहरू अब्बल देखिन्छन् । पछिल्लो वित्तीय विवरणअनुसार नबिलले ५ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सेयर पुँजी २७ अर्ब ५ करोड, जगेडा कोष ३२ अर्ब ४३ करोडसहित बैंकको कुल पुँजी कोष ६५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।  बैंकले वित्तीय बजार, सरकार, सर्वसाधारण र सेयरधनीलाई पनि प्रत्येक वर्ष खुसी बनाउँदै गएको छ । बैंकले हालसम्म अधिकतम १४० प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको छ भने विगत तीन दशकदेखि कुनै पनि वर्ष सेयरधनीको हात खाली गरेको छैन ।  नबिल बैंकलाई उच्च बिन्दुमा पुर्‍याउन यसका संस्थापक सेयरधनी र यस बैंकको व्यवस्थापकीय नेतृत्वमा बसेर काम गर्नेहरूको ठूलो योगदान छ । यस बैंकको मुख्य सेयरधनीहरूमा एनबी इन्टरनेशनल (३९.४४ प्रतिशत), आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेश (७.७७ प्रतिशत), राष्ट्रिय बीमा कम्पनी (७.६३ प्रतिशत), निर्वाणकुमार चौधरी (०.७० प्रतिशत) र वरुण चौधरी (०.६७ प्रतिशत) रहेका छन् ।  बैंकमा स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ । फोर्ब्स सूचीमा रहेका अर्बपति विनोद चौधरी यस बैंकको मुख्य लगानीकर्ताको रूपमा परिचित छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै विभिन्न समयमा बैंकर्स ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिल केशरी शाह, सशीन जोशी, अनिल ज्ञवालीसहितले यस बैंकलाई वर्तमान अवस्थामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । नबिल बैंकको पहिलो अध्यक्ष सशीनारायण शाह, त्यसपछिका सत्यान्द्रप्यारा श्रेष्ठदेखि अहिलेका अध्यक्ष उपेन्द्र पौडेलले पनि नबिल बैंकलाई यो स्थानसम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका छन् ।  नबिल बैंकले आधुनिक बैंकिङ, डिजिटल भुक्तानी, जलविद्युतमा वित्तीयकरण लगायतमा अग्रणी भूमिका खेलेको छ । बैंकले ऊर्जा परियोजना तथा ठूला पूर्वाधारहरूमा नेतृत्व गरेर राष्ट्र निर्माणको एक महत्त्वपूर्ण स्टेक होल्डरका रूपमा आफूलाई चिनाएको छ । बैंकले उद्योग, सिमेन्ट, सेवा क्षेत्रमा सहभागितामार्फत घरेलु उत्पादन तथा रोजगार प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, विपद् राहत, वित्तीय साक्षरता, सामाजिक उद्यमशीलतामा व्यापक योगदान गरेकै कारण आज विकास नायकका रूपमा आफूलाई उभ्याएको छ । मनोज ज्ञवालीकै शब्दहरू : नबिल देशको पहिलो ज्वोइन्ट भेञ्चर बैंक हुँदै सुरुवाती दिनहरूमा बैंकिङ सेवा सर्वसाधारणसम्म पुर्‍याउन सफल भयो । बैंकको सबै लेखाजोखा कागजात तथा पासबुक र ढड्डामा हुने बैंकिङ अभ्यासलाई रूपान्तरण गर्दै नबिलले सबै हिसाब–किताबलाई कम्प्युटराइज गर्ने कामको थालनी गर्‍यो । बैंकको डेभिट तथा क्रेडिट कार्डको इनोभेसनमा पनि नबिल पहिलो बैंक हो । त्यतिबेलादेखि अहिलेसम्म नबिल विभिन्न प्रडक्टहरूमा पनि पायोनियर बैंकको रूपमा काम गर्दै आएको छ । अहिले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने काम पनि बैंकिङ क्षेत्रमै पहिलो हो ।  विविध प्रडक्ट, सेवा र इनोभेसनमा नबिल पायोनियर नै हो । १/२ लाख रुपैयाँ कर्जा लिएका उद्यमी, व्यवसायीहरू अहिले अर्बौंको नेटवर्थमा काम गरिरहेका छन् । नबिलले ऊर्जा तथा ठूला पूर्वाधारमा ठूलो रकम लगानी गरेर त्यो क्षेत्रका विकासमा ठूलो योगदान दिएको छ । परियोजना फाइनान्सिङ तथा ग्यारेन्टीमा हामीले उच्च जोखिम लिएर पनि देश निर्माणमा साथ दिइरहेका छौं । हामी देश बनाउने काममा सक्रिय छौं । सेवाग्राहीको मागअनुसारको प्रडक्ट ल्याउने र त्यो सँगै देशलाई योगदान दिनुपर्ने ठाउँमा पनि नबिल अगाडि छ । नबिल संस्थागत सुशासनमा अडिग छ । जहिले पनि हामी सस्टेनेवल बैंकिङको नारा लिएर काम गरिरहेका छौं ।  हामी निरन्तर बढी कर तिर्ने बैंकका रूपमा सम्मानित हुँदै आएको छौं । बैंकमा काम गर्न चाहनेहरूका लागि पनि नबिल पहिलो रोजाइमा छ । सेयरधनीको प्रतिफलमा पनि नबिल अगाडि छ । विगतमा हामी सबैभन्दा बढी लाभांश दिने बैंकका रूपमा परिचित थियौं । अहिले पनि १२.५ प्रतिशत लाभांश घोषणा गरेका छौं । मर्जरको कारणले लाभांश अहिले केही घटेको हो । बैंक कम्प्लायन्स, संस्थागत सुशासन, कर्मचारीको हकहितका लागि पहिलो रोजाइ बन्दै आएको छ । सगरमाथाको चुचुरोमा पुग्नुभन्दा बसिराख्न चु्नौती हुन्छ । हामी ठूलोभन्दा पनि बेस्ट बैंक भन्ने दौडमा छौं ।  नबिल बैंक भन्नेवित्तिकै जुन कन्फिडेन्स अहिले बजारमा छ, त्यसलाई थप मजबुत र विस्तार गर्न लागिरहेका छौं । नबिल बैंक अहिले ठूला सहरमा मात्रै होइन, दूरदराजमा पनि सेवा दिइरहेको छ । दूरदराजका शाखामा नाफा नभए पनि सेवाको हिसाबले देशभर २६८ शाखामार्फत काम गरिरहेका छौं । उद्यमीको विकास हुनुपर्छ भनेर नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (एसएसई) सुरु गरेका छौं । त्यसले उद्यमीसँगै रोजगारी सिर्जना गर्ने काम गरेको छ । सातै प्रदेशमा उद्यमको विकासमा काम गरिरहेका छौं ।  बैंकिङ क्षेत्रले छरिएर रहेको पैसालाई एकीकृत गरेर कर्जा प्रवाह गर्ने हो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले वित्तीय विवरणमात्रै हेर्‍यो । हामीले संकलन गरेको निक्षेपले कति व्यवसाय विस्तारमा काम गर्‍यो ? देशको जीडीपीमा कति काम गर्‍यो । रोजगारी कति सिर्जना गर्‍यो । अर्थतन्त्रमा के कस्तो प्रभाव गर्‍यो ? भन्ने विषय बुझ्नुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि बैंकसँगै त्यो क्षेत्र र देशलाई हेर्ने हो ।  अबको बैंकिङ डिजिटल बैंकबाट अगाडि बढ्छ । अब कर्जा प्रवाह पनि डिजिटलबाट हुनुपर्छ । त्यसको लागि पूर्वाधार निर्माण गरेर त्यसमा पनि लाग्नुपर्छ । नबिल डिजिटल बैंकिङमा थप अगाडि हुन चाहन्छ । घरबाटै बैंकिङ सेवासँगै सुरक्षित बैंकिङ गर्नका लागि हामीले तयारी गरिरहेका छौं । हामीले गरेको लगानीले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्नुपर्छ । हामीले गरेको कामलाई मूल्यांकन गर्दै विकासन्युज जस्तो प्रोफेसनल मिडियाले विकास नायक अवार्डबाट नबिल बैंकलाई सम्मान गर्न लागेको विषय धेरै महत्त्वपूर्ण हो । यसबाट हामी धेरै खुसी छौं । यसले हामी र समग्र बैंकिङ क्षेत्रलाई आगामी दिनमा थप परिष्कृत भएर काम गर्न उत्प्रेरित गर्छ ।

नेपाली मष्तिस्क, अन्तर्राष्ट्रिय बजार

सूचना प्रविधि (आईटी) क्षेत्रमा एकपछि अर्को लगानी गर्दै आइएमई ग्रुपले नेपाली सफ्टवेयरलाई विश्व बजारमा स्थापित गरिरहेको छ । नेपालमै उत्पादन भएका आईटी सफ्टवेयर भारत, मलेसिया, दक्षिण कोरिया, जापानसहित विश्वका नौ देशमा निर्यात भइरहेका छन् । आईटी क्षेत्रमार्फत हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ भने लाखौं व्यक्ति अप्रत्यक्ष रूपमा लाभान्वित छन् । बैंक/वित्तीय संस्था र अस्पतालमा प्रयोग भइरहेको यही ‘प्रडक्ट’ आज नेपालको करिब एक तिहाइ जनसङ्ख्याको दैनिकीसँग जोडिएको छ । तीन दर्जनभन्दा बढी कम्पनीको नेतृत्व गरिरहेका छन् आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, जसले आईटीलाई व्यवसाय मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउने दिशामा अघि बढाइरहेका छन् । हेमराज ढकाल । सुरुवाती यात्रा : रहरबाट रणनीतिसम्म उच्च शिक्षामा विज्ञान विषय पढेका हेमराजलाई सूचना प्रविधि र दिनप्रतिदिन सार्वजनिक हुने नयाँ ‘प्रडक्ट’सँग अभ्यस्त हुने रहर जाग्छ । उनी रहरलाई रहरमै सीमित राख्दैनन् । गहन अध्ययन गर्छन्, सम्भावना र अवसर केलाउँछन् । देश र जनताका लागि उपयुक्त महसुस हुने वित्तीय निर्णय दाइ चन्द्रप्रसाद ढकालसँग सुनाउँछन् । ‘आहा ! गज्जब भाइ !’ दाइले धाप मारेसँगै हेमराजसहितको एउटा ‘टिम’ अघि बढ्छ । रहरैरहरमा सुरु गरेको यात्रा यस्तो भइदियो कि हेमराजले आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।  आइएमई ग्रुपका विभिन्न आईटी कम्पनीमा एक हजारभन्दा बढी जनाले रोजगारी पाएका छन् । नेपालको युवा जनशक्तिको क्षमता र योग्यतालाई पहिचान गर्दै उनीहरूलाई नेपालमै रोजगारी दिने गरी काम गरिरहेका छौं । उनीहरूको क्षमतालाई उपयोग गरेर उत्कृष्ट प्रविधिजन्य उत्पादन विकास गर्न सकिन्छ भन्ने विश्वास छ । यसले युवालाई देशमै रोजगारी, अवसर र ग्लोबल एक्सपोजर दिन सक्छ ।  जापानको अनुभव र रेमिट्यान्सको जन्म देश कागजमै चलिरहेको थियो ।  सूचना प्रविधिको विकास र विस्तारसँग राज्य संयन्त्र अभ्यस्त भइसकेको थिएन । यही परिवेशमा अध्ययनका लागि जापान पुगेका हेमराजले त्यहाँ रहेका नेपालीले नेपालमा पैसा पठाउँदा भोग्नुपरेको सकस नजिकबाट अनुभूति गरे । यस विषयमा दाइ चन्द्र ढकालसँग गहिरो छलफलपछि ‘आइएमई रेमिट्यान्स’ स्थापना गर्ने निर्णयमा उनीहरू पुगे । लामो मिहिनेत र प्रक्रिया पूरा गरेपछि सन् १९९८ मा नेपाल राष्ट्र बैंकबाट औपचारिक रूपमा आइएमईले नेपालमा रेमिट्यान्स भित्राउने अनुमति प्राप्त गर्‍यो । तर, त्यसबेला जापानमै रेमिट्यान्ससम्बन्धी कानुनी संरचना तयार नभइसकेकाले प्रारम्भिक चरणमा मलेसियाबाट रेमिट्यान्स भित्राउने कामको थालनी गरियो । सन् २००९ देखि भने जापानबाटै रेमिट्यान्स सेवा सुरु भयो । त्यही ‘आइएमई रेमिट्यान्स’ नै आजको आईटी यात्राको जननी भएको हेमराज ढकाल बताउँछन् ।  ‘त्यो बेला विदेशबाट नेपालका कुनाकुप्चामा रेमिट्यान्स पठाउनु पनि सूचना प्रविधिकै देन हो, सूचना प्रविधिको विकासमा आइएमईले ठूलो भूमिका खेलेको छ, हाम्रो ग्रुपका लागि पनि त्यो बलियो जग थियो । विश्वका जुनसुकै ठाउँबाट नेपालका अति दुर्गम जुम्ला, हुम्लामा पनि केही क्षणमै रेमिट्यान्स पठाउन सक्ने प्रणालीको विकास गर्नु आफैमा ठूलो सफलता हो । आज दक्षिण कोरियाको ठूलो रेमिट्यान्स कम्पनी जीएमई कोरियाले पनि हाम्रै सफ्टवेयर प्रयोग गरिरहेको छ,’ यसो भन्दै गर्दा ढकालको अनुहारमा चमक देखिन्थ्यो ।   आईएमई रेमिट्यान्स : आईटी यात्राको जग सन् २००४ मा ‘आईएमई फाइनान्सियल इन्स्टिच्युसन’ स्थापना गरेर आइएमई ग्रुपले वित्तीय क्षेत्रमा प्रवेश ग¥यो । वित्तीय क्षेत्रमा पनि यो समूहले सूचना प्रविधिको विकासलाई प्राथमिकता दियो । विश्वमा भइरहेको सूचना प्रविधिको विकासलाई आत्मसात र अनुशरण गर्दै सन् २००७ सालमा हेमराजकै नेतृत्वमा सूचना प्रविधि कम्पनी ‘स्विफ्ट टेक्नोलोजी’ स्थापना भयो । ढकालका अनुसार अहिले आइएमई ग्रुपमा पनि ‘स्विफ्ट टेक्नोलोजी’ मदर कम्पनीका रूपमा रहेर अन्य दर्जन हाराहारी ‘सब्सिडाइरी’ कम्पनीले काम गरिरहेका छन् । आइएमई ग्रुपका विभिन्न आईटी कम्पनीमा एक हजारभन्दा बढी जनाले रोजगारी पाएका छन् । नेपालको युवा जनशक्तिको क्षमता र योग्यतालाई पहिचान गर्दै उनीहरूलाई नेपालमै रोजगारी दिने गरी काम गरिरहेका छौं । उनीहरूको क्षमतालाई उपयोग गरेर उत्कृष्ट प्रविधिजन्य उत्पादन विकास गर्न सकिन्छ भन्ने विश्वास छ । यसले युवालाई देशमै रोजगारी, अवसर र ग्लोबल एक्सपोजर दिन सक्छ ।  सूचना प्रविधिको जग आइएमई रेमिट्यान्सले बसाले पनि ‘फ्याक्स’बाट आउने कारोबारले केही समय भने लगाउँथ्यो । तर, जब ‘स्विफ्ट टेक्नोलोजी’को स्थापना भयो, त्यसपछि वेबमा आधारित काम हुन थाल्यो । यसले विदेशबाट पैसा पठाउनेबित्तिकै नेपालमा हेर्न मिल्ने र चाँडै पठाउने प्रणालीको विकास भयो । ‘स्विफ्ट टेक्नोलोजी’को यो प्रविधिलाई त्यसपछि अन्य रेमिट्यान्स कम्पनीले पनि प्रयोग गर्न थाले ।  आवश्यकताअनुसार सफ्टवेयर विकास गरेर स्वदेश तथा विदेशमा बिक्री गर्ने काम ‘स्विफ्ट टेक्नोलोजी’ले गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक पर्ने नयाँ–नयाँ सफ्टवेयर तथा आईटी प्रडक्ट यो कम्पनीले उत्पादन गर्छ । ढकालका अनुसार मनि ट्रान्सफर, वालेट, मोबाइल बैंकिङ, रिटेल म्यानेजमेन्ट तथा कर्जा व्यवस्थापनलगायतका काम ग्रुपअन्तर्गतका विभिन्न कम्पनीले गर्दै आएका छन् ।  ग्रुपअन्तर्गतका आईटी कम्पनीमा एक हजारभन्दा बढी इञ्जिनियर कार्यरत छन् भने स्विफ्ट टेक्नोलोजीमा मात्र सय जना बढी इञ्जिनियरले काम गर्छन् । उनीहरूले सूचना प्रविधिको बजारमा नयाँ–नयाँ सफ्टवेयर र प्रडक्ट सार्वजनिक गरेर बजारलाई चलायमान बनाइरहेका छन् । दुई सय बढी देशका आईटी कम्पनीमा आफ्ना ग्राहक छन् भने एसिया, अमेरिका, अफ्रिका र युरोपका विभिन्न देशमा सेवा निर्यात गरिरहेको छ ।  ‘सफ्टवेयर विकास गरेर अमेरिका, क्यानडा, कोरिया, अष्ट्रेलिया, जापान, मलेसिया, भारत, कम्बोडिया, जिम्बावेलगायत देशमा निर्यात गरिरहेका छौं, निर्यातको परिमाणप्रति हामी सन्तुष्ट छौं,’ उनले भने । युवालाई आईटीमा आवद्ध गराएर आगामी दिनमा थप सफ्टवेयर निर्यात गर्ने योजना कम्पनीको भएको हेमराजले बताए । रेमिट्यान्सदेखि मोबाइल बैंकिङसम्म सन् २००७ देखि २०१२ सम्म रेमिट्यान्स प्रणाली, बिजनेस टु बिजनेस र बिजनेस टु कन्जुमर प्रणालीमा लागेको यो कम्पनी सन् २०१३ देखि २०१८ सम्म मोबाइल बैंकिङ र पेमेन्ट गेटवेमा केन्द्रित रह्यो । सन् २०१९ देखि हालसम्म मोबाइल बैंकिङसँगै डिजिटल बैंकिङ र कर्जा व्यवस्थापन प्रणालीमा काम गर्दै आएको छ । नेपाली बैंक÷वित्तीय क्षेत्र र बीमा कम्पनीले हेमराजकै कम्पनीबाट आफ्नो नियमित काम गरिरहेका छन् ।  स्विफ्ट टेक्नोलोजी स्थापना भएको तीन वर्षपछि अर्थात् सन् २०१० मा आइएमई ग्रुपले डिस होम मिडिया नेटवर्क स्थापना गर्‍यो । नेपालमा टेलिभिजन डिजिटाइजेसनको नेतृत्व गर्‍यो । नेपाली टेलिभिजन विदेशी च्यानलमा निर्भर हुने अवस्थाको अन्त्य डिसहोमले गर्‍यो । आजको दिनमा डिसहोमको २० लाख बढी ग्राहक, ५ सय बढी कर्मचारी, नेपालभर २ सय बढी शाखा र ५ हजार बढी डिलर रहेका छन् । डिस होमले अहिले इन्टरनेटको सेवा पनि प्रदान गर्दै आएको छ । कम्पनीले वार्षिक ५ अर्ब बढी सञ्चालन आम्दानी गर्छ । उनै हेमराजले डिसहोमको नेतृत्व गरिरहेका छन् ।  हामीले सफ्टवेर विकास गरेर अमेरिका, क्यानडा, कोरिया, अष्ट्रेलिया, जापान, मलेसिया, भारत, कम्बोडिया, जिम्बावेलगायत देशमा निर्यात गरिरहेका छौं । निर्यातको परिमाणप्रति हामी सन्तुष्ट छौं । युवापुस्तालाई आईटीमा आबद्ध गराएर आगामी दिनमा थप सफ्टवेयर निर्यात गर्ने योजना छ ।  आइएमई ग्रुपले विश्वमा विस्तार भइरहेको सूचना प्रविधिलाई मध्यनजर गर्दै सन् २०१६ मा आईएमई डिजिटल सोलुसन स्थापना गर्‍यो । राष्ट्र बैंकले अनुमति दिएको डिजिटल वालेटमा आइएमई डिजिटल सोलुसन पहिलो कम्पनी हो । सो कम्पनीबाट आइएमई पे वालेट सुरु भयो । अहिले आइएमई र खल्तीबीच मर्जर भएर ‘खल्ती बाई आइएमई’ नामक एपबाट सेवा दिँदै देशको नम्बर वान डिजिटल वालेट बनेको छ ।  कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ बढी छ । एपमार्फत मुभी बुकिङ, इभेन्ट टिकेटिङ, जहाजको टिकट, बीमा रकम भुक्तानी, ईएमआई सेवा, सरकारी रकम भुक्तानी, टपअपलगायत डिजिटल भुक्तानी हुने गरेका छन् । ७० लाख बढीले यस एपलाई डाउनलोड गरेका छन् भने एक लाख २० हजार रिटेल नेटवर्क रहेका छन् । सन् २००१ मा दर्ता भएर सन् २००३ देखि सेवा प्रारम्भ गरेको स्मार्ट च्वाईस टेक्नोलोजी (एससीटी) मा सात वर्षअघि मात्रै आईमई ग्रुपले लगानी गर्‍यो । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा सञ्चालक एससीटीले नेपालका बैंक तथा वित्तीय संस्थामा विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्मको सेवा प्रदान गर्दै आएको छ । एससीटीले अहिले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा पनि सुरु गरेको छ । एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सञ्चालन गर्दै आएको छ ।  स्वास्थ्यमा साझेदार आइएमई ग्रुपले स्वास्थ्य सेवासँग सम्बन्धित प्रविधिको पनि विकास गरी सञ्चालन गरिरहेको छ । यस ग्रुपको मुख्य लगानी रहेको मिदास हेल्थ सर्भिसेज प्रा.लि.ले डिजिटल स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । यस कम्पनीले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली २०० भन्दा बढी र ६० प्रतिशत ठूला अस्पतालले प्रयोगमा ल्याएको हेमराजले जानकारी दिए । स्वास्थ्य सेवाको आधुनिकीकरण तथा गुणस्तर सुधार गर्न मिदास हेल्थ सर्भिसेज अस्पतालका लागि भरपर्दो साझेदार बनेको उनको भनाइ छ ।  मैले तीन दर्जन कम्पनीको नेतृत्व गरिरहेको छु । व्यवसायीले प्रतिस्पर्धाको हिसाबले भन्दा पनि सूचना प्रविधिको क्षेत्रलाई विकास र विस्तार गर्ने ध्येयका साथ काम गर्नुपर्छ । हामीले तत्काल प्रतिफल आओस् भन्ने हिसाबले काम गर्दैनौं, व्यवसायमा त्यो विश्वास पनि गरिँदैन । हामीले समाजमा सकारात्मक प्रभाव पर्ने गरी काम गर्‍यौं भने प्रतिफल आफै प्राप्त हुन्छ ।  त्यसैगरी ‘मेरो डाक्टर’ नामक एपमार्फत अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई उत्कृष्ट चिकित्सक परामर्श तथा अन्य टेलिमेडिसिन सेवा समेत उपलब्ध गराइरहेको छ  । एकीकृत स्वास्थ्य सेवा प्रणाली समाधान प्रदायकका रूपमा विकसित हुने र नेपालका बिरामी, डाक्टर, फार्मेसी, डायग्नोस्टिक्स, क्लिनिक, सार्वजनिक स्वास्थ्य केन्द्र तथा अस्पताललाई एकअर्कासँग जोड्ने स्वास्थ्यसम्बन्धी इकोसिस्टम निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको छ । मिदास हेल्थ सर्भिसेजले निर्माण गरेको एचएमआईएस सिस्टम हाल देशका ८० प्रतिशतभन्दा बढी अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थामा प्रयोग भइरहेको छ ।  ‘हामीले मिदास हेल्थ सर्भिसेजमार्फत स्वास्थ्य संस्थालाई पूर्ण डिजिटलाइज बनाउने र बीमाको दाबी भुक्तानीलाई क्यासलेस कसरी बनाउने भन्नेतर्फ केन्द्रित गरेका छौं, सयौं अस्पताल र हजारौं बिरामीलाई यसले सहज सेवा दिइरहेको छ,’ हेमराजले भने । आइएमई ग्रुपकै लगानी भएको अर्को महत्त्वपूर्ण आईटी कम्पनी हो ‘रिगो’ । रिगो जनशक्ति व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयर हो । कम्पनी सञ्चालनका लागि जनशक्ति परिचालन तथा व्यवस्थापन महत्वपूर्ण रहेको विषयलाई मनन् गर्दै रिगो स्थापना भएको हो । हाल देशका ८० प्रतिशत वाणिज्य बैंङ्क र देशका ठूल्ठूला कर्पोरेट हाउसले पनि रिगोको सफ्टवेयर प्रयोग गरिरहेको ढकालले बताए । यस सफ्टवेयरले कर्मचारी भर्नाका लागि विज्ञापन गर्नेदेखि भर्ना गर्ने, कर्मचारीको कार्यसूची तयार गर्ने, कामको अनुगमन, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नेलगायतका काम गर्न प्रभावकारी भूमिका खेलेको छ ।  ‘हामीले कसरी जनशक्ति व्यवस्थापन गर्न सक्छौं भनेर काम गरिरहेका छौं । नेपालको जनशक्तिलाई कसरी ग्लोबल मार्केटमा अब्बल बनाउन सकिन्छ भन्ने कोणबाट पनि काम भइरहेको छ, ’ हेमराजले भने ।  ‘हामीले निर्माण गरेको बैंकिङ सफ्टवेयर देशकै ठूलो र धेरै ग्राहक भएको ग्लोबल आइएमई बैंक, पहिलो र ठूलो रेमिट्यान्स कम्पनी आइएमइ लिमिटेड र दक्षिण कोरियाको जीएमई कोरियाले पनि हाम्रै सफ्टवेयर प्रयोग गरिरहेको छ,’ उनले थपे । उनका अनुसार सहकारी संस्था, लघुवित्त र विकास बैंक गरी एक हजारभन्दा बढी संस्थाले कोर बैंकिङ सोलुसन प्रयोग गरिरहेका छन् । टेक्निकल स्कुल केही महिनाअघि मात्रै आइएमई ग्रुपले काठमाडौं टेक्निकल स्कुल पनि सञ्चालनमा ल्याएको छ । यस ग्रुपले वार्षिक १० हजार जनशक्ति उत्पादनको लक्ष्यसहित आइएमई प्राविधिक शिक्षालय ‘काठमाडौं टेक्निकल स्कुल’ सञ्चालनमा ल्याएको हो । ढकालका अनुसार हस्पिटालिटी, केयर गिभिङ, बारिस्तालगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक विधामा तालिम सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादन गर्न यो स्कुलले भूमिका खेल्नेछ । उनले एक दशकमा यस स्कुलले एक लाखभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको दाबी हेमराजले गरे । ‘डेटा सेन्टर’ स्थापना : अबको योजना बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा हस्पिटालिटी, अटोमोबाइल्स, मनोरञ्जन, ऊर्जा, ट्रेडिङ, लजिष्टिक, शिक्षा, म्यानुफ्याक्चरिङका साथै सूचना प्रविधिमा लगानी विस्तार गरिरहेको आइएमई ग्रुपको अबको योजना नेपालमा डेटा सेन्टर स्थापना गर्ने छ । ‘हामी विदेशमा जान्छौं, त्यहाँको सेवासुविधाको विषयमा जानकारी लिन्छौं, त्यसलाई नेपालमा के–कसरी ल्याउन सकिन्छ, कार्यान्वयन गर्न सकिन्छ भन्नेतर्फ योजना बनाउँछौं । केहीमा सफल पनि भएका छौं । अब नेपालमा डेटा सेन्टरको स्थापना आवश्यक छ, हामी त्यसतर्फ अगाडि बढ्छौं,’ हेमराजले भने । लोकेसनका हिसाबले पनि नेपाल डेटा सेन्टर स्थापनाका लागि उपर्युक्त ठाउँ भएको उनको भनाइ छ । उनले अहिले नेपालमै बसेर युरोपका देशलाई आईटीका प्रडक्ट बिक्री गरिरहेको सुनाउँदै अब डेटा सेन्टर स्थापना गरेर अगाडि बढ्न सके धेरै ठूलो सम्भावना रहेको सुनाए । यसले युवालाई आकर्षित गर्न सकिने र उनीहरूमा भएको क्षमता र योग्यता पनि स्वदेशमै प्रयोग हुने बताए । ‘अहिले विश्वमा आईटी कम्पनीले नै लिड गरिरहेका छन्, ती कम्पनीलाई हाम्रा प्रडक्ट बिक्री गर्न सक्छौं, विदेशमा माग राम्रो छ, गुगलले समुन्द्रमुनि डेटा सेन्टर स्थापना गरेको छ, हामी हावापानीका दृष्टिकोणले पनि उपर्युक्त ठाउँमा छौं, जलविद्युतको सम्भावना पनि ठूलो छ,’ उनले भने, ‘अब पूर्वाधार बनाउन सकियो भने डेटा सेन्टरमा अवसर छ ।’ ‘नेपालको आईटी क्षेत्र विकास हुन सकेमा राम्रो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा हेमराजको छ । ‘आईटी प्रडक्टबाट प्रतिफल पनि राम्रो छ । आईटीमै पनि नयाँ क्षेत्रको पहिचान गरेर काम गर्न आवश्यक छ,’ उनले भने । हेमराजका अनुसार नेपालमा सूचना प्रविधिले राम्रै फड्को मारिरहेको छ । अब व्यवसायीले पनि व्यवसाय र सूचना प्रविधिको विकासलाई सँगसँगै अगाडि बढाउनु पर्छ । आईटीमा नयाँ के गर्न सकिन्छ ? कसरी व्यवसायमा नयाँ इनोभेसन ल्याउन सकिन्छ ? यसतर्फ सबैले सोच्न ढिला भइसकेको छ ।  निरन्तरता : सफलताको मापन  सबैभन्दा ठूलो सफलता भनेको हजारौंको संख्यामा रोजगारी सिर्जना गर्न सकेको हेमराजको भनाइ छ । कम्पनीको सेवाबाट देश, विदेशका लाखौं उपभोक्ता लाभान्वित भएका छन् भने सरकारले अवलम्बन गरेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउने कार्यमा योगदान दिन केही हदसम्म सफल भएकोमा उनी खुशी छन् ।  उनी सूचना प्रविधिमा मारेको फड्को र आइएमई ग्रुपको यो सफलताको श्रेय आफ्नो टिमलाई दिन्छन् । ‘विभिन्न विज्ञ र सहकर्मीको सङ्घर्ष, मिहिनेत र योगदानले आइएमई ग्रुप सूचना प्रविधि क्षेत्रमा पनि एउटा नेतृत्वकर्ता मात्रै हो,’ उनले भने ।  तीन दर्जन कम्पनीको नेतृत्व गरिरहेका हेमराज ढकाल व्यवसायीले प्रतिस्पर्धाको हिसाबले भन्दा पनि सूचना प्रविधिको क्षेत्रलाई विकास र विस्तार गर्ने ध्येयका साथ काम गर्नुपर्ने धारणा राख्छन् । ‘हामीले तत्काल प्रतिफल आओस् भन्ने हिसाबले काम गर्दैनौं, व्यवसायमा त्यो विश्वास पनि गरिँदैन, हामीले समाजमा सकारात्मक प्रभाव पर्ने गरी काम गर्‍यौं भने प्रतिफल आफै प्राप्त हुन्छ,’ उनले भने ।   चिकित्सकको चाहना  हेमराज ढकाल सन् १९७५ मा बागलुङमा जन्मिए । एसएलसीसम्मको पढाइ गाउँमै पूरा गरे । काठमाडौं आएर त्रिचन्द्र कलेजमा आइएस्सी पढे । आईएस्सी पास गरेपछि मेडिकल शिक्षा पढेर चिकित्सक बन्न चाहन्थे । तर, जीवनले अर्कै मोड लियो । सन् १९९४ मा जापान गए । जापान जानुअघि उनी पढ्नका लागि अमेरिका जान चाहन्थे । तर, उनको त्यो सपना पूरा भएन । जापान गएपछि भाषाको कारण नेपालीले पैसा पठाउन नसकेको समस्या देखे । त्यहीँबाट अब नेपालमा पैसा पठाउन मिल्ने कम्पनीको आवश्यक रहेको महसुस गरे । उनका अनुसार त्यहीँबाट भएको हो आइएमई रेमिट्यान्सको जन्म ।  विश्व अर्थतन्त्रलाई नियाल्दा प्रमुख मुलुक भारत, चीन, अमेरिका र जापान टेक्नोलोजीका कारण तीव्र गतिमा अगाडि बढिरहेका छन् । विश्वका ठूला कम्पनीको संरचना केलाउँदा अधिकांश टेक कम्पनी वा टेक–एनेबल्ड कम्पनीको वर्चस्व छ । एआई, मेसिन लर्निङ र उदाउँदो प्रविधिले आर्थिक विकासलाई थप गति दिइरहेका कारण भविष्यमा प्रविधिमा आधारित व्यवसाय अझै फस्टाउने देखिन्छ । विश्वमा देखिएका डिजिटल ट्रेन्ड नेपालमा पनि आउने निश्चित छ, यद्यपि गति केही फरक छ ।  व्यक्तिगत रूपमा म विज्ञान पढेको हुनाले टेक्नोलोजीप्रतिको रुचि सुरुदेखि नै थियो, व्यवसायलाई कसरी प्रविधिसँग जोडेर विस्तार गर्न सकिन्छ भन्ने बुझाइ बढ्दै गयो । हामीले सञ्चालन गरेका व्यवसाय विस्तार भइरहँदा टेक्नोलोजीको भूमिकाले स्केल–अप र दक्षता बढाउन महत्वपूर्ण सहयोग पु¥यायो । व्यवसायलाई अझ नवीनतम् प्रविधि र सेवाको गुणस्तर वृद्धितर्फ लैजाने लक्ष्य छ । उद्यमशील यात्रा सानो व्यवसायबाट सुरु भए पनि सन् २००० पछि आइएमई सञ्चालन गर्दा प्रविधिको आवश्यकता गम्भीर रूपमा महसुस भयो । त्यतिबेला पनि गाउँ–गाउँसम्म रेमिट्यान्स सेवा पुर्‍याउन प्रविधि नै मुख्य साधन बनेको थियो । यही अनुभवले प्रेरित भई सन् २००७ मा स्विफ्ट टेक्नोलोजी स्थापना गरी औपचारिक रूपमा आईटी क्षेत्रमा प्रवेश गरेका हौं ।  आज आइएमई ग्रुपका विभिन्न आईटी कम्पनीमा एक हजारभन्दा बढी जनाले रोजगारी पाएका छन् । नेपालको युवा जनशक्तिको क्षमता र योग्यतालाई पहिचान गर्दै उनीहरूलाई नेपालमै रोजगारी दिने गरी हामीले काम गरिरहेका छौं । उनीहरूको क्षमतालाई उपयोग गरेर उत्कृष्ट प्रविधिजन्य उत्पादन विकास गर्न सकिन्छ भन्ने विश्वास पनि छ । यसले युवालाई देशमै रोजगारी, अवसर र ग्लोबल एक्सपोजर दिनसक्ने सम्भावना छ । टेक्नोलोजीको प्रयोगले रेमिट्यान्स क्षेत्रमा पनि क्रान्तिकारी परिवर्तन ल्यायो । मिनेटमै दोहाबाट जुम्ला पैसा पठाउन सक्ने अवस्थासम्म प्रविधिको योगदानले नै सम्भव बनायो । यसले जीडीपीमा ठूलो प्रभाव पारेको छ । आज डिजिटल वालेट सेवामार्फत झण्डै एक करोडभन्दा बढी व्यक्तिले घरमै बसेर विभिन्न सेवा लिन सक्ने वातावरण बनेको छ, जसको प्रभाव समय–बचत, लागत–कमी र दक्षतामा व्यापक रूपमा परिरहेको छ । हामीले बैंक, बीमा, वालेट, मनी ट्रान्सफर लगायत धेरै क्षेत्रमा लगानी गरेका कारण देशको झण्डै एक–तिहाइ जनसंख्यामा सेवा पुर्‍याउन सकिएको छ । रिगोले मानव स्रोत व्यवस्थापनलाई डिजिटलाइज गरेर नेपालकै अनुभवलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छ । काठमाडौँ टेक्निकल स्कुलले व्यावसायिक तालिममार्फत उत्पादनशील जनशक्ति तयार गर्ने उद्देश्य राखेको छ । आइटी क्षेत्रको विकासमा प्रतिस्पर्धाभन्दा सहकार्य र सहअस्तित्व महत्त्वपूर्ण छ किनकि पूर्ण डिजिटलाइजेसनका लागि अर्थतन्त्रका सबै क्षेत्र जोडिनु आवश्यक हुन्छ ।  मैले करिब ३० वटा कम्पनीको नेतृत्व गरेर नयाँ रणनीति र थप लगानी गर्नतर्फ केन्द्रित भएर काम गरिरहेको छु । व्यवसायमा दीर्घकालीन प्रभाव पार्ने काममा विश्वास भएको कारण तत्काल फाइदाभन्दा दीर्घकालीन सामाजिक–आर्थिक प्रभावलाई प्राथमिकता दिँदै आएका छौं । सफलता टिमवर्ककै फल हो । विभिन्न विधाका विज्ञहरूको संयोजनले नै दिगो परिणाम दिन सक्छ भन्ने विश्वास छ । नेपालको आईटी क्षेत्रमा अपार सम्भावना छ । नेपाल भौगोलिक रूपमा युरोप, अमेरिका र एसिया सबैलाई सेवा दिन अनुकूल टाइम–जोनमा छ । नेपालबाट विश्वस्तरका सफ्टवेयर उत्पादन विकास गर्न सक्ने सम्भावना  पनि छ । अनुकूल मौसम र जलविद्युत सम्भावनाका कारण नेपाल ‘डेटा सेन्टर हब’ बन्ने मजबुत आधार पनि छ ।  एउटा सानो कोल्ड स्टोर व्यवसायबाट उद्यमशील यात्रा सुरु गरेर आज दर्जनौं कम्पनीको नेतृत्व गरिरहेको छु । यो मेरो टिमको मिहिनेतकै कारणले हो । सन् १९९४ मा जापान पुगेपछि त्यहाँबाट नेपालमा पैसा पठाउन नेपालीले बेहोराले सास्ती देखेकै कारण आइएमई जन्मियो । समयक्रमसँगै विभिन्न कम्पनीको स्थापना भयो । अहिले आईटीमा प्राथमिकता दिइरहेका छौं । व्यावसायिक यात्रामा निरन्तरता, श्रम, अनुशासन र समाजप्रतिको सकारात्मक प्रभावलाई नै मुख्य मूल्य मानेर अघि बढ्दा सफल भइन्छ । त्यही निरन्तरतास्वरुप आज विकास मिडियाले ‘विकास नायक’को रूपमा सम्मान गरेको छ । यसले थप काम गर्ने उत्प्रेरणासँगै जिम्मेवारपूर्ण ढंगले अगाडि बढ्न हौसला दिएको छ ।   

सिर्जनशील जीवन, निष्ठापूर्वक व्यवसाय

जीवन कसरी जीउने ? धेरैको साझा प्रश्न हो यो । जीवा लामिछानेलाई नियाल्नुपर्छ, उनलाई पछ्याउने धेरै आधार छन् । सामान्य पारिवारिक पृष्ठभूमि, औसत प्रतिभा तर उत्कृष्ट जीवनशैली । उनले आफ्नो कर्ममा जोडबल लगाएर व्यवसायमा सफलता चुमेका छन् । संसार घुम्ने, नियाल्ने र बुझ्ने प्रयास गरेका छन् । साहित्य सिर्जना, समाजसेवा र देशप्रेममा खुलेर अगाडि बढेका छन् । परिवार, समाज, देश र विदेशमा समेत सम्मान भावका साथ माया पाएका छन् । एउटा किसानको छोरो विकसित मुलुकहरूका उद्यमी व्यवसायीहरूसँग प्रतिस्पर्धा गरेर व्यवसाय विस्तार गर्नु सामान्य कुरा थिएन । स्वदेश र विदेशमा गरी दर्जनौं कम्पनी सफलतापूर्वक सञ्चालन गर्नु धेरैका लागि उत्प्रेरणा, हिम्मत र हौसला बन्न सक्छ । तिनै प्रेरणाका पात्र हुन्, जीवा लामिछाने । सन् १९६७ मा चितवनको पदमपुरमा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका लामिछानेले युरोपेली देशका सुविधासम्पन्न सहरमा बसेर व्यवसाय विस्तार गरे । त्यहाँका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरे । विदेशी भूमिमा रहेका नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ स्थापना गर्न भूमिका खेले । त्यही संघको नेतृत्व गरे । त्यही संघको मद्दतमा धेरै नेपालीलाई व्यवसायमा जोडे । अधिकांशलाई आफ्नै कम्पनीमा रोजगारी दिए । कर्मचारीलाई साझेदार बनाएर विदेशी भूमिमा व्यवसायको बीजारोपण गराए । जीवाले युरोपेली देशका सुविधासम्पन्न सहरमा बसेर व्यवसाय विस्तार गरे । त्यहाँका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरे । विदेशी भूमिमा रहेका नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ स्थापना गर्न भूमिका खेले । त्यही संघको नेतृत्व गरे । त्यही संघको मद्दतमा धेरै नेपालीलाई व्यवसायमा जोडे । धेरैलाई आफ्नै कम्पनीमा रोजगारी दिए । कर्मचारीलाई साझेदार बनाएर विदेशी भूमिमा व्यवसायको बीजारोपण गराए । पछिल्लो समय लामिछाने आफ्नो व्यवसायमा मनिटरिङ गर्ने काम मात्रै गरिरहेका छन् । सबै काम उनको टिमले गर्छ । ‘मैले मसँग काम गर्ने सहकर्मीहरूलाई व्यवसायमा साझेदार बनाएको छु, त्यसले उनीहरूलाई कम्पनीमाथि अपनत्वको महसुस हुन्छ, काम गर्न उत्प्रेरित गर्छ,’  उनी भन्छन्, ‘अहिले व्यवसाय सञ्चालनको जिम्मा नै उनीहरूमाथि छ ।’ २० वर्षको उमेरमा विदेशी भूमिमा पुगेर २५ वर्षको उमेर रसियामा व्यवसायको सुरुवात गर्नु कैयौं युवाहरूका लागि प्रेरणा हुन सक्छ ।  सन् १९९१ मा त्यतिबेलाको महाशक्ति राष्ट्र सोभियत संघको विघटनसँगै रुसमा खुला बजार अर्थतन्त्रको सुरुवात भएको अवसरलाई व्यावसायिक योजनाका रूपमा अगाडि बढाउँदै लामिछानेले सोही वर्ष ग्रोसरी पसल र क्याफे चलाए । क्याफेमा नेपालीहरूसँग मिलेर उनी मःम बेच्थे । तर, त्यसले अपेक्षाकृत नतिजा दिन सकेन । उनले कामसँगै पढाइ जारी राखे । सन् १९९२ मा सिभिल इन्जिनियरिङको औपचारिक पढाइ सके । ‘डिग्री लिएपछि थप जिम्मेवारी बोध गरें र नयाँ सम्भावनाका क्षेत्रको खोजीमा लागें । अब मसँग दुई विकल्प थिए, एउटा पढाइ सकिएकोले नेपाल फर्किने अनि अर्को, यतै व्यवसाय गर्ने । मैले दोस्रो विकल्प रोजें,’ व्यवसाय सुरुवात गर्दाका दिनहरू स्मरण गर्दै लामिछाने भन्छन्, ‘अवसरलाई आफ्नो हातमा लिएँ, व्यवसायमा सफलता पनि मिल्यो । त्यतिखेर सही निर्णय लिएको रहेछु भन्ने अहिले बोध भएको छ ।’ लामिछानेले रुसमै विद्युतीय उपकरण बिक्री गर्न सुरु गरे । कम्पनीको नाम थियो क्रिस्टल एलएलसी । त्यस कम्पनीले मस्कोमा सोनी, पानासोनिक, जेभीसी, क्यानन, निकोन र अन्य ब्राण्डका विद्युतीय सामानहरूको आधिकारिक बिक्रेताको काम गर्थ्यो । उनको कम्पनीले टीभी, कम्प्युटर, होम अप्लायन्स तथा म्युजिकल सामानहरू बिक्री गर्थ्यो । त्यो व्यापारसँगै लामिछानेको व्यावसायिक जीवनले फड्को मार्‍यो । त्यसपछि उनले व्यवसायमा पछाडि फर्किनु परेको छैन । ‘मलाई त्यो दृश्य अहिले पनि ताजै लाग्छ, हामी १० बजे स्टोर खोल्दा ग्राहकहरू अगाडि नै आएर सामानका लागि लाइन लागिसकेका हुन्थे । युक्रेन, जर्जिया, बेलारुस लगायतका देशहरूमा सामान निर्यात पनि गर्थ्यो,’ लामिछानेले विगत स्मरण गर्दै भने ।  विद्युतीय सामान बिक्रीले व्यावसायिक जग बसाले पनि जीवा लामिछानेलाई देश–विदेशमा परिचित गराउने व्यवसाय भने हस्पिटालिटी क्षेत्र बन्यो । उनले अहिले पाँच दर्जन बढी होटल तथा अपार्टमेन्टमा लगानी गरेर आफूलाई नेपाली डायस्पोराको एक सफल र अग्रणी पर्यटन व्यवसायीका रूपमा चिनाएका छन् । एउटा सामान्य किसान परिवारमा जन्मिएर स्थापित र जस्तोसुकै व्यवसायीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने छवि उनले निर्माण गरेका छन्।  मस्कोमा व्यवसाय गरिरहेका लामिछाने एकदिन जर्मनी पुगे । जर्मनीमा होटल व्यवसाय गरिरहेका कुमार पन्तसँग भेट भयो । कुमारले उनलाई होटलमा मिलेर काम गर्ने प्रस्ताव गरे । अरूको होटलमा काम गर्दै गरेर आफ्नै होटल खोलेका कुमार पन्तको सक्रियता र मिहिनेत देखेर जीवाको मन छोयो । र, उनीसँगै मिलेर होटलमा लगानी गर्ने प्रस्ताव स्वीकार गरे । उनी सन् २००० ताका सानिमा कम्पनीसँग जोडिसकेका थिए ।  सन् २०१२ कुमार पन्तसँग समन्वय गरेर जीवाले होटलमा लगानीको औपचारिक यात्रा तय गरे । दुवैजना मिलेर फ्र्यांकफर्टमा होस्टर हफ होटल सञ्चालनमा ल्याए । जुन जीवाको पहिलो होटल थियो । उनीहरूले दोस्रो होटल गोथे खोले । अहिले उनले एकल र संयुक्त लगानी गरेर ट्रिप इन होटलका चेनबाट गोथे, एभरेष्ट, स्काइलाइन लगायत चार दर्जन बढी होटल सञ्चालन गरिरहेका छन् । उनले जर्मनीका विभिन्न सहरमा ट्रिप इन चेनका होटलहरू विस्तार गर्दै हस्पिटालिटी क्षेत्रमा आफूलाई अब्बल नेतृत्वका रूपमा परिचित गराउँदै आएका छन् ।  सानिमा ग्रुपमा आवद्धता  लामिछाने सन् २००० ताका सानिमा ग्रुपसँग आवद्ध भए । सन् २००३ मा उनले कान्तिपुर टेलिभिजनमा लगानी गरे । त्यतिबेला उनी कान्तिपुर टिभीको प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । सानिमा ग्रुपमा संस्थागत लगानीकर्ताको रूपमा साझेदारी गरेका उनले सानीमा बैंकको अध्यक्षको जिम्मेवारी समाल्दै लामो समय सञ्चालक समितिको नेतृत्व गरे । उनले सानिमा ग्रुप अन्तर्गतका सानिमा बैंक, सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ, सानिमा जीआईसी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा मिडिल तमोर जलविद्युत, स्वेतगंगा हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविदुत आयोजना र तल्लो लिखु जलविद्युत आयोजना लगायत दर्जनौं कम्पनीमा लगानी गरेका छन् । लामिछानेले होटल रामाडा, मेडिकेयर हस्पिटलमा पनि लगानी गरेका छन् । उनले नेपालमा सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन् । उनी सानिमा बैंकका साथै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, हिमालयन पावर पाटर्नर लगायतमा केही कम्पनीको अध्यक्षको जिम्मेवारीसहित नेतृत्वदाही भूमिकामा देखिए पनि धेरै कम्पनीमा उनी लगानीकर्ताको भूमिकामा रहेको पाइन्छ । उनले विदेशमा लगानी गरेर प्राप्त गरेको प्रतिफल नेपालमा लगानी गर्दै देशको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा दिएका छन् । नेपाली डायस्पोरा एकीकृत गर्ने अभियन्ता जीवा लामिछानेले व्यवसायमा मात्रै व्यस्त भएनन्, उनी नेपाली डायस्पोरालाई एकीकृत गर्ने र उनीहरूलाई व्यवसायमा जोड्ने पुलका रूपमा पनि काम गरे । सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएन) को उनी सन् २०११ मा अध्यक्ष पनि बने । एनआरएनए स्थापना हुनुमा उपेन्द्र महतो, भीम उदास, राम थापा लगायत जीवा लामिछानेको अहम भूमिका छ । विश्वभरि छरिएका नेपालीहरूलाई संगठित बनाउन लामिछानेले ठूलो भूमिका खेले । अहिले यो संघ विश्वका ९० वटा राष्ट्रहरूमा फैलिएको छ । जुनसुकै देशमा लगानी विस्तार गरे पनि त्यहाँबाट आएको प्रतिफलले उनी नेपालमा लगानी गर्छन् । नेपाली डायस्पोरालाई नेपालमै लगानी गर्न उत्प्रेरणा जगाउँछन् । नेपाली डायस्पोरा र उनी आफैले पनि एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पूर्वाधार बैंक लगायतमा लगानी गरेका छन् । ‘अब नेपालीहरूले पनि विदेशी ठूल्ठूला कम्पनीहरू हाँक्न सक्ने क्षमता राख्छन्, रियल स्टेट, होटल सञ्चालन र आईटी कम्पनीमा लगानी गरेर राम्रो सम्भावनाको बाटो नेपालीले देखाइरहेका छन्,’ उनी भन्छन्, ‘नेपाली डायस्पोरा ठूल्ठूला काम गर्न सक्छ भन्ने प्रमाणित पनि भएको छ ।’ तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनै लामिछानेको सक्रियता र व्यावसायिक क्षमताको कदर गर्दै आर्थिक सल्लाहकार परिषद्को सदस्य बनाएका थिए भने पछि केपी शर्मा ओली प्रधानमन्त्री बन्दा पनि उनी सल्लाहकार परिषदको सदस्यमा नियुक्त भएका थिए ।  व्यवसायसँगै लामिछाने समाज सेवामा पनि सक्रिय छन् । समाज सेवाका लागि उनले आफ्नो बुवाआमाको नाममा खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान नामक सामाजिक संस्था सञ्चालन गरेर काम गर्दै आएका छन् । ‘सफल हुनका लागि इमानदारिता र लगनशीलता चाहिन्छ, व्यवसायमा पुँजीभन्दा पनि विश्वासको पुँजी आवश्यक हुन्छ, लगनशील भएर काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘नेपालमा पर्यटन, ऊर्जा, कृषि र र्आइटीमा अथाह सम्भावना छ, यो अवसरलाई हामीले क्यास गर्नुपर्छ।’ नेपालमा हिमाल धेरै रहेको तर हामी हामी परम्परागत पर्यटनमै अल्झिएको लामिछानेको बुझाइ छ । वाटर एडभेन्चर, स्नो एडभेन्चरलाई अगाडि बढाएर काम गर्न सकेमा पर्यटक पनि बढ्न सक्ने उनी बताउँछन् । नेपालमा डेटा सेन्टरको अपार सम्भावना रहेको बताउँदै सफ्टवेयर उत्पादन गरेर निर्यात गर्न सकेमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिने उनको तर्क छ । ‘रुचिलाई पहिचान गरेर त्यसलाई सम्भव तुल्याउन अगाडि बढ्नुपर्छ, इनोभेटिभ काम गर्नुपर्छ, त्यसले रोजगारी पनि सिर्जना गर्छ,’ उनले भने ।  साहित्य लेखन पनि लामिछानेको रुचिको विषय हो । अन्टार्कटिकासहित विश्वका सातैवटा महादेश र १३० भन्दा बढी देश घुमेका उनले ‘अक्षत अन्टार्कटिका’, ‘सरसर्ती संसार’ र ‘देश देशावर’सहित तीनवटा किताब लेखेर प्रकाशनमा ल्याएका छन् । यात्रा संस्मरणमा उनी उत्कृष्ट लेखकको रूपमा दरिएका छन् । व्यवसाय र साहित्यमा गरेको योगदानका कदर गर्दै नेपाल सरकारले उनलाई कीर्तिमय राष्ट्रदीप र प्रवल जनसेवाश्री पदकबाट सम्मानित पनि गरेको छ । अरूको अहित हुने, अरूलाई दुःखी बनाउने कामबाट जोगिन सधैं सचेत हुँदै निष्ठापूर्वक व्यवसाय गर्ने लामिछानेको जीवनी वास्तवमा नै धेरैका लागि अनुकरणीय छ । जीवाकै शब्दहरू : म पढाइले सिभिल इञ्जिनियर हुँ । ३५ वर्षदेखि व्यवसायमा छु । मस्कोमा हुँदा विद्युतीय सामानको व्यापारमा थियौं । अहिले नेपालमा विगत २५ वर्षदेखि सानिमा ग्रुपमार्फत व्यवसाय गरिरहेको छु । विदेशमा पनि पर्यटन क्षेत्रमा आवद्ध छु । म पहिलो पुस्ताको डायस्पोरा हो । हामीले सपना देख्यौं भने पनि नेपालकै देख्छौं । हामी जति पनि लगानी गरे पनि नेपालमै गर्न चाहन्छौं । नेपालमा पर्यटन, कृषि, पूर्वाधार र जलविद्युतमा ठूलो सम्भावना छ । प्रतिफल पनि विदेशको तुलनामा राम्रो छ । म नेपालमा गरेको लगानीको प्रतिफलप्रति सन्तुष्ट छु । हाम्रो समुदायमा व्यवसायीलाई हेर्ने नजरिया बेग्लै छ, जुन दुर्भाग्य हो । विकसित मुलुक तथा खुला बजार अर्थतन्त्र भएका देशमा निजी क्षेत्रले ठूलो टेवा पुन्याएका छन्, रोजगारी सिर्जना गरेका छन् । निजी क्षेत्रलाई सरकारले हेर्ने नजर र दृष्टिकोण राम्रो छ । तर, नेपालमा निजी क्षेत्रले नाफा मात्रै खोज्छ भन्ने भाष्य सिर्जना गरिएको छ । राज्यको काम सहज नीति बनाउने र मनिटरिङ गर्ने हो। जति देशमा राम्रो विकास भएको छ, उनीहरूले खुला बजार अर्थतन्त्र अपनाएका छन् । राज्यको उपस्थिति चाहिन्छ । तर, निजी क्षेत्रलाई प्रमोट गरेर अगाडि बढ्‌यो भने त्यसको फाइदा जनता र सरकारले पनि पाउँछ । अहिले भारत तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्दैछ, त्यो निजी क्षेत्रको कारणले नै हो । व्यवसाय भावनाको आधारमा गरिँदैन । विदेशमा हुन सक्ने काम छि‌ट्टै हुन्छन् । तर, नेपालमा हुने काम गर्न पनि लामो समय लाग्छ । प्रशासनिक संयन्त्रमा ठूलो अवरोध सामना गर्नुपर्छ । हामीले गैरआवासीय नेपाली संघको अभियान सन् २००३ मा सुरू गरेका थियौं । अहिले विश्वभर नेपाली छन् । संख्यात्मकभन्दा पनि गुणात्मक रूपमा फैलिएको छ । यसलाई संगठित रूपले अगाडि बढाउन सकियो भने देशको लागि केही गर्न सकिन्छ । सामूहिक लगानीको अवधारणा अगाडि बढाइरहेका छौं । धेरै ग्रुप मिलेर सामूहिक लगानी गरेर काम पनि गरिरहेका छन्, यसमा मलाई संस्थापक भएको हिसाबले पनि गर्व छ । व्यवसायमा सफल हुनका लागि कुनै फर्मुला तथा मन्त्र हुँदैन, लगनशीलता, मिहिनेत तथा पारदर्शी भयो भने काम गर्न सकिन्छ । हामीले अहिले ट्रिप इन होटल मार्फत जर्मनी, बेल्जियम र स्विट्‌जरल्याण्डमा होटल सञ्चालन गरिरहेका छौं ।

उद्योगमा अग्रणी, १०० वर्षको विरासत

सय वर्ष पुरानो औद्योगिक विरासत । ३० हजार बढीलाई रोजगारी । राज्यलाई उच्च राजस्व । जुन क्षेत्रमा हात हालेको छ, त्यही क्षेत्रमा अग्रणी भूमिका । बलिलो विरासत, उच्च इमान । नेपालको ठूलो व्यावसायिक घराना गोल्छा ग्रुपको स्ट्रेन्थ हो यो । गोल्छा ग्रुपको नेतृत्व गरिरहेका शेखर गोल्छा भन्छन्, ‘हामीले जति उद्योग व्यवसाय गरेर रोजगारी सिर्जना गरेका छौं, त्यो अरूले गर्न सकेका छैनन्, देशको पहिलो औद्योगिक घरानाले जुन मर्यादा राखेर काम गरिरहेको छ, आजसम्म टिक्नुको मुख्य कारण यही नै हो ।’ हजुरबुबा रामलाल गोल्छादेखि बुबा हुलाशचन्द्र हुँदै शेखर गोल्छासम्म यो व्यावसायिक घरानाले देश विकासमा अग्रणी भूमिका खेलेको छ । देशमा औद्योगिक वातावरण सिर्जना गर्न, अरू उद्योगी व्यवसायीलाई व्यवसायमा आकर्षित गर्न र चुनौतीहरू पन्छाउँदै अवसरहरूको ढोका खोल्न गोल्छा समूहको ठूलो योगदान छ । त्यही कारणले पनि आज देशमा सबैभन्दा ठूलो र पुरानो औद्योगिक विरासत बोकर गोल्छा ग्रुप स्थापित व्यावसायिक घरानाका रूपमा चिनिएको छ । रामलाल गोल्छाले नेपालमै पहिलो पटक विसं १९९३ मा विराटनगर जुट मिल स्थापना गरेर औद्योगिक जगमात्रै बसालेनन्, देशमा औद्योगीकरणको सुरुवात नै गरे । यही उद्योगको स्थापनाले मोरङ–सुनसरी औद्योगिक करिडोरमा उद्योग स्थापनाको लहर चलेको थियो । र, त्यसले देशैभरि उद्योग विस्तारमा ठूलो टेवा पुर्‍यायो । रामलाल गोल्छाले बसालेको त्यो छाप शेखर गोल्छाको नेतृत्वसम्म आइपुग्दा पुरानै विरासत, अझ परिष्कृत भएर देशकै अग्रणी, स्थापित र मर्यादित व्यावसायिक घरानाका रूपमा आफूलाई चिनाएको छ ।  विराटनगर जुट मिलबाट सुरु भएको गोल्छा ग्रुपको व्यावसायिक यात्रा स्टिल फ्याक्ट्री, राइस मिल, कागज कारखाना, सुगर मिल्स र २०४५ सालमा हुलास मोटर्स स्थापना हुँदै २०५० सालपछि विद्युतीय सामग्रीमा केन्द्रित भयो । अहिले गोल्छा ग्रुपको नेतृत्व गरिरहेका शेखरको नेृत्वमा अटोमोबाइल्स, फिनटेक, स्टील, इलेक्ट्रोनिक, शिक्षा, वित्त, बीमा, पुनर्बीमा, सोलार ऊर्जा, मनोरञ्जन र भ्याक्सिन उत्पादनसम्म विस्तार भएको छ । विराटनगर जुटमिलबाट सुरु भएको गोल्छा ग्रुपको व्यावसायिक यात्रा स्टिल फ्याक्ट्री, राइस मिल, कागज कारखाना, सुगर मिल्स र २०४५ सालमा हुलास मोटर्स स्थापना हुँदै २०५० सालपछि विद्युतीय सामग्रीमा केन्द्रित भयो । अहिले गोल्छा ग्रुपको नेतृत्व गरिरहेका शेखरको नेतृत्वमा अटोमोबाइल्स, फिनटेक, स्टील, इलेक्ट्रोनिक, शिक्षा, वित्त, बीमा, पुनर्बीमा, सोलार ऊर्जा, मनोरञ्जन र भ्याक्सिन उत्पादनसम्म विस्तार भएको छ । मूलतः उद्योग व्यवसायमा जोड दिँदै आएको यस व्यावसायिक घरानाले पछिल्लो समय व्यापार र सेवा क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको छ । जसले देशको अर्थतन्त्रसँगै राजस्व र रोजगारी सिर्जनामा पनि ठूलो टेवा पुगेको छ ।  उत्पादनमा जोड, हजारौंलाई रोजगारी अहिले शेखर गोल्छाले आफ्नो नेतृत्वमा रहेको गोल्छा ग्रुपमार्फत उत्पादनमा जोड दिइरहेका छन् । उनकै नेतृत्वमा नेपालमा पहिलो पटक दुईपाँग्रे सवारीसाधन, बजाज ब्रान्डका मोटरसाइकल एसेम्बल उद्योग स्थापना भई २०७५ सालदेखि बजाजको व्यावसायिक उत्पादन सुरु भयो । त्यसपछि अहिले दर्जन बढी उद्योगले नेपालमै मोटरसाइकल एसेम्बल गर्दै आएका छन् । सुरुमा २४ करोड लगानीमा सुरु भएको एसेम्बल यात्रामा अहिले एक अर्ब बढी लगानी भइसकेको गोल्छाले जानकारी दिए ।  मुलुकमा भ्यालु एडिसन गर्नुपर्ने मान्यता राख्दै बजाजले पहिलो पटक दुईपाँग्रे सवारीसाधनको एसेम्बल गर्न सुरु गरेको गोल्छाको भनाइ छ । दुई सय बढी  इन्जिनियरहरू कार्यरत यो प्लान्टमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरेर मोटरसाइकल एसेम्बल गरिँदै आएको छ । गोल्छा ग्रुपले केटीएम मोटरसाइकलको पनि एसेम्बल गर्दै आएको छ । जहाँ ५० जना बढी इन्जिनियर कार्यरत छन् । बजाज कमर्सियल गाडीहरू पनि नेपालमै एसेम्बल भइरहेका छन् । जहाँ दैनिक एक सय गाडी उत्पादन हुने क्षमता छ । हुलास अटो क्राफ्ट मदर कम्पनीबाट मोटरसाइकलको एसेम्बल हुँदै आएको हो । यस कम्पनीले वार्षिक १२ अर्बसम्म सञ्चालन आम्दानी गरेको रेकर्ड छ । बजाजको सपोर्ट उद्योगहरू पनि सञ्चालन गर्ने तयारी भइरहेको गोल्छाले सुनाए । गोल्छा ग्रुपले मोटरसाइकलसँगै सामसङ टीभी र एयरकन्डिसनर पनि उत्पादन गर्दै आएको छ । जुन देशकै यस सेगमेन्टमा पहिलो उत्पादन उद्योग हो । ‘हामीले अहिले टेलिभिजन र एयरकन्डिसनर उत्पादन गरिरहेका छौं । अब बल्ब, वासिन मेसिन उत्पादन गर्ने तयारीमा छौं, हिमस्टार ब्राण्डबाट पनि नेपालमै भ्यालु एडिसन गर्ने काममा अगाडि बढाइरहेका छौं । विदुतीय उपकरणको उत्पादनको भविष्य उज्जवल छ । सबैले जीवनशैली सहज र सम्मानजनक बनाउन यी प्रडक्टहरूले ठूलो भूमिका खेलिरहेका छन्,’ गोल्छाले भने । गोल्छा ग्रुपले आधा दर्जन बढी ब्राण्डको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । गोल्छा ग्रुपको सर्भिस नेटवर्क नेपालभर ४४ भन्दा बढी स्थानमा छ । हामीले देशमा हरेक उद्योग स्थापना गरेर नयाँ ट्रेण्डसेट गर्ने काम गरेका छौं, त्यसपछि मात्रै अन्य व्यवसायी त्यो क्षेत्रमा आउँछन् । हामी स्थापित भइसकेपछि अन्य उद्योग आउँछन्, त्यो हाम्रा लागि गर्वको विषय हो । हामीले चुनौती सामना गरेपछि अन्यलाई पनि आउन सहज हुन्छ, हामी अहिले जुन क्षेत्रमा छौं, त्यसमा अग्रणी छौं । गोल्छा ग्रुपले काभ्रेमा पोल्ट्री उद्योग पनि सञ्चालन गरिरहेको छ । गोल्छा ग्रुप र भारतको हेस्टर बायोसाइन्सेज लिमिटेडको संयुक्त लगानीमा काभ्रेमा बायोसाइन्सेज नेपालले बर्डफ्लूको भ्याक्सिन उत्पादन गरिरहेको छ । उच्च प्रविधिको प्रयोग गरेर कुखुरा तथा पशु चौपायालाई आवश्यक पर्ने भ्याक्सिन कम्पनीले उत्पादन गर्दै आएको छ ।  अहिले यो उद्योगबाट उत्पादित भ्याक्सिनले नेपालको बजार मात्र लिएको छैन, निर्यात पनि गरिरहेको छ । गोल्छाका अनुसार यो उद्योगबाट उत्पादन भएको भ्याक्सिन १४/१५ वटा देशमा निर्यात भइरहेको छ । अहिले उत्पादनको ९० प्रतिशत विदेशमा निर्यात भइरहेको उनले जानकारी दिए । ‘नेपालले भ्याक्सिन पनि उत्पादन गर्न सक्छ भन्ने प्रमाणित गोल्छा ग्रुपले गरेको छ’, गोल्छाले भने, ‘यसले अन्य उद्योग पनि आउने बाटो खुला भएको छ, हामी जुनसुकै क्षेत्रमा पनि लिड गर्न चाहन्छौं । आगामी दिनमा क्षमता बढाएर उत्पादन गर्नेछौं ।’ शेखर गोल्छाले नेतृत्व गरेका कम्पनीहरूमा करिब ५ हजारले रोजगारी पाएको र गोल्छा परिवार सदस्यहरूले सम्हालेका गोल्छा औद्योगिक घरानाका सबै कम्पनीहरूमा ३० हजार बढीले रोजगारी पाएको उनको दाबी छ ।  गोल्छा ग्रुप सौर्य ऊर्जा उत्पादनमा पनि केन्द्रित छ । निकट भविष्यमै ३० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको र अहिले ५ मेगावाट सौर्य ऊर्जा उत्पादनको प्रक्रियामा रहेको गोल्छाले सुनाए । यस्तै, गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलाश चन्द एन्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरी नेपालमा सर्वो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट निर्माण गरिरहेको छ । गोल्छाका अनुसार यही २०२६ जनवरीदेखि सो उद्योग सञ्चालनमा आउँदैछ ।  दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गरेर यो उद्योग खोलेका हुन् । ‘भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राले नेपालमा थप लगानी भित्राउन सक्ने सम्भावना खुला भएको छ, यो सहकार्य नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा हो । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं,’ गोल्छाले भने । उनका अनुसार गोल्छा ग्रुपले यो उद्योगमा ३० करोड रुपैयाँ लगानी गरेको छ भने डेढ सय जनाले रोजगारी पाउनेछन् ।  मैले महासंघमा भिजन पेपर तयार गरें । मेरो नेतृत्वमा महासंघको प्रशासनलाई सुधार गरें, घाटामा रहेको महासंघलाई नाफामा ल्याएँ, महासंघको वित्तीय प्रणालीमा पारदर्शिता ल्याउन ठूलो भूमिका खेलें, जसको नतिजा आजसम्म देखिएको छ । सेवा क्षेत्रमा पनि अग्रणी गोल्छा ग्रुप बीमा, पुनर्बीमा, शिक्षा, प्रविधि र मनोरञ्जन क्षेत्रमा पनि फैलिएको छ । यो ग्रुपको लगानी हिमालयन लाइफ इन्स्योरेन्स, निजी क्षेत्रकै पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र शिक्षामा इम्बार्क कलेजमा रहेको छ । उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेर गोल्छा ग्रुपले शिक्षामा लगानी गरेको हो । गोल्छा ग्रुपले हालसालै प्रदर्शनमा आएको परान सिनेमामा लगानी गरेर मनोरञ्जन क्षेत्रमा पनि पाइला चालेको छ । जुन नेपाली उद्योगीले निर्माण गरेको पहिलो चलचित्र हो । गोल्छा त्यसमा सफल पनि भए । हालसम्म यो सिनेमाले साढे १७ करोड कमाइसकेको छ ।  ‘यो सिनेमाले मलाई ऊर्जा मिलेको छ, अब बाइस्कोप सिनेमाले वार्षिक २/३ वटा सिनेमा निर्माण गर्छ । हामी फिल्मको गुणस्तर र प्रतिष्ठामा कुनै सम्झौता गर्दैनौं, यो सिनेमाको व्यापारले अन्य व्यवसायीलाई पनि सिनेमा निर्माणमा आकर्षित गर्न सक्छ,’ गोल्छाले भने ।  उनले देशमा हरेक उद्योग स्थापना गरेर ट्रेण्डसेट गर्ने गरेको बताए । गोल्छाले भने, ‘हामीले देशमा हरेक उद्योग स्थापना गरेर नयाँ ट्रेण्डसेट गर्ने काम गरेका छौं, त्यसपछि मात्रै अन्य व्यवसायी त्यो क्षेत्रमा आउँछन् । हामी स्थापित भइसकेपछि अन्य उद्योग आउँछन् । त्यो हाम्रा लागि गर्वको विषय हो, हामीले चुनौती सामना गरेपछि अन्यलाई पनि आउन सहज हुन्छ, हामी अहिले जुन क्षेत्रमा छौं, त्यसमा अग्रणी छौं ।’ सरकारले लागत घटाउने नीतिगत सहजता गरेमा देशमा लगानीमैत्री वातावरणको सिर्जना हुने गोल्छाको भनाइ छ । ‘नेपालमा सम्भावना धेरै छन्, राज्यले सुरक्षाको प्रत्याभूति गरायो भने र राजनीतिक स्थिरता भयो भने धेरै काम गर्न सकिन्छ । पर्यटनमा ठूलो सम्भावना छ, लगानीकर्ता पनि नयाँ क्षेत्रको खोजीमा छन्, लगानीका व्यवसायी लागि तयार छन् । तर, सरकारले वातावरण बनाउन आवश्यक छ,’ उनले भने ।  उद्योगी व्यवसायीका नेता उद्योगी शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पनि गरेका छन् । उनी २०७७ सालमा महासंघको अध्यक्ष बनेका थिए । कोरोनाको सकस समयमा पनि शेखरले महासंघमा उत्कृष्ट काम गरेको दाबी गरे।  उनले महासंघको नेतृत्व गर्दै गर्दा एक सय बिलियनको अर्थतन्त्र बनाउने भिजन पेपर सार्वजनिक गरेका थिए । जसलाई सरकारले पनि स्वीकार गरेको थियो ।  महासंघका तर्फबाट गर्ने लबिङ र सरकारसमक्ष निजी क्षेत्रका माग राख्ने विषयलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनी बताउँछन् । भिजन पेपर सार्वजनिक गरेपछि महासंघले गर्ने काम कारबाही परिवर्तन भएको उनको भनाइ छ ।  ‘मेरो नेतृत्वमा महासंघको प्रशासनलाई सुधार गरें, घाटामा रहेको महासंघलाई नाफामा ल्याएँ । महासंघको वित्तीय प्रणालीमा पारदर्शिता ल्याउन ठूलो भूमिका खेलें’ जसको नतिजा आजसम्म देखिएको छ,’ गोल्छाले भने ।  यस्तै, गोल्छाले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को पनि नेतृत्व गरेका थिए । नाडा अटो शो विकास गर्नमा आफू नेतृत्वको टिमले ठूलो भूमिका खेलेको उनको भनाइ छ । ‘नाडामा मैले नेतृत्व गरेपछि ठूलो फड्को मारेको थियो, नाडा अटो शो त्यसपछि मात्रै आयोजना भएको हो,’ उनले भने ।  समग्रमा गोल्छा ग्रुप र आफूले नेपालको निजी क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ । ‘देशको प्रथम उद्योगदेखि अहिलेसम्म हामीले सिर्जना गरेको रोजगारी, भुक्तानी गरेको राजस्व र अर्थतन्त्रमा पुर्‍याएको टेवालगायत कारणले गोल्छा ग्रुप अग्रणी औद्योगिक घरानाका रूपमा गर्व गर्छ,’ उनले भने, ‘यति लामो समयदेखि मर्यादित भएर काम गरेकै कारण हामी टिकिरहेका छौं, उपभोक्ताको  हामीलाई ठूलो विश्वास र माया छ, यसले थप नयाँ उद्योग र व्यवसाय विस्तार गर्ने ऊर्जा पनि मिल्छ ।’ गोल्छा ग्रुपको इतिहास शताब्दी पुरानो छ । मेरो हजुरबुबा नेपालको पहिलो उद्योगपतिको रूपमा परिचित हुनुहुन्थ्यो । र, त्यसै विरासतलाई निरन्तरता दिँदै हामीले सय वर्षदेखि उद्योग र व्यापारमा योगदान दिइरहेका छौं । यस अवधिमा हामीले ३० हजारभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरेका छौं । आज गोल्छा ग्रुप देशको उच्च राजस्व तिर्ने अग्रणी व्यावसायिक घरानामध्येमा पर्छ । अहिले हामी अटोमोबाइल, फिनटेक, इलेक्ट्रोनिक्स, माइक्रोफाइनान्स, औषधि उत्पादन, बजाज मोटरसाइकल, पोल्ट्री बायो–साइन्स, लुब्रिकेन्ट, शिक्षा, मनोरञ्जन र नवीकरणीय ऊर्जा लगायत क्षेत्रहरूमा फैलिएका छौं ।  नेपालमा बजाज मोटरसाइकलको एसेम्बल उद्योग हाम्रो महत्वपूर्ण माइलस्टोन हो । बजाजसँग सम्बन्धित सप्लाई–चेन विस्तार भइरहेको छ र आगामी दिनमा यो क्षेत्र नेपालको प्रमुख उत्पादन उद्योगको रूपमा स्थापित हुने विश्वास छ । इलेक्ट्रोनिक्स क्षेत्रमा पनि हामीले ठूलो योगदान गरेका छौं । सामसङ टेलिभिजन र एयरकन्डिसनर उत्पादन गरिरहेका छौं । अब बल्ब र वाशिङ मेसिन उत्पादन गर्ने प्रक्रियामा छौं । हिमस्टार ब्रान्डमार्फत नेपालमै भ्यालू एडिसन गर्ने काम भइरहेको छ । यी प्रविधिहरूले जीवन सहज बनाउन मात्र नभई मध्यवर्गीय नेपालीको आत्मसम्मान पनि बढाएका छन् ।  पोल्ट्री हेस्टर बायो–साइन्सबाट उत्पादन हुने भ्याक्सिन अहिले १४/१५ देशमा निर्यात भइरहेको छ । उत्पादनको ९० प्रतिशत हिस्सा विदेशमा पठाइन्छ । यसमा गेट्स फाउन्डेसन र डब्ल्यूएचओजस्ता प्रतिष्ठित संस्था ग्राहक छन् । यसले देखाउँछ कि नेपाल उच्चस्तरीय भ्याक्सिन उत्पादन गर्न सक्षम छ । लुब्रिकेन्ट उद्योगमा पनि हामीले भारतीय कम्पनीसँग सहकार्य गरी ‘सर्वो’ ब्रान्ड उद्योग सञ्चालन गर्ने तयारी गरिरहेका छौं । नवलपरासीमा निर्माण भइरहेको यो उद्योगमा हाम्रो ३० करोड लगानी र करिब डेढ सय कर्मचारी कार्यरत हुनेछन् । यो उद्योग पनि नेपालका लागि गर्वको विषय हो ।  देश चुनौतीपूर्ण अवस्थामा भए पनि हामी निजी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढिरहेका छौं । जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल केही कमजोर भएको छ । स्थिर र जिम्मेवार सरकार आयो भने लगानीमैत्री वातावरण निर्माण गर्न सकिन्छ । गोल्छा ग्रुपमा अहिले चार÷पाँच हजार कर्मचारी प्रत्यक्ष रूपमा कार्यरत छन् । जनताको विश्वास, सहकर्मीहरूको योगदान र माया नै हाम्रो सफलताको मुख्य आधार हो । हामी नयाँ भेन्चरहरू फिल्म मेकिङ, शिक्षा, सोलार इनर्जी जस्ता क्षेत्रमा लगानी विस्तार गर्दैछौं ।  सरकारले उत्पादन लागत घटाउने, लजिस्टिक्स सुधार तथा नीति नियममा सहजीकरण गर्न सकेमा देशमा लगानीमैत्री वातावरण बन्छ । नेपालमा सम्भावना धेरै छ । सरकारले सुरक्षा प्रत्याभूतिमात्रै गराए पनि धेरै व्यवसायीहरू लगानी गर्न तत्पर हुन्छन् । गोल्छा ग्रुप यति लामो समयसम्म मर्यादित भएर काम गरेकै कारण आज देशकै प्रतिष्ठित औद्योगिक घरानाको रूपमा स्थापित भएको छ । यो हामीलाई हाम्रा उपभोक्ताले गरेको विश्वास र माया हो । यसले हामीलाई थप लगानी गर्न उत्प्रेरणा पनि मिल्छ ।   

राजनीतिक संस्कार र विकास दुबैमा अब्बल

जसले मेयरका रूपमा उम्मेदवारी दिँदै गर्दा गरेका प्रतिवद्धता सार्वजनिक गरेको घोषणापत्र सतप्रतिशत पूरा गरे । ललितपुरलाई बस्नयोग्य एक सुन्दर सहरका रूपमा चिनाए । ललितपुरलाई पुनः सांस्कृतिक धरोहरका रूपमा मात्रै स्थापित गरेनन्, सेवाग्राहीले पाउने सेवालाई पनि पूर्ण डिजटलाइजेसन गरे, ती पात्र हुन्– ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ।  विसं २०१४ साल मंसिरमा जन्मिएका चिरीबाबु उमेरले ६८ वर्ष नाघे । दाह्री–कपाल सेतै भइसके । नेपालीको औसत आयु ७१ वर्ष हो । तर, नेपाली समाजमा ४० वर्ष कट्दाबित्तिकै उमेर भयो भनेर बुढ्यौलीको गफ लगाउने अभ्यास व्याप्त छ । तर, मेयर चिरीबाबु महर्जनमा थप जिम्मेवारी बोध हुँदैछ । थप काम गर्ने जाँगर पलाउँदैछ । उनले बुढ्यौलीको होइन, विकासको बहस फैलाउँदैछन् । समाजमा श्रमदानको संस्कार बसाल्दैछन्, ध्वस्त भएका सम्पदाहरू उठाउँदैछन् र ललितपुरलाई एउटा बस्नयोग्य सुन्दर सहर बनाउँदैछन् । र त अहिले ललितपुर महानगरको वाहवाही नगर्नेहरू कमै भेटिन्छन् । महानगरभित्र चिरीबाबुलाई नचिन्नेहरू नगन्य छन् ।  ललितपुर पुल्चोकको एउटा सामान्य किसान परिवारमा जन्मिएका चिरीबाबुले म महानगरको मेयर बन्छु भन्ने कल्पना पनि गरेका थिएनन् । तर, काम गर्ने कर्मवीरहरूलाई भगवानले पनि चिन्दा रहेछन् । समाजले पत्याउँदो रहेछ । राम्रो काम गर्नेको वाहवाही पनि हुँदो रहेछ । अहिले त्यही वाहवाहीका पात्र बनिरहेका छन् चिरीबाबु । सानैदेखि मिहिनेत र संघर्ष गर्न रुचाउने चिरीबाबुले चार वर्षको उमेरमै बुवा गुमाउनु पर्‍यो । त्यसपछि उनको परिवारमा बादल मडारियो । तीन दाजुभाइ र तीन दिदीबहिनीलाई पालनपोषण गर्ने जिम्मेवारी उनको आमामा थपियो । खानलाई समस्या नभए पनि उनको घरमा नगदको अभाव भने सधैं भइरहन्थ्यो । दिदी र दाजुहरू भने अनपढ थिए । चिरीबाबुमा भने जसरी पनि पढ्नुपर्छ भन्ने बुझाइ थियो । काम गरेर जनताको मन जित्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको छ । हामी थाक्नु हुँदैन । नसक्ने काम सक्छु भन्नु हुँदैन । तर, सक्ने काम छ भने तुरुन्तै गर्नुपर्छ, सेवाग्राही अर्को पटक नआउने गरी मैले काम गरिरहेको हुन्छु । हामीले भोलि आऊ पर्सि आऊ भनेर अल्झाउँदैनौं । ‘आमाले साह्रै दुःख गरेर हामीलाई हुर्काउनु भयो, ६ कक्षा पढ्दासम्म खुट्टामा जुत्ता/चप्पल परेन,’ ती पीडादायी र संघर्षशील दिनहरू स्मरण गर्दै चिरीबाबुले भने, ‘सानैदेखि पढाइमा अब्बल भएकै कारण आफ्नो खर्च आफै उठाउन सक्ने बनें ।’ ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन । तस्बिर : नरेश बोहोरा/विकासन्युज कक्षा ६ मा पढ्दा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगितामा चिरीबाबु दोस्रो भए । एक सय रुपैयाँ पुरस्कार पाए । त्यतिबेलाको एक सय रुपैयाँ अहिलेको एक लाख रुपैयाँ बराबर हो । त्यही पैसाले उनले जुत्ता किने । दुई जोर ड्रेस किने । त्यसपछि उनले थप मिहिनेत गर्दै गए । आफूसँगै भाइलाई पनि पढाउनुपर्छ भन्ने हिम्मत दिए । अहिले उनको भाइले विद्यावारिधि गरेका छन् । चिरीबाबु कक्षामा जहिल्यै प्रथम भए । उनले कक्षा १ देखि १० कक्षासम्म ललितपुरको त्रिपद्म माविमा पढे । स्नातकोत्तरसम्म उनले राम्रै अंकका साथ पास गरे । पढ्ने बेलादेखिको मिहिनेत गर्ने बानीले उनलाई जिन्दगीमै सफल बनायो ।  वडाध्यक्षमा ह्याट्रिक, दुई पटक मेयर चिरीबाबु महर्जन पढाइमात्रै होइन, समाज सेवामा पनि सानैदेखि सक्रिय थिए । शनिबार आउनेबित्तिकै टोल छिमेकका साथीभाइ बटुलेर कहिल्यै पाटीपौवा त कहिले बाटाघाटाहरू सरसफाइमा व्यस्त हुन्थे उनी । सरल र अनुशासित स्वभावका उनलाई समाजमा धरैले रुचाउँथे, प्रशंसा गर्थे । उनले पढाइ, काम र समाजसेवा सँगै अगाडि बढाए ।  विसं ३०३६ सालको जनमत संग्रहले चिरीबाबुमा ठूलो सामाजिक छाप परिसकेको थियो । २०३८ सालमा चुनाव भयो । उनले ललितपुरको वडा नम्बर ३ बाट वडाअध्यक्षमा जित हासिल गरे । त्यतिबेला देशभर पञ्चायतले जितेको थियो । बहुदल पराजयी भएको थियो । त्यो अवस्थामा उनले सहज जित निकालेका थिए ।  ‘पुल्चोक पुस्तकालय स्थापना गरें, जुन अहिले पनि सञ्चालनमा छ । टोलटोलमा फ्री क्लिनिक स्थापना गरेँ, यसले मलाई सहजै जित्न सहज भयो,’ उनले विगत स्मरण गर्दै भने । उनी वडाअध्यक्ष हुँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा परियोजनामा काम गर्थे । उनले कामसँगै वडाअध्यक्षको जिम्मेवारी पनि लिए । दुइटै काम अगाडि बढाए । म प्राविधिक रूपमा अल्पमतमा भए पनि सबैको मन जितें, पारदर्शी भएर काम गरें । फरक पार्टीका सदस्यहरूले पनि मलाई सहयोग गर्नुभयो, नियत सही राखेर काम गरियो भने र आर्थिक रूपमा पारदर्शी बनियो भने सबैले विश्वास गर्ने रहेछन् ।  आफू आर्थिक रूपमा पारदर्शी भएको चिरीबाबु दाबी गर्छन् । कुनै पनि कामको हिसाबकिताब चुस्तदुरुस्त बनाएर पारदर्शी ढंगले काम गर्ने भएकोले पनि सबैले आफूलाई रुचाउने गरेको उनको बुझाइ छ । उनी २०४३ र २०४९ मा पनि वडा नम्बर ३ बाटै अध्यक्षमा विजयी भएर जनप्रतिनिधिका रूपमा जितको ह्याट्रिक गरे । २०४६ सालमा बहुदललाई समर्थन गर्न उनले वडाध्यक्षबाट राजीनामा दिएका थिए ।  २०५४ को चुनावमा पनि उम्मेदवार बन्ने चिरीबाबुको चाहना थियो । तर, उनी त्यतिबेला पढ्नका लागि क्यानडामा थिए । तीन महिनाको असाइनमेन्ट उनले ७२ दिनमा सकाएर नेपाल फर्किएका थिए । तर, त्यतिबेलासम्म कांग्रेसले अर्कै उम्मेदवार उठाइसकेको थियो । उनले कांग्रेसको उम्मेदवार जिताउन भरपुर सहयोग गरे । तर, कांग्रेसको उम्मेदवार ललितपुरमा पराजित भए ।  चिरीबाबु ज्यापू समुदायको अध्यक्ष बने । तीन वर्षको अवधिमा ज्यापू समुदायको नेतृत्व गर्दै उनले सामाजिक काममा आफूलाई सक्रिय बनाउँदै गए । २०७४ को स्थानीय तहको चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बने । त्यतिबेला राष्ट्रिय राजनीतिमा उनको नाम सुन्ने कमै थिए । तर, ज्यापू समुदायमा उनी परिचित पात्र थिए । २०७४ मा ललितपुर महानगरपालिकाको मेयरमा ३२६ मतान्तरले उनी विजयी भए । उनी विजयी भएपनि कार्यपालिकामा नेपाली कांग्रेसका १२ जना र विपक्षीका २७ जना सदस्य थिए ।  ‘म प्राविधिक रूपमा अल्पमतमा भए पनि सबैको मन जितें, पारदर्शी भएर काम गरें । फरक पार्टीका सदस्यहरूले पनि मलाई सहयोग गर्नुभयो, नियत सही राखेर काम गरियो भने र आर्थिक रुपमा पारदर्शी बनियो भने सबैले विश्वास गर्ने रहेछन्,’ मेयर महर्जनले आफ्नो अनुभव सुनाउँदै भने ।  उनको बुझाइमा चुनावमा जित्नु ठूलो कुरा होइन, जितेको कुरा सस्टेन गर्न सक्नुपर्छ । ‘मैले कुनै पनि काम गर्दा श्वेतपत्र जारी गर्छु । योजना सम्पन्न भएपछि त्यसको स्टेटमेन्ट सार्वजनिक गर्छु, त्यसले विश्वासको वातावरण सिर्जना गर्छ । विपक्षी टिमका साथीहरू पनि खुसी हुनेगरी काम गरेको छु,’ उनले भने ।  उनी २०७९ मा पनि मेयरकै उम्मेदवार बने । दोस्रो पटक उनले विपक्षीलाई १८ हजार मतले हराए । ‘काम गरेपछि जितिँदो रहेछ भन्ने यो उदाहरण हो,’ उनले  भने, ‘मेरो कामले ललितपुरवासीले दोस्रो पटक ठूलो मतान्तरले जिताएका हुन् ।’ सम्पदाका संरक्षक, शैक्षिक हबका अभियन्ता ललितपुर महानगरपालिका सांस्कृतिक सहरका रूपमा पनि परिचित छ । २०७२ को भूकम्पले भने ललितपुरका अधिकांश सांस्कृतिक सम्पदाहरू ध्वस्त भए । यी संरचनाहरू पुनःनिर्माण हुन नसक्ने र भइहाले पनि पुरानो कलाशैलीमा बन्न नसक्ने चिन्तामा स्थानीयहरू थिए । तर, २०७४ मा मेयर बनेपछि चिरीबाबुले आफ्नो पहिलो प्राथमिकतामा सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणलाई राखे ।  भूकम्पले तहसनहस भएका ललितपुरका सम्पदाहरू अहिले पुरानै शैलीमा ठडिएका छन् । ती सम्पदाहरू थप आकर्षक बनेका छन् । भूकम्पले भत्किएका ललितपुरका मठमन्दिर, बिहार, बहाल, सत्तल, पाटी, पोखरी  निर्माण सम्पन्न भइसकेका छन् । मेयर महर्जनले निर्माण भएका सबै सम्पदा पुरातात्विक शैलीमै पुनःनिर्माण गरिएको बताए ।  मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् । स्मार्ट सिटीका आधारभूत विषयहरूलाई मध्यनजर गर्दै उनले काम गरिरहेका छन् । कुनै बेला फोहोर र खाल्डाखुल्डीले दिक्क बनाउने ललितपुरका सडकहरूले आजभोलि जो कोहीलाई पनि मोहित बनाउँछ । ललितपुरलाई स्मार्ट सिटी बनाउने योजनाका साथ महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेको छ ।  बालकुमारी मन्दिर, पाटनको देगु तलेजु, भीमकाय भीमसेन मन्दिर, बुङ्गमतीको रातो मच्छिन्द्रनाथको शिखर शैलीको मन्दिर, पिम्वाल जगमदु पोखरी, पाटी पुनःनिर्माण, सौगल महादेव मन्दिर, यशोधरा महाविहार करुणामय मन्दिर, पुल्चोक ढुङ्गेधारा मर्मत, जगनाथ मन्दिर, सिकुचा फल्चा, अशोक चैत्य, पशुपति मन्दिर, सैथु गणेश मन्दिर, हरिशङ्कर मन्दिर, तापाहिटी पाटी, चोछे लाछि पाटी, छ्याबहाल पाटी लगायतको पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भइसकेको उनले बताए । ललितपुर महानगरपालिकाले महानगरको काम व्यवस्थित र मर्यादित गर्ने उद्देश्यले ‘एक्सन टिम’ बनाएर काम गरेको थियो ।  ‘सम्पदाको क्षेत्रमा मभन्दा पछि आउने मेयरलाई काम छैन, सबै काम सम्पन्न भइसकेको छ । ३०औं वर्षदेखि रोकिएको मछिन्द्रनाथपछिको चर्चित जात्रा पाया जात्रा सुरु गरेका छौं । धेरै जात्राका लागि अक्षय कोष सुरु गरेका छौं,’ उनले भने ।  विकास नायकबाट सम्मानित भएपछि तस्बिर खिचाउँदै चिरीबाबु महर्जन । सम्पदाको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ललितपुर महानगरपालिका सम्मानित पनि भएको चिरीबाबुले सुनाए । अहिले ललितपुरले महानगरले एक विद्यालय–एक सम्पदा कार्यक्रम सुरु गरेको छ । महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।  उनले टिकाभैरवबाट सप्तपाताल पोखरीसम्म राजकुलो ल्याउने ऐतिहासिक प्रयास पनि गरेका छन् । जसको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।  सम्पदाको संरक्षण तथा पुनःनिर्माणसँगै मेयर महर्जनले ललितपुरलाई शैक्षिक हबका रूपमा पनि चिनाएका छन् । अहिले देशभरका शैक्षिक संस्थाहरूमध्ये ललितपुर महानगरपालिकाका बोर्डिङ तथा सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याइरहेका छन् । गत वर्षको एसईईमा ललितपुर महानगरका विद्यालयले ८७.६ प्रतिशत नतिजा ल्याए । ४८६ विद्यार्थीले एसईईमा ४ जीपीए ल्याए । ७५३ पालिकामध्ये शिक्षामा उत्कृष्ट नगरका रूपमा ललितपुर सम्मानित पनि भएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई शिक्षामा राम्रो काम गरेको भन्दै सम्मान पनि गरिसकेको छ ।  स्मार्ट सिटीका परिकल्पनाकार, आईटीमा अब्बलता मेयर चिरीबाबुले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् । स्मार्ट सिटीका आधारभूत विषयहरूलाई मध्यनजर गर्दै काम भइरहेको छ । कुनै बेला फोहोर र खाल्डाखुल्डीले दिक्क बनाउने ललितपुरका सडकहरूले आजभोलि जो कोहीलाई पनि मोहित बनाउँछ । ललितपुरलाई स्मार्ट सिटी बनाउने योजनाका साथ महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेको छ ।  कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले सवारीको चाप हेरेर बाटो बन्द गर्ने र खुलाउने काम स्वचालित रूपमा गर्न थालेपछि ट्राफिक प्रहरीलाई सडकमा उभिएर हात हल्लाउने, सिठी फुक्नुपर्ने बाध्यता हटेको छ । इन्टेलिजेन्ट ट्राफिक लाइटको सिस्टम नेपालमा पहिलोपटक नभएको प्रविधि हो ।  ‘ललितपुर महानगरलाई बस्नयोग्य स्मार्ट सिटीका रूपमा विकास गर्नेगरी काम गरिरहेको छु । स्मार्ट सिटीका राम्रा अवयवहरू पालना गरिरहेका छौं । अहिले सुन्दर, सफा र हराभरा महानगर देखेर सबैले प्रशंसा गर्नुहुन्छ, खुसी लाग्छ,’ मुस्कुराउँदै चिरीबाबुले भने ।  ललितपुरले मुलुकमै सबैभन्दा पहिलो एलएमसी एपबाट सेवा दिइरहेको छ । त्यसबाट निःशुल्क रूपमा २३ वटा काम हुन्छन् । कल गरेको ४ मिनेटमा पुगेर सेवा दिने गरेको उनको दाबी छ । ‘त्यो एपबाट प्रभावकारी काम भइरहेको छ, स्थानीयले फोन गरेको ४ मिनेटभित्रै पुगेर सेवा दिने गरेका छौं । कतै आगलागी भयो भने सानो दमकलबाट गल्लीगल्लीमा छिरेर आगो निभाउने काम गर्छौं, त्यसका लागि दमकलमा फर्मको व्यवस्था गरेका छौं । त्यसले जस्तोसुकै आगो पनि निभाउँछ,’ उनले भने ।  बाँयाबाट क्रमश : नेपाल राष्ट्र बैंकका डुपेटी गभर्नर बमबहादुर मिश्र, विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, एनआईसी एसियाका सीईओ सुजित शाक्य र नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्दराज पाण्डे । महानगरभित्र आगलागी भएमा आपतकालीन सूचना प्रणालीको विकास पनि महानगरले गरेको छ । कुनै ठाउँमा आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्‍याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने बित्तिकै स्विच सक्रिय भई साइरन बज्छ र मोबाइलमा सन्देश पठाउँछ । अहिले पाटन दरबार क्षेत्र र पाटन अस्पतालमा यो सेवा छ । प्रभावकारी भएमा ललितपुरको चोकचोकमा राख्ने योजना मेयर चिरीबाबुको छ । उनले सरकारले अपाङ्गताको क्षेत्रमा सबै नगरपालिकाभन्दा राम्रो काम गरेको भन्दै ललितपुरलाई पुरस्कृत गरेको जानकारी दिए । निःशुल्क स्वास्थ्य सेवा, महानगरमा ‘वान डोर पोलिसी’ ललितपुर महानगरपालिकाले स्वास्थ्यमा ठूलो लगानी गरेको छ । लगानी अनुसारको नतिजा पनि आइरहेको मेयर चिरीबाबुको दाबी छ । ‘हामीले जेष्ठ नागरिकलाई वर्षैपिच्छे निःशुल्क निमोनिया खोप दिँदै आएका छौं । घर–घरमा गएर महानगरको स्वास्थ्यकर्मीसहितको टिमले चेकजाँच गरिरहेका हुन्छन्, निरन्तर फलोअप पनि हुन्छ, महिलाहरूको स्तन र पाठेघरको क्यान्सर सेवा घर–घरमै पुगेर दिन्छौं,’ उनले भने । यस्तै, ललितपुर महानगरले स्वास्थ्य बीमाको सुरुवातसँगै पाटन अस्पतालमा एलो स्वास्थ्य केन्द्र स्थापना गरेर प्रत्येक दिन २६० जनालाई सेवा दिइरहेको छ । त्यसको क्षमता बढाउने र एक्स्टेन्सन खोल्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।  ‘स्वास्थ्य बीमाको पहिलो कन्ट्याक्ट पोइन्टको रूपमा पाटन अस्पतालसँग सहकार्य गरेर ‘एलो स्वास्थ्य केन्द्र’ खोलेका छौं । त्यहाँबाट हामीले इमरजेन्सीदेखि सबै सेवा प्रवाह गर्छौं । हामीलाई सामाजिक सेवामा राम्रो काम गरेको भनेर नगरपालिका संघले पुरस्कृतसमेत गरेको छ,’ उनले भने।    यस्तै, मेयर चिरीबाबुको अर्को ठूलो सफलता सुशासन र नागरिक सेवा प्रवाहमा देखिएको छ । सेवाग्राहीले महानगरपालिकाभित्रका कामहरूका लागि शाखा–शाखा धाउनु नपरोस् भनेर उनले ‘वान डोर पोलिसी’ लागू गरेका छन् । यसमा सेवाग्राहीले एउटै शाखामा गएर काम गर्न सक्छन् र कामको प्रगति कहाँ पुग्यो भन्ने जानकारी उनीहरूको मोबाइलमा मेसेजमार्फत पठाइन्छ । नगर प्रहरी पनि देशभरका पालिकाहरूले सिक्ने गरी उत्कृष्ट बनेको छ । उनले नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिनका लागि ब्लक बी भवन निर्माण गरेका छन् । जहाँबाट महानगरका सबै शाखाबाट हुने सेवाहरू प्रवाह हुनेछन् । ‘हामी थाक्नु हुँदैन । नसक्ने काम सक्छु भन्नु हुँदैन । तर, सक्ने काम छ भने तुरुन्तै गर्नुपर्छ, सेवाग्राही अर्को पटक नआउने गरी मैले काम गरिरहेको हुन्छु । हामीले भोलि आऊ पर्सि आऊ भनेर अल्झाउँदैनौं,’ उनले भने, ‘त्यसैले पनि नगरवासीको मन जितिएको छ ।’ प्रतिवद्धता सतप्रतिशत पूरा मेयर चिरीबाबु महर्जनले आफूलाई राजनीतिकर्मीभन्दा पनि जनताको सेवकका रूपमा चिनाउन रुचाउँछन् । दुई कार्यकालमा आफूले प्रतिवद्धता गरेका अधिकांश काम सम्पन्न गरेको उनको दाबी छ । ‘मैले घोषणापत्रमा राखेका अधिकांश काम पूरा गरेको छु, कतिपय काम सम्पन्न हुने चरणमा छन्,’ उनले भने । चिरीबाबुले प्रतिवद्धता गरेको १.४ किलोमिटरको फ्लाईओभर निर्माण गर्न नसकेकोमा भने उनी बेखुसी छन् । प्राविधिक अध्ययन प्रतिवदेनले फ्लाईओभर निर्माण गर्न सकिने सम्भावना कम देखाएपछि उनी केही हच्किएका छन् यद्यपि पछि हटेका छैनन् । उनले पहिलो कार्यकालमा उम्मेदवार बन्दा थापाथलीदेखि पुल्चोकसम्म १.४ किलोमिटर लामो फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका थिए ।  यस्तै, ललितपुरमा ६७ वटा ढुङ्गेधारा छन् । तीमध्ये ६५ प्रतिशत ढुङ्गेधारा अहिले सुकेका छन् । ढुङ्गेधारालाई पुरानै अवस्थामा फर्काउन उनले ठूलो प्रयास गरे पनि त्यो सम्भव नभएको उनले सुनाए ।  ‘घोषणा गरेको भन्दा धेरै काम गरेको छु, घोषणामा नराखेको  इन्टेलिजेन्ट ट्राफिक लाइट सुरु गरेका छौं । ब्लक बीको निर्माण पनि गरेका छौं, सेवाग्राहीका लागि वान डोर पोलिसी अपनाएका छौं । यी काम घोषणापत्रमा थिएनन् । तर, समय सापेक्ष सेवाअनुसार सुरु गर्‍यौं,’ उनले भने, ‘अहिले सबैले प्रशंसा गर्नुहुन्छ, काम गरियो भने साथ र विश्वास आर्जन गरिने रहेछ, खुसी लागेको छ ।’ विकास मिडियाले विकास नायकका रूपमा सम्मान गर्ने विषय आफ्नो जीवनको एउटा नयाँ अध्याय भएको चिरीबाबुको बुझाइ छ । ‘मैले गरेको कामलाई सूक्ष्म तरिकाले अध्ययन गरेर सम्मानित गरेकोमा खुसी छु । यसले थप जिम्मेवारी बोध भएको छ । यो सम्मानले मलाई थप जिम्मेवार र बढी काम गर्न प्रेरणा र ऊर्जा थप्नेछ ।’ चिरीबाबुकै शब्दहरू  : काम गरेर जनताको मन जित्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको छ । म पहिलो पटक वडाध्यक्ष हुँदा नगर पञ्चायतमा बजेट नै थिएन । तर, विभिन्न निकायसँग समन्वय गरेर बजेटको व्यवस्थापन गरें र काम गरेर देखाएँ । मेरो बुझाइमा चुनाव जित्नु मात्रै ठूलो कुरा होइन, जितेको विश्वासलाई दीर्घकालसम्म जोगाएर राख्न सक्नु नै वास्तविक जित हो । नियत सफा राखेर र पारदर्शी रूपमा काम गरियो भने जनताको विश्वास स्वतः जित्न सकिन्छ । यही सोंचका साथ मैले कुनै पनि योजना अघि बढाउँदा एक प्रकारको श्वेतपत्र सार्वजनिक गर्ने गर्छु । योजना सम्पन्न भएपछि त्यसको विस्तृत स्टेटमेन्ट सार्वजनिक गर्छु । यसले जनतामा विश्वासको वातावरण सिर्जना गर्छ ।  मेयर भएपछि मैले गरेको कामको मूल्यांकन जनताले मतमार्फत गरेका छन् । पहिलो पटक म केवल ३२६ मतको अन्तरले विजयी भएको थिएँ । त्यतिबेला ३९ सदस्यीय कार्यपालिकामा कांग्रेसका मात्र १२ जना सदस्य थिए । तर मेरो नियत सफा भएकाले सबैको सहयोग पाएँ । विपक्षी दलका जनप्रतिनिधिहरू समेत मप्रति सन्तुष्ट र सहयोगी बने । पहिलो कार्यकालमा धेरैले मेरो काम मन पराए । त्यसकै परिणामस्वरूप दोस्रो पटक मैले विपक्षीलाई १८ हजार मतको फराकिलो अन्तरले पराजित गरें । काम गरेपछि जितिँदो रहेछ भन्ने यसको स्पष्ट उदाहरण हो । ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सम्पदा, वातावरण र सूचना प्रविधिमा उल्लेखनीय काम गरेका छौं ।  निःशुल्क स्वास्थ्य जाँच गरेर घरघरमा सेवा दिइरहेका छौं । विभिन्न रोगको निःशुल्क उपचार गराइरहेका छौं । यसले नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । वृद्धवृद्धालाई निःशुल्क निमोनिया खोप उपलब्ध गराइरहेका छौं । सफलताको मूल आधार भनेको थाक्नु नहुने र नसकिने काम सक्छु भनेर भ्रम नछर्नु हो । तर सकिने काम छ भने ढिलाइ नगरी तुरुन्तै गर्नुपर्छ । म सेवाग्राहीलाई भोलि आऊ, पर्सि आऊ भनेर अल्झाउने काम गर्दिनँ । नसकिने काम भए स्पष्ट कारणसहित जानकारी दिन्छु । आर्थिक रूपमा पारदर्शी भइयो र नियत ठीक राखियो भने सबैको विश्वास जित्न सकिन्छ भन्ने मेरो दृढ विश्वास हो । म आफूलाई राजनीतिज्ञभन्दा जनताको सेवक मान्छु । जनप्रतिनिधिको प्रमुख दायित्व भनेकै सेवाग्राहीको हरेक काममा सहजीकरण गर्नु हो । घोषणापत्रमा उल्लेख गरेका अधिकांश प्रतिवद्धता पूरा भइसकेका छन् । तर ४.१ किलोमिटरको फ्लाइओभर निर्माण भने हुन सकेको छैन । त्यसको प्राविधिक प्रतिवेदन सन्तोषजनक नभएको, लागत महँगो रहेको र ६ वटा घर प्रभावित हुने देखिएकाले कार्यान्वयन हुन सकेन । यद्यपि, यो योजना अझै पनि मेरो प्राथमिकतामै छ । विपद् न्यूनीकरणमा पनि हामी प्रभावकारी रूपमा अघि बढिरहेका छौं ।  ‘वान डोर पोलिसी’ लागू गरेर सेवाग्राहीलाई एउटै शाखाबाट सम्पूर्ण सेवा दिने व्यवस्था गरिएको छ । सेवाग्राहीको काम कुन चरणमा पुगेको छ भन्ने जानकारी मोबाइलमै सन्देशमार्फत उपलब्ध गराइन्छ । अब शाखा–शाखा धाउनु पर्ने झन्झट अन्त्य भएको छ । मेरो जीवनमा विकास मिडियाको विकास नायकको रूपमा सम्मान एउटा नयाँ अध्यायजस्तै हो । मैले गरेको कामलाई सूक्ष्म रूपमा अध्ययन गरेर मूल्यांकन गर्दै सम्मानित गरिएकोमा खुसी छु । मेरो नेतृत्वमा महानगरले गरेका कामहरूको कदर हुनु भनेको थप जिम्मेवारी बोध हुनु हो । यो सम्मानले मलाई अझ जिम्मेवार बन्न, अझ धेरै काम गर्न र जनताको सेवामा थप ऊर्जा र प्रेरणा दिएको छ ।

कर्म र फलको बेजोड नजिर

‘देश बनेन, केही विकास भएन भन्नेहरूलाई म धुलिखेल अस्पतालमा निम्तो गर्छु’ अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक  प्रा. डा. रामकण्ठ माकजु भन्छन् । उनको भनाइ र गराई ठ्याक्कै मिल्छ पनि । स्वास्थ्य उपचार गर्न पैसा नहुनेलाई निःशुल्क उपचार । उपचार गर्न अस्पतालसम्म आउन नसक्नेलाई घर नजिकै सेवा । अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुर लगायत सुविधा सम्पन्न देशमा हुने उपचार धुलिखेल अस्पतालमै ।  धुलिखेल अस्पताल आज नेपालको स्वास्थ्य क्षेत्र विकासको सर्वोत्कृष्ट उदाहरणको रूपमा परिचित छ । भू–बनोट र प्राप्तिका आधारमा बनेको फरक–फरक भवनका बीच फैलिएको विशाल धुलिखेल अस्पताल जहाँ आज अत्याधुनिक सर्जरी, गम्भीर रोगहरूको उपचार, अनुसन्धान र उत्कृष्ट मेडिकल शिक्षाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।  यो त्यही ठाउँ हो जहाँ तीन दशकअघि लासहरू गाडिन्थ्यो । धुलिखेलवासीको फोहोर फाल्ने ठाउँ थियो । त्यही फोहोर फाल्ने र लासहरू गाड्ने ठाउँलाई डा. श्रेष्ठले मान्छेलाई नयाँ जीवन दिने स्थलका रूपमा रूपान्तरण गरे । अस्पतालको संरचना र वातावरण रिसोर्टको जस्तै छ । एउटै बिरामी अर्को अस्पतालमा ७ दिनमा निको हुन्छ भने यस अस्पतालमा ५ दिनमै निको होला जस्तो प्रकृति र वातावरण । र, आज देश–विदेशमा धुलिखेल अस्पतालको सर्वसुलभ र गुणस्तरीय सेवाले चर्चा पाएको छ ।  गरिबलाई आधारभूत मात्र होइन, उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने उदाहरण यहीँबाट संसारलाई देखाएका छौं । धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धानका केन्द्रको रूपमा उभ्याएका छौं ।  अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुरजस्ता सुविधासम्पन्न देशमा पाइने उपचार धुलिखेलमै सम्भव बनाउने पात्र तिनै डा. श्रेष्ठ हुन् । उनी अहिले गर्वका साथ भन्छन्, ‘मेरो सोचले काम ग¥यो, टिमको कडा मिहिनेतले साथ दियो, स्थानीयवासी, सरकार र दातृ निकायहरूको सहयोगले धुलिखेल अस्पताल एउटा सुविधा सम्पन्न, नमुना र सबैको पहुँचयोग्य स्वास्थ्य संस्थाको रूपमा विकास भयो ।’ आज धुलिखेल अस्पताल एउटा अस्पताल मात्रै होइन, यो स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको त्रिवेणीका रूपमा स्थापित छ । दैनिक १७००–२००० बिरामी ओपीडीको सेवा लिन्छन् । ४७५ बेड क्षमताको यस अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामी पनि लगभग भरिभराउ नै हुने गर्दछन् । दैनिक दर्जनौं अत्याधुनिक सर्जरीहरू हुन्छन् । नेपालमै पहिलोपटक नर्सिङ फेलोसिपदेखि विभिन्न मेडिकल फेलोसिप कार्यक्रम सञ्चालन भइरहेका छन् । जहाँ २० भन्दा बढी फेलोजले नेपाली भूमिमा नै विशेषज्ञता हासिल गरिसकेका छन् । सयौं नयाँ चिकित्सक जन्मिएका छन् । विदेशमा मात्र सम्भव हुने उच्चस्तरीय उपचार र अध्ययन अहिले धुलिखेलमै सम्भव छ र यसले देशभर चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ । धुलिखेल अस्पतालभित्र पैसा नभएका बिरामीले उपचार पाउँदैनन् भन्ने कुरा कल्पना नगरे पनि हुन्छ । ८०० रुपैयाँ शुल्कमा बिरामीले चिकित्सकको परामर्श, खाना, ब्रेकफास्ट र नर्सिङ सेवा पाउँछन् । डा. श्रेष्ठ भन्छन्, ‘गरिबीकै कारण उपचार रोकिनु हुँदैन । यो अस्पताल गरिबका लागि हो, स्वास्थ्य उपचार धनी र गरिबका लागि फरक हुनु हुँदैन, सबैका लागि समान सुविधाको उपचार हुनुपर्छ, त्यसको थालनी हामीले गर्‍यौं ।’ कुराभन्दा कामलाई प्राथमिकता डा. श्रेष्ठ धेरै कुरा गर्न रुचाउँदैनन्, आफूलाई फ्रन्टलाइनमा देखाउन चाहँदैनन् । तर, काममा विश्वास गर्छन् । उनको त्यही मिहिनेतले आज धुलिखेल अस्पताल एक अस्पतालमामात्रै सीमित छैन, एक सामूहिक ज्ञानको थलो बनेको छ । उनलाई भेट्न आउने अधिकांशको सुरुवाती प्रश्न हुन्छ, ‘कार्यकक्षमा कार्पेट किन नराखेको ?’ त्यो प्रश्नको जवाफमा उनी भन्छन्, ‘मेरो कोठामा कार्पेट राखेपछि बिरामी यता आइहाल्छन् नि, मैले मभन्दा बढी प्राथमिकता मेरो बिरामीलाई राख्छु ।’ उनी प्रतिप्रश्न गर्छन्, ‘हाम्रो प्राथमिकता बिरामीको उपचार हो कि आफ्नो सेवा सुविधा ?’ डा.श्रेष्ठ सम्पन्न भनेको सोंचमा हुनुपर्ने धारणा राख्छन् । यही मनस्थिति लिएर उनी धुलिखेलका लागि मात्र होइन, देशकै लागि एउटा नमुना अस्पताल बनाउनुपर्छ भन्ने धारणा बोकेर अगाडि बढे । तीन दशकअघि यहाँ न चिकित्सक थिए, न कुनै स्वास्थ्य संरचना र पूर्वाधार । उनले आफू जन्मेकै ठाउँमा देखेको स्वास्थ्य समस्यालाई मनन गरे र एउटा गतिलो स्वास्थ्य संस्था खोल्नुपर्छ भनेर विसं २०५३ सालमा यो अस्पतालको सुरुवात गरे । सम्मानपत्र ग्रहण गर्दै डा. रामकण्ठ मकाजु श्रेष्ठ । धुलिखेलवासीले उनलाई विश्वास गरे, अस्पताल खोल्न स्थान दिए, साथ दिए । सकेसम्मको सहयोग गरे । र, धुलिखेल अस्पतालको सेवा प्रारम्भ भयो । उनी अस्पताल स्थापनाका दिन स्मरण गर्दै भन्छन्, ‘समुदायले नै इच्छाएको ठाउँमा अस्पताल बनाइएको हो । समुदायको सदासयताले धुलिखेल अस्पताल यो चरणसम्म आइपुग्यो, नेपाल बाहिरको मान्छेले पनि यसको उद्देश्य देखेर सहयोग गरे । पछि सरकारले पनि साथ दियो । आज गौरव गर्नलायक गैरनाफामूलक सामुदायिक अस्पतालका रूपमा चिनाउन सफल भएका छौं ।’ समुदायले गरेको भरोसा, सरकारले दिएको विश्वास र सहयोगी हातहरुको ऊर्जाले यो संस्थालाई निरन्तर उकास्दै लग्यो । आज धुलिखेल अस्पतालसँग १५ सयभन्दा बढी जनशक्ति छन् । ३०० भन्दा बढी चिकित्सक छन् । १८ वटा आउटरिच सेन्टर छन् । गरिबले सहज र गुणस्तरीय स्वास्थ्य सवा पाएका छन् । दर्जनौं देशहरूबाट विद्यार्थी पढ्न आउँछन् ।  डा. श्रेष्ठको नेतृत्वमा एउटा मौलिक सोच विस्तारै संस्थागत रूपमा परिणत हुँदै गयो । ‘धेरै साथीहरू जोडिए, सुरुवाती चरणदेखि जोडिएका साथीहरू अहिलेसम्म कार्यरत छन् । म एक्लैले यति विशाल अस्पताल सम्भव थिएन । सोच मेरो हो, मिहिनेत मेरो टिमको हो, यो सफलताको श्रेय मेरो टिम, समुदाय, सरकार र विदेशी दातृ निकायलाई जान्छ,’ उनले भने ।  उनी आफ्नो टिमले यो संस्थाबाट के पाउँछु भन्दा पनि मैले यो संस्थाका लागि के दिन सक्छु भनेर काम गरेकै कारण आज एक सफल स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको सुनाउँछन् । धुलिखेल अस्पताल डाक्टर, नर्ससहित १५ सयभन्दा बढी कर्मचारी, विभिन्न देशबाट विद्यार्थी र दर्जनौं विज्ञहरूको साझा थलो बनेको छ । लाखौं मानिस धुलिखेल अस्पतालको सेवाबाट लाभान्वित भएका छन् । धुलिखेल अस्पतालले काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेर मेडिकल शिक्षा पनि दिइरहेका छ । जहाँ अमेरिका, जापान, नर्वे, अष्ट्रेलिया, अष्ट्रिया र कोरिया लगायत विभिन्न देशबाट मेडिकल शिक्षा पढ्न आउने विद्यार्थीको संख्या बढ्दो छ । अहिले विभिन्न देशबाट आएका २०० जना विद्यार्थी मेडिकल शिक्षा अध्ययन गरिरहेका छन् ।  अहिले धुलिखेल अस्पताल हजारौं बिरामीको जीवन बचाउने केन्द्रमात्र होइन, सयौं स्वास्थ्यकर्मी उत्पादन गर्ने शैक्षिक थलो पनि बनेको छ । जहाँबाट सयाैं विद्यार्थी डाक्टर बनिसकेका छन् ‘सुरुमा कति जनालाई उपचार गरियो भनेर गणना गरिन्थ्यो, अहिले त गणना गर्न पनि छोडियो,’ डा. श्रेष्ठ खुसीका साथ भन्छन्, ‘लाखौं मानिस यस संस्थाबाट लाभान्वित भएका छन्, काठमाडौंका महँगा अस्पतालबाट पनि बिरामी रिफर भएर आउँछन्, स्वास्थ्यकर्मीको पनि रोजाइको संस्था धुलिखेल बनेको छ ।’ घरमै सेवा, १८ ठाउँमा आउटरिच सेन्टर धुलिखेल अस्पतालले सस्तो, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवामात्रै दिइरहेको छैन, अस्पतालसम्म आउन नसक्ने बिरामीहरूको नजिकै पुगर पनि सेवा दिइरहेको छ । अहिले अस्पतालले देशका विभिन्न १८ वटा ठाउँमा आउटरिच सेन्टर (हेल्थ सेन्टर) स्थापना गरेको छ ।  अहिले काभ्रेको बलुवा, दाप्चे, बोडे, कात्तिके देउराली, सलम्बु, धुनेखर्क, धादिङको छत्रेदेउराली, सिन्धुपाल्चोकको मानेखर्क, हिन्दी, दोप्रु, बाहुनीपाटी, दोलखाको किर्नेटार, गौरी शंकर, डुम्जा हेल्थ सेन्टर, सोलुखुम्बुको खारीखोला, पर्वतको फलेवास, नुवाकोटको थाङसिङ, सर्लाहीको बलेरा हेल्थ सेन्टर र पत्तर हेल्थ सेन्टर सञ्चालनमा छन् । दोलखाको जिरीमा अस्पताल नै सञ्चालनमा छ ।  ‘अस्पतालमा आउन नसक्ने बिरामीकहाँ हामी नै पुग्नुपर्छ भन्ने मान्यताका साथ हामीले विभिन्न ठाउँमा आउटरिच सेन्टर स्थापना गरेका छौं । त्यहाँ नर्स, चिकित्सकहरू पनि कार्यरत छन्, आउटरिच सेन्टरहरूले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा राम्रो प्रभाव पारेका छन्,’ डा. श्रेष्ठले भने ।  उनका अनुसार आउटरिच सेन्टरमार्फत गाउँगाउँमा २४ घण्टा सेवा दिने काम भइरहेको छ । ‘पहिले दुई दिन हिँडेर मात्र पुगिने ठाउँमा हामीले आउटरिच सेन्टर स्थापना गरेर सहज स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं, यसले सकारात्मक प्रभाव परेको छ,’ उनले खुसीका साथ भने, ‘३०० बढी चिकित्सक छन्, १५ सय बढीले रोजगारी पाएका छन् ।’ म त्यहाँ उभिन्छु, जहाँ धेरैले मेरो उभ्याईको अनुभूति गरून् । म मेरै देशमा उभिन चाहन्थें । विदेशमा वर्षौं बिताएपछि म जन्मिएकै ठाउँमा फर्किएँ, अहिले जति खुसी छु, म विदेशमा जति सेवा सुविधा र पैसा भएको भए पनि यति खुसी हुन्थिनँ । डा. श्रेष्ठले धुलिखेल अस्पतालमा काम गर्ने नर्सको तलब न्यूनतम ४० हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म रहेको जानकारी दिए । उनी भन्छन्, ‘यहाँ भुइँ पुछ्ने मान्छेहरूको छोराछोरी अहिले यहीँ चिकित्सक बनेका छन् । म त्यसमा खुसी छु, तपाईंले समाजमा छोडेको र दिएको कुरा महत्वपूर्ण हो ।’ जहाँ आफू उभिइन्छ, त्यहाँ आफू उभिएको महसुस अरूले गर्नेगरी काम गर्नुपर्ने धारणा डा. श्रेष्ठको छ । ‘मान्छेको उद्देश्य पवित्र भयो भने सहयोगी हातहरू आफै आउँछन् । मलाई धुलिखेलवासीले सहयोग गरे, विदेशमा पढ्दाका साथी र शिक्षकहरूले सहयोग गरे र सरकारले पनि सहयोग गर्‍यो, मैले सबैको विश्वास कायम राख्दै काम गरें,’ उनी भन्छन्, ‘इमानदारिता, निष्पक्षता र पारदर्शी भयो भने सफल भइन्छ ।’ धुलिखेल अस्पताल सबै कर्मचारीको स्वास्थ्य बीमा गर्ने पहिलो स्वास्थ्य संस्थासमेत हो । जुन अस्पतालको भान्सामा विगत ३० वर्षदेखि बिरामी, गाडी चालक र अन्य स्वास्थ्यकर्मीदेखि अस्पतालका लिडर डा. श्रेष्ठ सँगै खाना खान्छन् । सबैको एउटै भान्सा छ । उनका अनुसार धुलिखेल अस्पतालले आफ्ना कर्मचारीका छोराछोरीको लागि भनेर विद्यालय पनि खोलेको छ। अहिले धुलिखेल अस्पतालमा नहुने कुनै उपचार छैन । अस्पतालमा ओपीडी, इमर्जेन्सी सेवासँगै प्रसूति तथा मातृ–शिशु स्वास्थ्य, कार्डियोलोजी, मष्तिस्कघात, सर्जरी, हड्डी रोग, क्यान्सर स्क्रिनिङ, स्पाइन सर्जरी, हेयर सर्जरी, डायलाइसिस, रेडियोलोजी, डेन्टल, आँखासम्बन्धी उपचारलगायत लगभग सबै प्रमुख सेवा प्रदान गरिँदै आएको छ । अहिले अस्पतालले १०० शैया क्षमताको ट्रमा सेन्टर निर्माण गरिरहेको छ । जहाँ काभ्रे, सिन्धुपाल्चोक, दोलखासहित राजधानीदेखि पूर्वी क्षेत्रमा हुने सडक दुर्घटना, आकस्मिक चोटपटकका समस्याहरूको समयमै उपचार हुने विश्वास छ । अहिले पनि अस्पतालमा विभिन्न ठाउँबाट रिफर भएर भएर आउने एम्बुलेन्स ट्र्याकिङ गर्ने प्रणाली अस्पतालले विकास गरेको छ । यसले दुर्घट्नास्थलमा छिटोभन्दा छिटो एम्बुलेन्स सेवा पु¥याउन मद्दत गर्दछ ।  डा. श्रेष्ठका अनुसार अस्पताल अहिले पूर्वी क्षेत्रका लागि ‘मिनी रिफरल हब’का रूपमा विकास भइरहेको छ । ‘आगामी दिनमा थप उत्कृष्ट सेवा दिँदै जाने हो, धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा अगाडि बढाउन चाहन्छौं,’ उनले भने ।  सानो कोठाबाट सुरु भएको धुलिखेल अस्पताल अहिले वार्षिक ४ अर्ब बजेटको पुगिसकेको छ । चार सय रोपनी क्षेत्रफलमा फैलिएको छ । डा. श्रेष्ठले सुरुवातमा ६ किसिमको सर्जरी आफैले गर्थे । तर अहिले उनको टिम निकै क्षमतावान बनिसकेको छ । आफ्नो अनुपस्थितिमा पनि धुलिखेल अस्पताल अब्बल र थप परिस्कृत बन्दै अगाडि बढ्न सक्नेमा ढुक्क छन् डा. श्रेष्ठ । धुलिखेल अस्पतालमा विगत २२ वर्षदेखि काम गर्दै आएकी वरिष्ठ परामर्शदार्ता तथा  प्रसूति तथा स्त्री रोग विभागमा कार्यरत प्रा.डा. आभा श्रेष्ठले डा. रामकण्ठ मकाजु श्रेष्ठको नेतृत्वदायी भूमिका र सोचकै कारण आज धुलिखेल अस्पताल एक गौरव गर्न लायक स्वास्थ्य संस्था बनेको बताइन् । उनका अनुसार आज धुलिखेल अस्पताल नेपालमा स्वास्थ्य, शिक्षा, अनुसन्धान र समुदाय विकासको आदर्श मोडल भनेर चिनिएको छ ।  ‘उहाँले सानैदेखि अस्पताल चाहिन्छ भन्ने सोचका साथ पढेपछि नेपालमै फर्किएर अस्पताल खोल्न नेतृत्वदायी भूमिका खेल्नुभयो, त्यसमा धेरैले साथ दिनुभयो । सुरुवाती दिनमा जोडिएका साथीहरू अहिले पनि सँगै छौं, सबैको यो संस्थालाई बनाउनुपर्छ भन्ने भावना छ । त्यही भावनाका साथ मिहिनेत गर्दा आज पैसा नहुनेले पनि सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य सेवा पाएका छन्,’ डा. श्रेष्ठले भनिन् ।  धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठ पनि धुलिखेल अस्पताल र अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठको खुलेर प्रशंसा गर्छन् । उनकै योगदानकै कारण आज धुलिखेल नगरपालिका एसियामै दोस्रो र नेपालमै पहिलो ‘हेल्दी सिटी’को रूपमा चिनिएको उनको भनाइ छ । धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दक्षिण पूर्वी एसियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरेको उनले बताए। ‘धुलिखेल अस्पतालको निर्माण र यसको विकासले धुलिखेलको सामाजिक–आर्थिक विकासमा ठूलो योगदान मिलेको छ । धुलिखेलमात्रै होइन, अन्य जिल्लाका नागरिकले पनि सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाएका छन्, नगरपालिकाले पनि सकेसम्मको सहयोग गरिरहेको छ, यसको सबै श्रेय डा. माकजुलाई जान्छ,’ मेयर श्रेष्ठले भने। भीसी बनेर उत्कृष्ट काम डा. रामकण्ठ माकजु सर्जन हुन् । एउटा अब्बल चिकित्सक र व्यवस्थापकको भूमिका निर्वाह गरिरहेका उनलाई २०६९ सालमा काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न अफर आयो ।  उनी त्यो अफरलाई आफूले बाध्यताबस स्वीकार गरेको बताउँछन् ।  ‘म त्यतिखेर उपकुलपति बन्नु बाध्यता थियो, देशमा राजनीतिक अस्थिरता थियो, अप्ठ्यारो अवस्थामा नियुक्त भएको हुँ । मलाई पत्याएर अफर गरेपछि किन नबन्ने भनेर उपकुलपति बनेको हुँ, पछि काम पनि राम्रै गरें, भीसी बन्दाका दिनहरू स्मरण गर्दै डा. श्रेष्ठले भने ।  आफ्नो कार्यकालमा काठमाडौं विश्वविद्यालयको पूर्वाधार निर्माण र अनुसन्धानको कामले ठूलो प्रगति हासिल गरेको उनको भनाइ छ । ‘साउथ एसियामा नमुना विश्वविद्यालय भनेर चिनाउनका लागि धेरै काम गरें, मैले दुई वर्ष थप काम गरेको भए त्यो लक्ष्य पनि पूरा हुन्थ्यो,’ उनी भन्छन्, ‘कुनै पनि प्रोफेसरले कुनै पनि गुनासो गर्ने वातावरण सिर्जना गरिनँ ।’ डा. श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न विधा र विद्यार्थी पनि बढेको सुनाए । प्राज्ञिक व्यक्तित्वहरू पनि काठमाडौं विश्वविद्यालयमा आकर्षित भएको उनको भनाइ छ । उनले आफ्नो दुई कार्यकालमा काठमाडौं विश्वविद्यालयमा रहेर देखिने काम गरेको सुनाए ।  उनी काठमाडौं विश्वविद्यालयमा (केयू) ‘कक्षा कोठाबाट समुदायतर्फ’ भन्ने मूल नारा लिएर अघि बढे । उनले दोस्रो कार्यकालमा विश्वविद्यालय २५ वर्ष पूरा भएको अवसरमा अघि सारेका शैक्षिक गुणस्तर तथा नवप्रवर्तनका कार्यक्रमले अहिले पनि कार्यान्वयनमा छन् । उनकै नेतृत्वमा केयूलाई विदेशी शैक्षिक संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने कार्यलाई पनि तीव्रता दिएको थियो ।  धुलिखेलमै जन्म, विदेशबाट उच्च शिक्षा धुलिखेलमा जन्मिएका डा. श्रेष्ठले एसएलसीसम्मको पढाइ धुलिखेलमै पूरा गरे भने काठमाडौंको अस्कल कलेजबाट आईएस्सी पूरा गरे । त्यसपछि उनी चिकित्साशास्त्र अध्ययनका लागि अष्ट्रिया पुगे । उनले अष्ट्रियाको युनिभर्सिटी अफ भियनाबाट एमडीको अध्ययन पूरा गरे भने भोरालबर्ग अस्ट्रेलियाबाट शल्यचिकित्सामा विशेषज्ञता हासिल गरे । अध्ययन पूरा गरेपछि उनी स्वदेश फर्किएर धुलिखेल अस्पताल स्थापनामा महत्वपूर्ण योगदान दिए । डा. श्रेष्ठकी छोरी पनि अहिले धुलिखेल अस्पतालमा साइकोलोजिष्टको रूपमा कार्यरत छिन् ।  डा. माकजु भन्छन्, ‘म त्यहाँ उभिन्छु, जहाँ धेरैले मेरो उभ्याइको अनुभूति गरून् । म मेरै देशमा उभिन चाहन्थें । विदेशमा वर्षौं बिताएपछि म जन्मिएकै ठाउँमा फर्किएँ, अहिले जति खुसी छु, म विदेशमा जति सेवा सुविधा र पैसा भएको भए पनि खुसी हुन्थेनँ ।’ म सुविधासम्पन्न देशमा पढेर पनि स्वदेशमै फर्किएँ । म सानैदेखि आफ्नै ठाउँ र देशमा सुविधा सम्पन्न स्वास्थ्य संस्था होस् भन्ने चाहन्थें । त्यही सोंचका साथ पढाइ सकेर नेपाल फर्किएपछि धुलिखेल अस्पतालको स्थापनामा लागेँ । यसमा धुलिखेलवासी, मेरा साथीहरू, शिक्षकहरू र सरकारले पनि साथ दियो । समुदायले गरेको भरोसा, सरकारले दिएको विश्वास र बाहिरबाट अघि बढ्ने हजारौं सहयोगी हातहरूको ऊर्जाले यो संस्थालाई निरन्तर उकास्दै लग्यो ।  आज धुलिखेल अस्पतालसँग १५ सयभन्दा बढी जनशक्ति छन् । र, विभिन्न देशबाट नियमित रूपमा विद्यार्थी, चिकित्सक तथा विज्ञहरू ज्ञान आदान–प्रदानका लागि यहाँ आउने गर्छन् । अमेरिका, जर्मनी, इटाली, नर्वे, कोरिया, जापानलगायत मुलुकबाट २०० भन्दा बढी विद्यार्थीहरूले धुलिखेलमा मेडिकल शिक्षा लिइरहेका छन् ।   नेतृत्व भनेको आफूमा भएका मूल्य मान्यताहरूलाई जोगाउँदै नपुग र कमजोरी पहिचान गर्दै अघि बढ्ने निरन्तर यात्रा हो । कमजोरी देखिनु स्वयं खराब होइन, कमजोरी देखेर पनि वास्ता नगरिनु नै संस्थाको पतनको संकेत हो । त्यसैले नेतृत्वमा इमानदारिता, निष्पक्षता, पारदर्शिता आवश्यक पर्छ । आज मेरो टिमका चिकित्सकहरू मभन्दा पोख्त र धेरै दक्ष छन् । संस्था मेरो अनुपस्थितिमा पनि सहजै गतिशील रूपमा अघि बढ्छ भन्ने विश्वास छ ।  अब मसँग अझै एउटा ठूलो सपना बाँकी छ, नेपालका तीन करोड नागरिकलाई जहाँ भए पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको समान पहुँच दिलाउने । धुलिखेल अस्पताल व्यापार होइन, ‘भ्वाइसलेसको भ्वाइस’ बन्ने चाहनाबाट जन्मिएको संस्था हो । गरिबहरूका लागि स्थापना भएको संस्था हो । आज लाखौं बिरामी यो संस्थाबाट लाभान्वित भएका छन् ।  हजारौंले पुर्नजन्म पाएका छन् । ४ सय रोपनीभन्दा बढी क्षेत्रफलमा पूर्वाधार विस्तार भएको छ । करिब ४ अर्बको वार्षिक बजेटबाट सेवा सञ्चालन भइरहेको छ । यो सम्पूर्ण उपलब्धि दान, विश्वास, श्रम र सामूहिक भावना मिलेर बनेको एउटा ठूलो धरोहर हो । गरिबलाई आधारभूत मात्र होइन, उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने उदाहरण यहीँबाट संसारलाई देखाएका छौं । धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धानका केन्द्रको रूपमा उभ्याउने कार्यमा निरन्तर लागिरहेका छौं । म धेरै बोल्दिनँ, काम गरेर देखाउँछु । म कस्तो छु र के काम गरेको छु भनेर सोध्नुभन्दा यहाँका कर्मचारी, चिकित्सक र सेवाग्राहीले दिएको जवाफ नै मेरो कार्यको वास्तविक मूल्याङ्कन हो । देश विकास भएन भन्नेलाई म धुलिखेल आउन निम्तो दिन्छु । ‘विकास नायक’को रूपमा पाएको सम्मान म आफ्नै सफलता ठान्दिनँ । यो मेरो टिम, समुदाय, देश–विदेशमा बसेर सहयोग गर्ने सबै शुभेच्छुकहरूको श्रम र विश्वासको प्रतीक हो । यो धुलिखेल अस्पतालले दिएको फलप्रति गरिएको सम्मान हो ।