काठमाडौं । नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्न थप तीन वटा डब्बा थप्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो ।

‘बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमता विस्तारपछि दैनिक थप एक हजार यात्रुलाई सेवा दिन सकिन्छ ।’
२० वर्षअघि सन् १९९८ मा सेवा शुरु गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म यात्रु ओसार पसार गरिरहेको छ । यसमा सामान ओसार्ने ३० र यात्रु ओसार्ने एउटा डब्बा छ ।
क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने तीनवटै डब्बा यात्रुका लागि हुन् । हालको क्षमतामा मनकामना केबलकारले प्रतिघन्टा ६ सय यात्रु ओसारपसार गर्न सक्छ । अहिले यसको दैनिक यात्रु क्षमता चार हजार आठ सय छ । डब्बा थप गरेपछि दैनिक पाँच हजार आठ सय यात्रुलाई सेवा दिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिए ।
चितवन को–ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । क्षमता विस्तारपछि १३ देखि १४ लाख यात्रुलाई सेवा दिन सकिने कम्पनीको भनाइ छ । कम्पनीले केबलकारमा थप्न लागेको डब्बा कुरिनटारस्थित बटम स्टेसनमा आइसकेको छ । कम्पनीले अस्ट्रियाको डोपलमेयर कम्पनीबाट डब्बा आयात गरेको हो । डोपलमेयर केबलकार प्रविधिमा विश्वकै प्रमुखमध्येको एक कम्पनी मानिन्छ ।
आगामी दसैंसम्ममा डब्बा जडान भइसक्ने श्रेष्ठले जानकारी दिए । ‘दसैंका बेला मनकामना दर्शन गर्न आउने यात्रुको चाप बढ्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यस बेलासम्म क्षमता विस्तारको काम पनि सकिन्छ ।’ यसले दसैंमा मनकामना दर्शन गर्न जाने यात्रुलाई सहज हुने श्रेष्ठको भनाइ छ ।
क्षमता विस्तारका लागि कम्पनीले एक करोडभन्दा बढी लगानी गरेको श्रेष्ठले जानकारी दिए । चितवनको चेरेसस्थित केबलकार बटम स्टेसन र मनकामनास्थित टप स्टेसनबीचको दुरी ३.१३ किलोमिटर छ । केबलकारमा उक्त दुरी पार गर्न ८ देखि १० मिनेट लाग्छ । केबलकार सञ्चालनमा आउनु अघि हिँडेर पनि हजारौं यात्रु बर्सेनि प्रशिद्ध देवीमनकामनाको दर्शन गर्न पुग्थे । केबलकार सञ्चालनसँगै बृद्धबृद्धा, अशक्त र शारीरिक रुपमाकमजोर व्यक्तिहरु पनि सजिलै मनकामनापुग्नथालेको स्थानीय बताउँछन् ।