काठमाडौं । देउवा सरकारले निर्णय गरेका विभिन्न कार्यकारी प्रमुख, प्रदेश प्रमुखहरुको ओली सरकारले एकै पटक पदमुक्त गरेको छ । । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखहरु सहित विभिन्न संस्था तथा संस्थानका कार्यकारी प्रमुखहरुलाई पदमुक्त गरेको हो ।

पदमुक्त हुनेहरुमा नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह साउद लगायतका दर्जनभन्दा बढि नियुक्त रद्ध भएका छन् ।
त्यस्तै, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषाल, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष नविनकुमार झा, गुँठी संस्थाका अध्यक्ष मिनराज चौधरी, प्रशासक नारायण चौधरी समेत पदमुक्त भएका छन् ।
यसैगरी बाैद्धनाथ विकास समितिका अध्यक्ष राजकुमार लामा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति संगीता भण्डारी, कर्जा सुरक्षण निगमका अध्यक्ष बिष्णु मिश्र, पर्यटन बोर्डका तीन जना सदस्य लगायतको जागिर गएको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
यस्तै, सात प्रदेशका प्रमुखहरु प्रदेश १ का गोविन्द सुब्बा, २ का रत्नेश्वर लाल कायस्थ, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ५ का उमाकान्त झा, ६ का दुर्गाकेशर खनाल र ७ का मोहनराज मल्ललाई प्रदेश प्रमुखबाट मुक्त गरिएको छ ।