
काठमाडौं । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव समारोहमा गभर्नर, डेपुटी गभर्नर तथा नेपाल बैंकर्स एशोसिएशनका अध्यक्षको टङस्लिप हुँदा भाषणमा गम्भीर त्रुटी गरेका छन् । लिखित मन्तव्य दिएका राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालदेखि मौखिक रुपमै सम्बोधन गरेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले त्यस्तो गल्ती गरेका हुन् ।
गभर्नर नेपालले भाषणका क्रममा फागुन मसान्तमा नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप ३ खर्ब ९ अर्ब र कर्जा लगानी २ खर्ब ७ अर्ब ४९ करोड रहेको बताएका हुन् । उनको लिखित भाषणमा भने फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप रु. ३००९ अर्ब तथा कर्जा लगानी २७४९ अर्ब लेखिएको थियो ।
त्यस्तै स्वागत मन्तव्यका क्रममा बोलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष प्रद्युम्न पोखरेल सम्बोधन गरेका छन् जबकी हालसम्म गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले एशोसिएसनको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् भने एशोसिएशनले यही बैशाख २७ गते १३औं साधारणसभा बोलाएको छ जसमा नयाँ अध्यक्ष तथा पदाधिकारीहरु निर्वाचित हुनेछन् ।
नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवलाई ६४ औं साधारणसभा भनेर सम्बोधन गरिदिएका छन् ।
भीआईपीहरुले बोल्दै गर्दा भएका यस्ता कमजोरीहरुको गल्तीलाई धेरैले त सामान्य रुपमा करेक्सन गरेर बुझ्लान् तर औपचारिक कार्यक्रमहरुमा बोलिएका यस्ता तथ्याङ्कहरुले कहिँकतै ठूलो अर्थ राख्न सक्छ । त्यति मात्रै होइन, यसले सहभागीहरुको वक्ताप्रतिको सम्मानमा समेत कमी ल्याउँछ भलै त्यस्तो भाव व्यवहारमा झल्कियोस् वा नझल्कियोस् ।