
काठमाण्डौ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता दिन माग गरेका छन् ।
सांसद थापाले कर्मचारी समायोजन अध्यादेशका कारण देशव्यापी रुपमा कर्मचारी आन्दोलित भएको भन्दै विगतमा नै ल्याइएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
प्रदेश लोक सेवा आयोग, कर्मचारी समायोजन ऐन ल्याइएको भए हाल समस्या नआउने भन्दै उनले सरकारले कर्मचारी समायोजनमा ध्यान नदिइएकामा आपत्ति जनाए ।
उनले अध्यादेश फिर्ता लिएर तीन वटै तहको कर्मचारी समायोजनसम्बन्धी ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद थापाले आफूहरु सरकारसँग मिलेर नै काम गर्न तयार रहेकाले आवश्यक कानून ल्याउन अनुरोध गरे ।