काठमाडौं । अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ ।
जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० करोडको जैतुन तेल बेच्न सकिने जैतुन कार्यान्वयन एकाइ जोन कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाका उत्तरी भेगको स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिका तथा बूढीनन्दा नगरपालिकामा जंगली जैतुन प्रशस्त रुपमा पाइन्छ । यस्तै बूढीगंगा र त्रिवेणी नगरपालिकामा पनि जंगली जैतुन खेर जान थालेको छ । जंगली जैतुन भएका क्षेत्रका स्थानीयवासीले जैतुनका बोट काटेर गाई बाख्रालाई खुवाउने गरेका छन् । जैतुन संकलन नहुँदा चराचुरुङ्गीको आहारा भएको छ ।
स्थानीय जातको जैतुनले दिने फलको संकलन र प्रशोधन नहुँदा चराचुरुङ्गीले खानुबाहेक अरु उपयोग हुन नसकेको बूढीगंगा नगरपालिका–३ का जयराज उपाध्यायले बताए। जिल्लालाई जैतुन जोनका रुपमा विस्तार गर्न सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइको स्थापना गरी काम अगाडि बढाइरहेको छ । जिल्लामा हाल ६६९ हेक्टरमा जंगली जैतुन रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जैतुन कार्यान्वयन इकाइका निमित्त प्रमुख शालिकराम गौतमले बताए। ‘पहिला स्थानीयवासीमा चेतनाको अभाव थियो, जैतुनलाई घाँसका रुपमा प्रयोग गरिन्थ्यो, अहिले विस्तारै जैतुनसम्बन्धी बुझ्न लागेका छन्,’ उनले भने ।
बाजुरा, बझाङ, डोल्पा, अछाम, मुगु, हुम्ला, जुम्ला, कालीकोटलगायत जैतुन खेतीको सम्भाव्य जिल्लामा पर्छन् । विश्वमा ३० प्रजातिका जैतुन फेला परेको तथ्यांक छ । जोन कार्यालयले पहिले स्थानीय प्रजातिकै जैतुनको संरक्षण र प्रयोग गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विभिन्न सामुदायिक वनलाई जैतुन संकलनका लागि तरिका सिकाएर फल संकलन गर्ने त्रिपालसमेत वितरण गरिँदै आएको छ ।
स्थानीयवासीले केही मात्रामा जैतुनको फल संकलन गरे पनि अनुसन्धान फार्म कोल्टीमा रहेको जैतुन प्रशोधन मेशिन बिग्रिएपछि गत वर्षको फलसमेत त्यसै खेर गएको जैतुन अनुसन्धान फार्मका प्रमुख जनेश भण्डारीले बताए । जैतुन प्रशोधन मेशिन चलाउनका लागि प्राविधिक नहुँदा मेशिन राम्रोसँग सञ्चालन गर्न नसकिएको उहाँ बताउछन् । मर्मत सम्भारका लागि प्राविधिक नहुँदा समस्या भएको छ । स्थानीय जातको जैतुन पेल्न स्थानीयवासीले नयाँ मेशिनको माग गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लालाई जैतुनको सुपरजोन निर्माणका लागि कार्यक्रम अघि बढाएको छ । साविकका वाई, जुकोट, जगन्नाथ र बाधु गाविसमा सञ्चालन भरहेको कार्यक्रममा यस वर्ष १५ वटा नयाँ बगैँचा तथा पकेट क्षेत्र थप भएको बताइएको छ ।
बाजुरामा जैतुन तथा अन्य फलफूलको व्यावसायिक खेती गर्न सकेमात्र गरिबी घटाउन सकिने कतिपयको तर्क छ । जैतुन सयौँ वर्षसम्म पनि जीवित रहेर फल दिइरहन सक्ने र सधैँ हरियो भइरहने फलफूल बालीभित्र पर्छ । जैतुनमा खान र दल्न मिल्ने सर्वोत्कृष्ट तेल हुने भएकाले तेलहन बालीका रुपमा पनि लिइन्छ । जैतुनको तेलको नियमित प्रयोगले मधुमेह, मुटुरोग, उच्च रक्तचापजस्ता दीर्घरोगलाई निको पार्छ भने रोग प्रतिरोधक क्षमतासमेत बढाउने विज्ञहरुले बताएका छन् ।
तेलबाहेक आयुर्वेदिक औषधि, साबुन, सेन्ट र कस्मेटिक सामग्री बनाउनसमेत जैतुनको प्रयोग हुँदै आएको छ । प्रतिलिटर रु दुई हजार ५०० देखि रु तीन हजारसम्म जैतुन तेलको मूल्य पर्छ । जैतुनको खेतीले वन र वातावरणमा समेत सुधार ल्याउने हुँदा यसले कृषि पर्यटनमा समेत टेवा पुग्ने बताइएको छ । रासस