काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सपना देख्दा आफुलाई खिल्ली उडाएको बताएका छन् । समाजमा चिसो दाउरामा धुवाँ उडाउँदै भात पकाइरहेका बेला पाइपलाइनको कुरा गर्दा आफुलाई नराम्रो सोचेको बताएका हुन् ।

मदन भण्डारीको ६७ औं जन्म उत्सवमा आयोजित एक कार्यक्रममा विचार राख्दै ओलीले भने-‘धुँवा उडाउँदै भात पकाइरहेका बेला पाइलाइनबाट ग्याँस बाड्ने कुरा गर्दा झन्डै मारे ।’ उनले अब बस्ती एकिकृत गरी गरिब बस्तीलाई सुगम बनाउने बताए ।
मलेसियामा शहर भन्दा ८० किलोमिटर टाढा विमानस्थल बनाउँदा र टीइयुन टावर बनाउदा चर्को विरोध भए पनि अहिले त्यो विश्वमै नमुना बनेको ओलीले बताए । चीनमा एक व्यापारीले एउटा विकट गाउँमा धेरै जमिन किन्दा उनलाई पनि धेरैले नराम्रो सोचे तर अहिले त्यो स्थानमा तारे होटल सहित ठूलो पर्यटकिय क्षेत्रमा विकास हुदैँ गएको ओलीले थपे । रेल, पाइलाइबाट ग्यास सहित अन्य विकासको काम हुन्छ विकासको सपना नै नदेखी देश कसरी अघि बढ्छ ? ओलीले प्रश्न गरे ।
उनले भारत र चीनबाट रेल काठमाडौं ल्याएरै छाड्ने दाबी गरे । कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट कला क्षेत्रमा क्रियाशिल रहेका हरि प्रसाद शर्मालाई प्रदान गरिएको छ । १ लाख राशी रहेको पुरस्कार सो पुरस्कार मदन भण्डारी फाउन्डेसनले शर्मालाई प्रदान गरेको हो ।
त्यसैगरी मदन भण्डारी स्र्पोट एकेडेमीको झन्डा बोकेर सगरमाथा सफल आरोहण गरेका लाक्पा गोल्पा शेर्पालाई समेत सम्मान गरिएको छ । शेर्पाले १४ औं पटक सफल सगरमाथाको आरोहण गरिसकेका छन् । कार्यक्रममा ५७ जनाले रक्तदान गरेको स्पोर्ट एकेडेमीकी सचिव सिता लामाले जानकारी दिइन ।
कार्यक्रममा नेकपाका नेता नारायण काजी श्रेष्ठ, स्वास्थ्य मन्त्री उपेन्द्र यादव, नेपाली काग्रेँसकी नेतृ सुजता कोइराला लगायतको उपस्थिती रहेको थियो ।