काठमाडौँ । प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल छलफलका लागि चीन जाने भएको छ । प्रस्तावित उक्त रेल परियोजनालाई अगाडि बढाउने गरी हुन लागेको चौथो बैठकमा भाग लिन नेपाली टोली चीन जान लागेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल चीन जाने तयारी भइरहेको जानकारी दिए ।
मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल ‘मार्चको अन्तिम साता या अप्रिल’ पहिलो साता चीन जाने तयारी भइरहेको जानकारी उनले दिए । बैठकको आयोजना चीनको कुन ठाउँमा गरिनेबारे चिनियाँ पक्षबाट अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त भइनसकेको उनले बताए ।
केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा यसअघि पहिलो र दोस्रो बैठक नेपालमा र तेस्रो बैठक चीनमा सम्पन्न भइसकेको छ ।
प्रस्तावित उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा मोडालिटीको विषयमा यसपालीको बैठक केन्द्रित हुने जानकारी सचिव अधिकारीले दिए । उक्त रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै तयार भइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।