सिन्धुपाल्चोक । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ।
तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ ।
‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले शुक्रबार नागरिकसँग भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ।’ चीन सरकारको सहयोगमा निर्माण अन्तिम चरणमा पुगेको बन्दरगाह आउँदो मे २० (जेठ ६ गते) भित्र हस्तान्तरण गर्ने जानकारी उसले पठाइसकेकाले नाका सञ्चालनको तयारी थालिएको ढकालले बताए ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि यो व्यापारिक नाका बन्द छ। बन्दरगाह हस्तान्तरण भएपछि नाका सञ्चालनमा ल्याउने सहमित यसअघि नै नेपाल–चीनबीच भइसकेको प्रवक्ता ढकालले जानकारी दिए। विभिन्न उच्चस्तरीय भेटमा चिनियाँ अधिकारीले मे ३१ (जेठ १७) बाट नाका औपचारिक रुपमा सञ्चालनमा ल्याउन आफूहरुले तयारी थालेको बताउँदै आएका छन् ।
‘छिट्टै नाकाबाट व्यापारिक कारोबार सुरु हुनेमा कुनै सन्देह छैन,’ उनले भने। बन्दरगाह हस्तान्तरणसँगै नाका सञ्चालनमा ल्याउने पूर्वसहमति रहेकाले थप सम्झौता गरिरहन नपर्ने प्रवक्ता ढकालले प्रस्ट्याए । खाद्य, पशु क्वारेन्टाइन र सुरक्षा निकायलाई नाकामा फर्कने तयारी गर्न मन्त्रालयले निर्देशन दिइसकेको बताउँदै उनले भने, ‘बन्दरगाहमा भन्सार प्रणाली जोडेर तयारी हालतमा बस्न पनि निर्देशन गइसकेको छ ।’ उनका अनुसार मन्त्रालयकै अनुरोधमा सडक विभागले नाका जोड्ने अरनिको राजमार्ग मर्मत तथा सुधार गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।