सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

<p>काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गरे। सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाएका छन् छन्, भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २०० छन् । नेता भट्टराईको स्टाटस पढेपछि राससले [&hellip;]</p>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गरे।

सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाएका छन् छन्, भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २०० छन् । नेता भट्टराईको स्टाटस पढेपछि राससले उनलाई सोध्यो–साँच्चीकै विमानस्थल सुधार भएको हो त उनको प्रतिक्रिया थियो “ विगतमा भन्दा धेरै सुधार भएको छ । त्यो मैले आफैले अनुभव गरेँ ।”

नेता भट्टराईले मुलुकको आँखीझ्यालका रुपमा रहेको विमानस्थलमा सुधार हुनुलाई वर्तमान सरकार र त्यसका विभागीय मन्त्री रवीन्द्र अधिकारीको प्रयासले सार्थकता पाएको उल्लेख गरे ।

उनले भने, “प्रस्थान र आगमन पत्र भर्न यात्रुलाई झन्झटिलो थियो र त्यसको कुनै उपयोगिता पनि थिएन त्यो हटाएर राम्रो काम भएको छ ।”

सरकारले गत जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको छ । सोही योजनाको प्रभावले गर्दा विमान उडान र अवतरणमा रहेको एयर ट्राफिकको समस्यामा समेत उल्लेख्य सुधार आएको छ ।

नेता भट्टराईले थप भने, “विमानबाट ओर्लेपछि आधा घण्टाभित्रमा लगेजसमेत लिएर बाहिर निस्किन सक्नु त क्रान्ति नै जिते जस्तो लाग्यो मलाई ।”

विमानस्थलको प्रतिक्षालय, शौचालय पहिलेभन्दा सफा देखिएको उल्लेख गर्दै नेता भट्टराईले सानो प्रयासबाट पनि ठूलै उपलब्धि हासिल हुन सक्ने भन्दै राम्रोलाई राम्रो नै भन्न सक्ने बानी बसाल्नसमेत आग्रह गरे ।

नकारात्मक विषयले मात्रै प्राथमिकता पाइरहेका बेला सकारात्मक काम र अभ्यासलाई सबैले साथ दिनु जरुरी देखिएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको सानो प्रयासले मुलुकमा लामो समयदेखि जकडिँदै आएको विद्युत्भार कटौतीको समस्याबाट मुलुकले त्राण पाएको थियो । गरे के हुँदो रहेनछ भन्ने एउटा प्रमाण विद्युत्भार कटौती पनि थियो । त्यस्तै प्रयासमा वर्तमान सरकार लागिपरेको छ । विमानस्थल सुधार तथा विकृति विसंगतिको अन्त्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले निरन्तर पहल गर्दै आएका छन्।

मन्त्री अधिकारी भन्छन्, “सानो कामबाटै शुरु गरौँ र सेवाग्राहीलाई नै सुधारको अनुभव गराऔँ भन्ने मान्यता छ । सोही आधारमा काम भइरहेको छ ।”

मन्त्री अधिकारीले सार्वजनिक गर्नुभएको कार्ययोजनामा समेत विमानस्थल सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । विमानस्थलमा हुने सामान्य व्यवहार तथा शिष्टताले पनि ठूलो अर्थ राख्दछ । त्यो राष्ट्रिय प्राथमिकताको विषयसमेत हो ।

वर्तमान सरकारले विमानस्थलको सुधार, सुरक्षा प्रणालीमा रहेको कमजोरीको अन्त्य गर्दै यात्रुलाई सरल र सहजरुपमा सेवा दिने लक्ष्य राखेको छ । सो लक्ष्यलाई पूरा गर्न हरतरहको प्रयास भइरहेको छ र केही सफलतासमेत हासिल भएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पछिल्लो दिनमा गरिएको प्रयासले सार्थकता पाएको बताए ।

पर्यटनमन्त्रीका रुपमा अधिकारीले जिम्मेवारी सम्हालेदेखि विमानस्थल सुधार पहिलो प्राथमिकतामा परेको थियो । अहिले अध्यागमनमा विद्युतीयरुपमा नै फारम भर्ने व्यवस्थाले नेपाली यात्रुलाई सहज बनाएको छ । महाप्रबन्धक क्षेत्रीले भने, “यो ठूलो परिवर्तन हो । फारम भर्न नजान्ने, लेखपढ गर्न नजान्ने, शशारीरिकरुपमा अशक्त नागरिका लागि यो व्यवस्था अति उपयोगी देखिएको छ ।”

सरकारको पछिल्लो प्रयासले विमानस्थलको सेवालाई सर्व सुलभ र प्रभावकारी बनाउन बल पुगेको छ । अहिले ४५ मिनेटमा ९९ प्रतिशत लगेज सम्बन्धित यात्रुले लिइसक्छन् । विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि सकारात्मक प्रभाव परेको छ ।

हाल एयर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । हरेक दिन बिहान ६ बजे अगावै आन्तरिकतर्फबाट उडान गरिसक्ने व्यवस्था मिलाइएको छ । विगतमा विमानस्थल ६ बजे खुल्ने गरेकामा हाल बिहान ५ बजे नै खुल्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले उडान र अवतरणको चापमा समेत व्यवस्थापन गर्न बल पुगेको छ ।

विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि पछि लामो समय ‘होल्ड’ बस्नुपर्ने बाध्यतासमेत हटेको छ । कहिलेकाहीँ सामान्य प्राविधिक समस्याका कारण उडान तलमाथि हुने विषय फरक भए पनि विमानस्थललाई व्यावसायिक र यात्रुमैत्री बनाउन हदैसम्मको प्रयास गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

निजी वायु सेवा कम्पनीलाई उडान अनुमतिपत्रमा गरिएको व्यवस्थाअनुसार नै क्षेत्रीय विमानस्थलमा पार्किङ गर्नुपर्ने नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइएको छ । केही विमान सेवा प्रदायकले त्यस्तो प्रक्रिया शुरु गरिसकेका छन् ।रासस

Share News