काठमाडौं । ललितपुर महानगरपालिका पुल्चोक, ललितपुरमा कार्यरत खरिदार राजेन्द्र नेमकुल भ्रष्ट्राचारको आरोपमा पक्राउ परेका छन् ।

घर र सटरहरुको कर तिर्न गएका सेवाग्राहीलाई विभिन्न बहाना बनाई कर छुट गरिदिने प्रलोभन देखाई घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा नेमकुल पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले नेमकुल र जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं १५ बस्ने मध्यस्थकर्ता कृष्ण बोगटीलाई ७० हजार सहित पक्राउ गरेको हो ।
घुस वापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई ललितपुर महानगरपालिकाको पहिलो तल्लामा रहेको प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष अगाडिबाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।