काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीहरुलाई देश विकासमा लाग्न सुझाव दिएका छन् । नेपाल निर्माण व्यावसायी महासंघको २०औं सम्मेलन उद्घाटन गर्दै ओलीले आफ्नो ‘सुखी नेपाल र समृद्ध नेपाली’को नारा पुरा गर्ने जिम्मेवारी व्यवसायीको भएको बताएका हुन् ।
ओलीले मुलुकी ऐन अपराध संहिताको प्रसंग निकाल्दै कानूनले व्यावसायीहरुकै हकहितको संरक्षण गर्ने बताए । ऐनमा “निर्माण सम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले बेइमानी नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाण घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तर भन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वा गराउन हुदैन । यसरी माथि उल्लेखित बमोजिमको कसुर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र १ लाख सम्म जरिवाना हुनेछ ।” भनिएकाे छ । यस ऐन भदौ १ देखि देशैभरी लागू भैसकेको छ ।
ओलीले ऐनमा स्पस्ट रुपमा जानाजान वा बेइमानी नियत उल्लेख गरिएकोले कुनै व्यवसायी डराउनु नपर्ने बताए । उनले भने-‘सरकारले ऐन बनाएर पासो थापेको होइन । देशको ६० प्रतिशतभन्दा बढी रकमको काम गर्ने व्यावसायी इमान्दार बन्नु पर्छ, जानाजान कमसल सामाग्रीको प्रयोग गर्ने अनि कानून कडा भयो भन्न पाइन्छ ?’ उनले व्यावसायीहरुले आफ्नो व्यवहार बिर्गादै लगेको र समयमै सच्निन आग्रह गरे । व्यवासायीहरूको समस्या के हो बुँदा बुँदा कुरा गर्न तयार रहेको समेत ओलीले बताए ।
कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले व्यावसायीहरुलाई सार्वजनिक खरिद ऐन बमोजिम कारबाही हुनुपर्ने माग गरे । नाकाबन्दी र मधेस आन्दोलनको कारण व्यवसायीहरुले समयमै निर्माण सम्पन्न गर्न नसकेको बताउँदै म्याद थप गर्न आग्रह गरे ।
उनले २ करोड सम्मको बोलपत्र स्थानीय तहबाटै गर्न र ठूला राष्ट्रिय गौरवको आयोजनामा नेपाली कम्पनीलाई पनि काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिए । महासंघको सम्मेलनले नयाँ कार्य समितिको समेत चयन गर्नेछ ।