काठमाडौं । मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन गर्न नसक्दा चर्को आलोचना खेप्नु परेको बताएका छन् । बुधबार राजधानीमा आयोजित नगर-नगर साझेदारी कार्यक्रममा बोल्दै शाक्यले जनताको काम भोट हालेर प्रतिनिधि जिताउने काम मात्र नभएको बताएका हुन् ।

‘कुन ठाँउमा कसले फोहर गर्छ त्यो नगरपालिकाले देख्दैन, अरुले देख्छ अनि विद्यासुन्दरले काम गरेन भनेर मैले गाली खानुपर्छ, मेयर शाक्यले भने जापानका फुटबल समर्थकले खेलपछि रसियामा स्टेडियम सफा गरे त्यस्तै संस्कार हामीले पनि सिक्नुपर्छ ।’
कार्यक्रममा बाल उद्यान निर्माण गर्न महानगर र टोखा नगरपालिकाबिच १ करोड बराबरको सहयोग रकममा हस्ताक्षर भएको छ । उद्यान निर्माणको लागि महानगरले ५० प्रतिशत र टोखा नगरपालिकाले ५० प्रतिशत लगानी गर्ने सहमति भएको छ ।
११ बुँदे सम्झौतामा समयमै आयोजना सम्पन्न गर्ने, झोर झरना, वौडेश्वर महादेव क्षेत्रलाई संस्कृतिक पर्यटन क्षेत्रमा विकास गर्ने लगायतको सम्झौता भएको छ ।