काठमाडौं । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु ९५ लाख नौ हजार मुनाफा आर्जन गरेको छ ।
सूर्यविनायक नगरपालिका– १ र ४ को सिमाना बिरुवामा रहेको सो सहकारीको १६औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जनार्दन न्यौपानले शेयरधनी र सदस्यको मन जित्दै अगाडि बढ्न सफल भएकै कारण मुनाफा वृद्धि गर्न सफल भएको बताए ।
विसं २०७५ असार मसान्तसम्म शेयर पूँजी रु दुई करोड ७१ लाख १४ हजार पु¥याएको सहकारीले एक वर्षमा कूल रु ३६ करोड, २२ लाख ७५ हजार कारोवार गरेको छ । अध्यक्ष न्यौपानले सदस्यको चाहनाअनुसार विविध प्रकृतिका बचत तथा ऋणका कार्यक्रम ल्याएर बजार विस्तार गर्दै ब्याजदर, पुनरावलोकन र समायोजन एवं सदस्यलाई आयमूलक तथा व्यावसायिक ऋणमा सहयोग गर्दै आएको बताए ।
संस्थाका सचिव प्रमोद घिमिरेले संस्थाका सदस्यमा रु २८ करोड ११ लाख ७९ हजार ऋण लगानी गरेको र ऋणि सदस्यबाट साँवा ब्याज भुक्तानीमा विलम्ब हुनु, आयमूलक र सीपमूलक तालीम प्रदान गरी सदस्यलाई व्यावसायिक बनाउन नसक्नु चुनौती भएको बताए । संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेका अनुसार चालू आवमा संस्थाको बचत रु छ करोड २० लाख ९४ हजार वृद्धि गर्दै रु २८ करोड ९३ लाख ४१ हजार ८७६ पुगेको बताए ।
संस्थाको शेयर लाभांश कोषबाट २०७४ पुस मसान्तसम्म शेयर सदस्यलाई शेयर रकमको १५ प्रतिशत लाभांश वितरण गरिएको छ । कार्यक्रममा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढ्नु तथा कानूनी जटिलताको कारण सेवा केन्द्र र कार्य क्षेत्र विस्तार गर्न नसक्नु सहकारी संस्थाका लागि चुनौती बन्दै आएको बताए ।
उनले आवश्यकताअनुसार सहकारी संस्था मर्ज गर्दै ठूलो पूँजीको विस्तार गरी सेवामूलक ढङ्गले सहकारी अगाडि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा सूर्यविनायक नगरपालिकाका सहकारी अधिकृत लीलादेवी प्रसाई, जिल्ला सहकारी संस्थाका प्रतिनिधि रामचन्द्र प्रजापति, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि बालमुकुन्द उपाध्याय, त्रिवेणीश्वर सामुदायिक साकोसका प्रतिनिधि हरिबोल न्यौपानेलगायतले सहकारी नाफामुखीभन्दा सेवामुखी हुनसके सदस्य व्यवसायीकरणमा जान सक्ने बताए।
नयाँ कार्यसमिति चयन
संस्थाको १६औँ साधारणसभाले आगामी चार वर्षका लागि उद्धवप्रसाद चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रराज खड्का, सचिवमा मीठाराम न्यौपाने, कोषाध्यक्षमा सालिकराम घिमिरे तथा सञ्चालक सदस्यमा विशेश्वर चौलागाई, सहदेव न्यौपाने, मीना खड्का, नवराज घिमिरे, दीपककुमार न्यौपाने, विनु श्रेष्ठ र श्रीराम न्यौपाने तथा लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रमोद घिमिरे, सदस्यमा तीर्थराज चौलागाई र सन्तोष कार्की चयन भएका छन् । रासस