कम्प्युटर साईन्समा स्नातकोत्तर गरेका प्रकाशविक्रम खत्रीले संसारकै ठूलो मानिने बाराक्लेज बैंकमा ५ बर्ष काम गरे । बेलायतको केन्द्रिय कार्यालयमा काम गरेका उनी नेपाल फर्किएर लक्ष्मी बैंकको मेनेजरका रुपमा ४ बर्ष थप जिम्मेवारीमा रहे । नेपाल लाइफ र एनआईसी एसिया बैंकको सञ्चालक समेत बनेका उनी अहिले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिइओको जिम्मेवारीमा छन् । कम्प्युटर इञ्जिनियरको शैक्षिक पृष्ठभूमि, बाराक्लेज बैंक हुँदै लक्ष्मी बैंकको जागिर, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकको सञ्चालक हुँदै ज्योति लाइफको जिम्मेवारीमा पुगेका खत्रीसँग विकास न्युजले गरेको कुराकानी :

प्रकाश विक्रम खत्री, नायव प्रमुख कार्यकारी अधिकृत- ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
असार मसान्तको रिपोर्ट कस्तो रह्यो ? निर्धारित लक्ष्य भेटियो ?
हामीले असार मसान्त सम्ममा ३० करोेडको प्रिमियम संकलन गर्ने लक्ष्य राखेका थियौं । साढे २८ करोड प्रिमियम संकलन गरियो । हामीले कन्भेन्सनल पोलिसी मात्रै बेचेका हौं । म्यादी बीमा तर्फ हामी गएनौं । म्यादी बीमा पोलिसी बेच्नेहरुसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ । नयाँ कम्पनीमा हामी तेश्रो नम्बरमा रह्यौं । पहिलो युनियन, दोश्रो आईएमई र तेश्रो ज्योति लाइफ भएको हो ।
म बीमा क्षेत्रको मान्छे होइन, तै पनि राम्रो काम गरियो । हामीले ६० वटा शाखा उपशाखा खोलिसकेका छौं । तीमध्ये धेरै शाखाहरु आर्थिक बर्ष सकिनै लाग्दा खोलिएका हुन् । ती शाखाहरुको बिजनेश त अब मात्रै आउने हो । गएको बर्षको व्यवसायबाट सन्तुष्ट भएका छौं ।
नाफा चाँही कति कमाउनुभयो ?
जीवन बीमा कम्पनीमा आर्थिक बर्ष सकिने वित्तिकै तुरुन्तै नाफा यति भनेर देखाउन मिल्दैन् । एक्चुरी गर्नु पर्छ । तै पनि तेश्रो त्रैमासिकमा साढे ६ करोड नाफा कटेको थियो । चौथो त्रैमासिकको रिपोर्टमा १० करोड भन्दा बढी नाफा हुनेछ । यद्यपी त्यो एक्चुरी गर्नु भन्दा पहिलेको हुनेछ । एक्चुरी गरेपछि फेरी त्यो केहि तलमाथी हुन सक्छ ।
कति वटा पोलिसी बजारमा पुगेका छन् ?
अहिलेसम्म हामीले ६ वटा पोलिसी बजारमा पुर्याईसकेका छौं । टर्म लाइफ छ, त्यसमा रिटर्न छैन कभरेज मात्रै छ ।
इन्डोमेन्ट प्लन छ, मासिक वा बार्षिक प्रिमियम तिर्नु पर्छ । त्यसमा अन्तिममा बीमांक र बोनस दिन्छौं । अर्काे होल लाइफ छ, त्यसमा पनि प्रिमियम लिएर समय सकिएपछि बीमांक बराबरको रकम र बोनस पाइन्छ । यसमा मृत्युपछि परिवारले पैसा पाउँछन् ।
अर्काे बाल बीमा पनि छ । त्यसमा बालबालिकाका अविभावकको मृत्यु भएमा पनि पढ्न पाउने अवसर प्राप्त होस भनेर त्यो ल्याएका हौं । सिंगल प्लान पनि छ, त्यसमा एकल भुक्तानी हुन्छ । १५ बर्षका लागि १० लाखको बीमा गर्दा एकै पटक साढे सात वा ८ लाख तिरे पुग्छ ।
ज्योति लाइफ बजारका अन्य कम्पनी भन्दा के अर्थमा फरक छ ?
हामीले क्रिटिकल इलनेश(जटिल प्रकारका रोग)हरुको प्रडक्ट ल्याएका छौं । यसले हामीलाई अहिलेको बजारमा सबै भन्दा फरक कम्पनीका रुपमा स्थापीत गराएको छ । यो प्रडक्ट अन्य प्रडक्टमा जोडेर लिन सकिन्छ । यो अतिरिक्त सुबिधा हो । यसमा ११ वटा रोगहरु समावेश गरेका छौं । तीमध्ये कुनै पनि रोग लागेको मेडिकलले प्रमाणित गर्यो भने हामीले १० लाखसम्म तिर्छाै । १० लाखको प्रिमियम लिनेले थप १० लाख पाउँछ ।
मेडिकलले रोग लागेको छ भनेर प्रमाणित गरेपछि नै हामी पैसा दिन्छौं । अरु कम्पनीले खर्चको विल बुझाएपछि मात्रै पैसा दिन्छन् । तर हामी रोग लागेको प्रमाण पेश गर्ने वित्तिकै पैसा दिन्छौं । विमितले जहाँ सुकै गएर उपचार गरेपनि हुन्छ । रोग प्रमाणित हुने वित्तिकै १० लाख दिन्छौं । यो पोलिसी बजारमा सबै भन्दा रुचाईएको छ ।
हामीले पुराना कम्पनीहरुले जसरी कुनै पनि बेला मरिन्छ, परिवारलाई कसले हेर्छ भनेर त्रसित वातावरण बनाएर पोलिसी बेच्दैनौं । हामीले नारा नै सधै तपाईको साथ भनेर राखेका छौं । विमितलाई कुनै पनि रोग लागेको छ भने बचाउँछौं भनेर अघि बढिरहेका छौं । बाल बीमामा अविभावकलाई केहि भयो भने बीमांकको १ प्रतिशत मासिक दिने भन्ने छ । १० लाखको बीमा गर्नेहरुले मासिक १० हजार पाउँथे । १६ वा १८ बर्षसम्म मात्रै त्यस्तो पैसा दिने व्यवस्था थियो ।

हामीले चाँही त्यो भन्दा फरक योजना ल्याएका छौं । अहिले एसईई वा प्लस टु पास गरेर जागिर पाइन्न । त्यसकारण हामीले १६ बर्षसम्म मात्रै होइन २५ बर्षसम्म पैसा दिन्छौं । त्यसो भयो भने बालबालिकाले स्नातकोत्तरसम्म पढ्न पाउँछ । त्यसपछि उसले जागिर वा व्यवसाय सञ्चालन गर्न सक्छ । जीवन बीमा कम्पनीमा सेवा भनेकै जोखिम ग्रहण गर्नु हो । हामी त्यहि गरिरहेका छौं ।
अरु कम्पनीले बीमा गराएका बालबालिकाको अविभावकलाई केहि भयो भने १६ बर्षसम्म पैसा तिरे पुग्ने थियो तर हामी त २५ बर्षसम्म सहयोग गर्छौ । क्रिटिकल इलनेशमा हामीले रोगबाट बचाएर पनि बीमा र बोनस पनि दिईरहेका छौं । यहि सेवाले हामीलाई बजारमा अरु भन्दा फरक देखाएको छ । नेपालको जीवन बीमा कम्पनीहरुमा जटिल प्रकारका रोगहरुको पोलिसी ल्याउने ज्योति लाइफ नै हो ।
नयाँ पोसिली बनाउँदा के केलाई आधार बनाउनु हुन्छ ? छिमेकको अभ्यास हेर्ने वा आफ्नो बजार ?
हामीले कुनै पनि प्रोडक्ट बनाउँदा कपि पेष्ट गर्दैनौं । अहिले बीमितहरु धेरै बाठा भैसकेका छन् । हामीले जोड्ने भनेको प्रडक्ट र आवश्यकतालाई हो । नेपालमा शिक्षामा केहि समस्या छ, मेडिकल उपचारमा केहि समस्या छ । यी दुईलाई हामीले जोड्ने प्रयास गरेका हौं । जीवन बीमा भनेको बीमा गर्नैका लागि मात्रै गर्ने होइन् । बजारको आवश्यकतालाई हेरेर नै पोलिसी बनाउने हो ।
नयाँ जीवन बीमा कम्पनीहरुको आगमनले बजारमा नयाँ प्रडक्टहरु कत्तिको ल्याएका छन् ?
नयाँ कम्पनीहरुको आगमनले नयाँ प्रडक्ट ल्याउन मदत गरेको छ । युनियन लाइफको पनि इन्डोमेन्ट होल लाइफ राम्रो छ रे । इन्स्योरेन्स कम्पनीमा जति नै राम्रो गर्न खोजे पनि केहि सिमाहरु हुन्छन् । सिमा भन्दा बाहिर जान पाइँदैन् । हामीले सिमा भित्र रहेर नयाँ पोलिसी बनाउने प्रयास गर्ने हो । नयाँ जीवन बीमा कम्पनीहरुले नयाँ प्रडक्ट ल्याएका छन् नै ।
नयाँ जीवन बीमा कम्पनी आएपछि देशले के पायो ? नागरिकले के पाए ?
९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा आएका छन् । हामीले बजार विस्तारका लागि ९ महिनाको समय पायौं ।
यो बर्ष जीवन बीमा कम्पनीहरुको प्रथम प्रिमियम साढे १६ अर्ब पुग्यो । त्यसमा साढे ३ अर्ब नयाँ जीवन बीमा कम्पनीले आर्जन गरेका छन् । ज्योति लाइफले नै साढे २८ करोड संकलन गरेको छ । यति प्रिमियम संकलन गर्न नेपाल लाइफलाई ८ बर्ष लागेको रहेछ । नयाँ जीवन बीमा कम्पनीले जुन आकारमा प्रिमियम संकलन गरेका छन्, त्यसले लाइसेन्सको पुष्टि गरेको छ ।
साढे १६ अर्बमा साढे ३ अर्ब प्रिमियम संकलन गर्नु भनेको चानचुने कुरा होइन् । त्यसमा ८८ करोड म्यादी बीमाको हिस्सा छ । बाँकी २१२ करोडमा ज्योतिको हिस्सा साढे २८ करोड छ । जुन नयाँ कम्पनीको बजार हिस्सामा १४ प्रतिशत हुन आउँछ ।
यो त बजारको कुरा भयो, नागरिकको बीमाप्रतिको दृष्टिकोण र चेतनामा चाँही कति परिवर्तन आयो ?
आजको दिनमा बीमा पोलिसीको आकार औसत ५ लाख पुगेको छ । केहि समय अघि एक/ढेड लाखको पोलिसी हुन्थ्यो । पाँच लाखको पोलिसी बेच्दा बार्षिक प्रिमियम ३५ देखि ४० हजारको हाराहारीमा पुगेको छ । त्यो पनि परिवर्तनको प्रमाण हो । हाम्रो जस्तो नयाँ कम्पनीले यति छोटो समयमा एक करोड भन्दा ठूलो पोलिसी १२ वटा भन्दा बढी बेचिकसेको छ ।
९ वटा नयाँ कम्पनी आउँदा नै बीमा क्षेत्रमा नयाँ तरंग आएको थियो जुन विस्तारै पुष्ठि हुँदै गएको छ । लाइफ र नन लाइफबिचीको भिन्नता बुझाउन पनि कठिन थियो, अहिले त्यस्तो अवस्था नि हट्दै गएको छ । अहिले घर घरमा गएर बीमा बारेमै भन्नुपर्ने अवस्था हट्दै गएको छ । अहिले नागरिकले फोन गरेर बीमाबारे सोध्ने अवस्था बन्दै गएको छ ।
चालु आवमा कति वटा शाखा उपशाखा थपिँदैछन् ?
आजको दिनमा ९ महिनामा ६६ वटा शाखा उपशाखा खोल्ने कम्पनी अरु छैनन् । चालु आवमा यो संख्यालाई बढाएर १०० वटा पुर्याउने उदेश्य हो । अहिलेसम्म शहरमा शाखा खोलियो अब गाउँ गाउँमा जाने योजना छ । गाउँमा ठूला पोलिसी नबिक्लान तर स साना प्रडक्ट राम्रोसँग बेच्न सकिन्छ ।
ग्रामिण क्षेत्रका न्युन आय भएका नागरिकहरुका लागि केहि नयाँ प्रडक्ट ल्याउने योजना छ की ?
न्युन आय भएका ग्रामिण क्षेत्रका नागरिकहरुका लागि पनि केहि प्रडक्ट चाँही बनाईरहेका छौं । आजका दिनमा पाँच लाखको पोलिसी भनेको खासै ठुलो होइन रहेछ । नागरिकहरुको क्रयशक्ति बढेकै देखियो । बाराको बहुअरी भन्ने ग्रामिण क्षेत्रमा एउटा दावी भुक्तानी गरेका छौं भर्खरै, त्यहाँ पनि पाँच लाखको बीमा गरिएको थियो । नागरिकहरुको क्रयशक्ति बढेकै देखेका छौं ।
हामीले दाह संस्कारमा पनि केहि रकम उपलब्ध गराउने गरि केहि सोचिरहेका छौं । शहरमा धुँवा धुलोका कारण जटिल रोग लाग्छ भने गाउँमा कृषि बालीमा हालिने बिषादी वा अन्य कुनै कारणले जटिल रोग लाग्न सक्छन् । त्यसकारण गाउँका नागरिकहरुका लागि जटिल प्रकृतिका रोगका लागि पोलिसी बनाउने योजनामा छौं । गाउँमा पोलिसी बेचेर कमाउने भन्दा पनि सेवा दिने हो । त्यहाँ प्रिमियममा भन्दा पनि सेवामा ध्यान दिन्छौं ।
बीमितहरुले गलत अभ्यास कत्तिको गर्छन् ? त्यस्तो जोखिम न्युनीकरणको उपाय के हुन सक्छ ?
संसार भरको बीमा बजारमा बीमितको गलत अभ्यासका घट्ना आउने गरेका छन् । हामी त नयाँ कम्पनी हौं । भर्खरै एउटा दावी मात्रै भुक्तानी गरेका छौं । दावी भुक्तानीको संख्या बढेसँगै यस्ता समस्या आउँछन् । बीमा कम्पनीले सिधै बीमितसँग कुरा नगर्ने भएकाले अभिकर्ता मार्फत बीमा पोलिसी बिक्रि हुन्छन् ।
बीमा कम्पनीले जोखिम लिने हो । यो जोखिमको व्यवसाय हो । जोखिम नलिने हो भने बीमा नै हुन्न । हामीले अण्डरराईटिङ मार्फत बीमितहरुको खराब नियतको अध्ययन गर्छाै । ठूला इन्स्योरेन्समा मेडिकल पनि गराउँछौं । बीमा गराउँदा उमेर अनुसार प्रिमियम बढ्दै जान्छ ।
आजका दिनमा १२ वटा भन्दा बढी एक करोड भन्दा ठूला बिमित छन् । हामीले जर्मनीको ह्याण्डोभर रिमा पुनर्बिमा गरेका छौं । त्यहाँ जोखिम हस्तान्तरण गरेका हुन्छौं । हामीले लिने जोखिम भनेको थोरै हुन्छ । हामी सुरक्षित हुन्छौं । पुनर्बीमा कम्पनीका लागि एक दुई करोडको दावी भुक्तानी ठुलो कुरा हुन्न ।
यद्यपी हामीले गुणस्तरिय बीमा गराउनु पर्छ । धेरै दावी आउने कुरा पनि राम्रो मानिन्न । अण्डर राइटिङले स्वास्थ्य रिपोर्ट, सम्पतिको श्रोत लगायतका सबै कुरा हेर्ने गरेका छौं ।
आईपीओ कहिले आउँछ ?
चालु आर्थिक बर्षमै आइपीओ आउँछ । वित्तिय विवरण पास गरेपछि हाम्रो आइपीओका प्रक्रिया सुरु हुन्छ । आईपीओका लागि आवश्यक धेरै आधार तयार भैसकेका छन् । चुक्ता पुँजीका आधारमा हामी चौथो ठुलो कम्पनी हौं । अहिले एक अर्ब ५४ करोड पुँजी छ । ६६ करोडको आइपीओ ल्याउँदा २ अर्ब २० करोड चक्ता पुँजी पुग्ने रहेछ ।
ज्योति लाइफले सीइओ कहिले पाउँछ ?
सुरु देखि नै कम्पनीको प्रमुखको जिम्मेवारीमा मै छु । डेपुटी सिइओका रुपमा काम गरिरहेको छु । अब कम्पनीले चाँडै सिइओ पाउँछ । सिईओ छनौटको प्रक्रिया अघि बढिसकेको छ । विश्वास गरौं, अब चाँडै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सिइओ पाउनेछ ।