विवेकशील साझाको महाधिवेशन २०७६ साल फागुनमा हुने, केन्द्रीय समिति बैठकमा के-के भयो ?

<p>काठमाडौँ । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक पुस ३० र माघ १ गते पार्टीको मुख्यालय बखुण्डोलमा बसेको छ । पार्टी केन्द्रीय समितिको बैठकले गरेका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । पार्टी बैठकले आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । विदेशमा रहेका पार्टीका [&hellip;]</p>


काठमाडौँ । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक पुस ३० र माघ १ गते पार्टीको मुख्यालय बखुण्डोलमा बसेको छ । पार्टी केन्द्रीय समितिको बैठकले गरेका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

पार्टी बैठकले आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी संगठनमा भूमिका र मताधिकारलाई सुनिश्चित गर्न स्पष्ट व्यवस्था गरिने निर्णय भएको प्रवक्ता डा. सूर्यराज आचार्यले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा पार्टीमा देखा परेका समस्या तथा त्यसको राजनीतिक र सांगठनिक समाधानको लागि महत्वपूर्ण निर्णय गरेको बताइयो । पार्टीका प्रवक्ता आचार्यले हालै पार्टीको केन्द्रीय समितिबाट बाहिरिएका केही सदस्यहरुले उत्पन्न गरेको अन्योल र सिर्जना गरेको भ्रमबारे केन्द्रीय समितिले संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको बताए ।

पार्टीका तत्कालीन एकजना संयोजकले नियोजितरुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रीय समितिको बैठकमा उपस्थित हुनु भन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रकृया शुरू गरेको प्रवक्ता आचार्यले बताए ।

केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुःखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ । साथै सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरेको मूल्यांकन पनि गरिएको पत्रकार सम्मेलनमा बताइयो ।

पार्टीले प्रदेश नम्बर १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ । भेटवाललाई पार्टीको विधान अनुसार पदेन केन्द्रिय सदस्य समेत चयन गरिएको छ । सुदूर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको गर्ने निर्णय भएको छ ।

पार्टीमा युवा तथा महिला सहभागितालाई प्रबर्धन गर्न र तीव्रता दिन ’विवेकशील साझा युवा संगठन’ र ’विवेकशील साझा महिला संगठन’ गठन गर्ने र तिनको संयोजकमा क्रमशः पार्टीको केन्द्रीय सदस्य अब्दुस मियाँ तथा पार्टीकी केन्द्रीय सदस्य सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरेको जनाइएको छ ।

पार्टीमा देखापरेका पछिल्ला चुनौतिहरु र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरीका पार्टी प्रतिनिधि सदस्यहरु सहित “विवेकशील साझा राष्ट्रिय सन्देश भेला”को आयोजना गर्ने निर्णय गरेको छ । साथै, माघ १३ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझाः अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

पार्टीका केन्द्रीय विभागहरुको पुर्नगठन र जिम्मेवारीको वाँडफाँड गरिएको छ, जसअनुसार कोष संकलन(डा उमेद पुन), संगठन (मुमाराम खनाल), अभियान(किशोर थापा), नीति तथा कार्यक्रम(डा सूर्यराज आचार्य), प्रशिक्षण (केशव दाहाल), सञ्चार(किरणकृष्ण श्रेष्ठ), सामाजिक न्याय तथा समावेशिता(प्रकाशचन्द्र परियार), कानून(निरूपमा यादव), उद्यमशीलता(रमेश महर्जन), तथ्याङ्क(राम साह), केन्द्रीय कार्यालय(मानवी पौडेल) तथा विदेश विभाग(रवीन्द्र मिश्र) ले सम्हाल्ने निर्णय भएको छ ।

पार्टीले मधेशको भावना, चाहाना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेश्रो हप्तादेखि विशेष ‘मधेस मिसन’ सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Share News