काठमाडौं । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्न लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गर्ने भएको छ । इलाम जिल्लामा लेप्चा समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गरिने भएको छ ।
गाउँपालिकाले बीसवर्षे कार्यनीतिक योजना निर्माण गर्दै आगामी पाँच वर्षभित्रमा सङ्ग्रहालय र घरबास निर्माण गर्न लागेको हो ।
घरबासमा लेप्चा जातिको परिकार मात्र व्यवस्था गरिने र पर्यटकलाई लेप्चाको खाद्यान्नको बारेमा जानकारी गराउन उद्देश्यले इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले बताएका छन् ।
लेप्चा जातिको भेषभुषा, खाद्यान्न तथा रितिरिवाजको अभिलेख राख्नका लागि गाउँपालिकाले सङ्ग्रहालय समेत निर्माण गर्ने भएको छ । पछिल्लो समय लेप्चाका भेषभुषा र रीतिरिवाज हराउँदै गएकाले जातिय पहिचान झल्काउन र अस्तित्व बचाउनका लागि सङ्ग्रहालय निर्माण गर्ने भएको छ । कोल्बुङ, इरौटार, जिर्मले, शान्तिपुरमा अधिकांश लेप्चा जातिको बसोबास रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर घरबास निर्माण गरिने भएको छ । रासस