
काठमाडौं । सरकार गठन भएका एक वर्ष नपुग्दै सत्तारुढ दलकै सांसदका तर्फबाट मध्यावधि चुनाव गर्ने प्रस्ताव आएको छ । सत्तारुढ संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले संघीय संसदको प्रतिनिधिसभामा शुक्रबारको बैठकमा भएका गतिविधिले संसदको नियमावलीको ‘ब्रेकडाउन’ भएको भन्दै अब मध्यावधि चुनावमा जानुपर्ने आवश्यकता देखिएको बताएकी हुन् । रिपोर्टर्स क्लबको मंगलबारको कार्यक्रममा उनले संसदको गतिविधिले सरकारले संसदलाई आफ्नो नियन्त्रणमा राखेको पुष्टि भएको समेत बताइन् ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले अहिलेको संसदको अवरोध जनताको बहुदलीय जनवादलाई अबलम्बन गर्ने दलबाट भएको भन्दै यो सिद्धान्तले राज्यशक्ति आफ्नो हातमा आएपछि दमनमा उत्रनुपर्ने वतालत गर्ने बताए ।
नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले संसद प्रतिपक्षी दलको हुने भन्दै आफुहरुलाई बोल्न नदिएर सभामुखले असल कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाइन् ।
अन्तिममा बोलेका नेकपाका राष्ट्रि सभाका सचेतक खिमलाल भण्डारीले संसदमा प्रधानमन्त्रीको संबोधनपछि प्रश्न सोध्नैपर्छ भन्ने केही नभएको भन्दै यो सबै कार्यव्यवस्था समितिले निर्धारण गर्र्ने बताए ।