काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको एफएनसीसीआईको १९ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथस“ग भारतको लखनउमा भेटवार्ता गरेको छ ।
नेपाल र उत्तरप्रदेशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन एफएनसीसीआई प्रतिनिधिमण्डल यतिखेर उत्तर प्रदेशको भ्रमणमा रहेको छ । महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न कामको सुरुवात गरेको बताएका छन् ।
भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म पुगेर विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने जानकारी दिएका छन् । नेपाल भारत बीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा विस्तार गर्नु आवश्यक रहेको बताउँदै नेपाली प्रतिनिधिमण्डलले राखेका समस्याको जवाफ दिंदै मुख्यमन्त्री योगीले भनेका हुन् ।
भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडी १० मिनेट भन्दा बढी रोकिन नहुने साथै, गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने मुख्यमन्त्री योगीले बताएका छन् । एफएनसीसीआईका अध्यक्ष राणाले दुई मुुलुक बीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण हुने बताएका छन् ।
दुई मुलुक बीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान प्रदान हुन आवश्यक रहेको बताउँदै नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र, विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा उत्तर प्रदेश सरकारको सहयोगको अपेक्षा गरेको अध्यक्ष राणाले बताएका छन् । एफएनसीसीआईका अध्यक्ष राणाको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको थियो ।
