पोखरादेखि सिमरा सिधा हवाई सेवा, प्रदेश सरकारको पहलमा होटल व्यवसायीले गरे स्वागत

<p>पोखरा । पर्यटकीय नगरी पोखराबाट बाराको सिमरा र मनाङको हुम्दे विमानस्थलसम्म सिधा हवाई सेवा प्रदानका लागि गण्डकी प्रदेश सरकारले गरेको पहलकदमीको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । बाराबाट आएका व्यवसायी तथा सरकारी अधिकारीसँग प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छलफलमा पोखरालाई ती दुई क्षेत्रसँग जोड्ने निर्णय गरिनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका [&hellip;]</p>

पोखरा । पर्यटकीय नगरी पोखराबाट बाराको सिमरा र मनाङको हुम्दे विमानस्थलसम्म सिधा हवाई सेवा प्रदानका लागि गण्डकी प्रदेश सरकारले गरेको पहलकदमीको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ ।

बाराबाट आएका व्यवसायी तथा सरकारी अधिकारीसँग प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छलफलमा पोखरालाई ती दुई क्षेत्रसँग जोड्ने निर्णय गरिनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्वागतयोग्य भएको सङ्घका अध्यक्ष विकल तुलाचनले बताए ।

उनका अनुसार आगामी पुस २४ देखि हुम्दे विमानस्थल र माघ १५ बाट सिमरा विमानस्थलसँग पोखराबाट सिधा हवाई सेवा जोडिन लागेको हो ।

प्रदेश सरकारले चालू आवकोे नीति तथा कार्यक्रममा पर्यटकीय नगरी पोखरालाई सात वटै प्रदेशसँग हवाई सेवामार्फत जोड्ने विषय उल्लेख गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले जनप्रतिनिधिसँग बसेर गरेको छलफलमा उल्लिखित दुई विमानस्थलसम्म हवाई सेवा पोखराबाट सञ्चालन गर्ने निर्णय गरेका थिए ।

अध्यक्ष तुलाचनले झापाको भद्रपुर र नेपालगञ्जबाट समेत पोखरालाई सिधा हवाई सेवामार्फत जोड्न सरकारसँग माग गरे । आन्तरिक उडान विस्तारका साथै भारतका केही मुख्य शहरसम्म हवाई सेवामार्फत पोखरालाई जोड्न सके सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

Share News