काठमाडौं । बाँकेमा हुलाकी राजमार्ग अन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले बताएका छन् ।
नेपालगञ्जको पुरैनादेखि सुइया बघौडा सम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ । योजनाको बजेट सरकारले नियमित उपलब्ध गराउँदै गएमा २०७६ साउन सम्ममा काम सक्ने गरी कालोपत्रे शुरु गरिएको इञ्जिनीयर भण्डारीको भनाई रहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा शिवचोकबाट पुरैनासम्मको सडक ११ मिटर चौडा हुनुपर्नेमा सात मिटरमै बनाउन थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका छन् । सडकमा घर परेका स्थानीयवासी रामनारायण बर्माले आफ्नो घर भत्काउन आलटाल गरेपछि अन्य स्थानीयवासीले भने मापदण्डआनुसारकै सडक संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।
स्थानीयले आफ्नो घर अगाडिको नाली आफैँ निर्माण गर्न थालेपछि नगर प्रहरीले स्थानीयवासीको आग्रहमा ढलान गरेको नाली भत्काएको छ । सहमतिको आधारमा समाधान गरेर सडक बनाउने उपमहा नगरपालिकाका उपप्रमुख उमा थापा मगरले बताएका छन् । रासस