
काठमाडौ । तपाईको गाडीले धेरै धुवाँ फाल्छ ? यदी यस्तो छ भने मर्मत गरिहाल्नुस र प्रदुषणमुत्त बनाउनुस । सरकारले भदौ १ गतेदेखि बढी धुवाँ फाल्ने र प्रदुषण गर्ने सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ ।
प्रदुषण मापदण्डभित्र नपरेका सवारीसाधनलाई काठमाडौं उपत्यका र सम्पुर्ण महानगर र उपमहानगरपालिका भित्र सञ्चालन गर्न सरकारले बन्देज लगाउने तयारी गरेको हो । प्रदुषणको मात्रा बढ्दै गएपछि नियन्त्रण गर्न यस्तो कदम चालेको यातायात व्यवस्था विभागले जनाएको छ ।
यसअघि विभागले साउन १ गतेदेखि लागु गर्ने भनेकोमा प्रदुषण उपकरण यातायात कार्यालयमा नपुगेको र परीक्षण गर्ने कर्मचारीलाई तालिम दिनुपर्ने भएकाले भदौ १ गतेदेखि लागु गर्ने जनाएको छ । विभागले आफुलाई पायक पर्ने स्थानमा गई प्रदुषण जाँच गराउन भनेको छ । हरियो स्टिकर नभएका सवारीसाधनलाई सञ्चालन गर्न बन्देज गरिने छ ।