
बेइजिङ । नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो । योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ ।
विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ । विभिन्न मुलुकसँग गरिने आर्थिक सहकार्य र सञ्जाल विस्तारको पहिलो एनेक्सको २३ औं बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ । ३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुख सम्मिलित गोलमेचपछि ३८ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ । वक्तव्यमा तीन ‘एनेक्स’ समेत छुट्याएर बीआरआईमार्फत अहिले भइरहेका र भविष्यमा हुने सहकार्यका योजना सूचीबद्ध छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्मेलन निकै फलदायी रहेको बताए। सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति सीले नेपालसहित सबै मुलुकसँग हुने सहकार्यलाई चीनले तालिकासहित बाहिर ल्याउने स्पष्ट पारे । सम्मेलन समापन समारोहमा राष्ट्रपति सीले बीआरआई परियोजनामा १५० मुलुकले चीनसँग सम्झौता गरेको जानकारी दिए। उनले भने, ‘साझा लक्ष्य हासिल गर्न र खुलापन तथा सुधारका क्षेत्रमा अगाडि बढ्न बीआरआई कोसेढुंगा हुनेछ ।’
चीनले नेपाललाई दक्षिण एसियासँग जोड्ने मुख्य द्वारका रूपमा लिँदै आएको छ। बीआरआईको फ्रेमवर्कभित्रको परियोजनामा रेल र हिमालय वारपार सञ्जाल विस्तार पर्नुलाई सकारात्मक मानिन्छ। नेपालले लामो समयदेखि चिनियाँ फ्रेमवर्कभित्र रेलवे विस्तार पार्नुपर्ने आग्रह गर्दै आएको थियो ।
३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुखबीच भएको सहमति कार्यान्वयनमा शंका नरहेको अधिकारीहरूले बताएका छन् । सम्मेलनमा पाँच हजारभन्दा बढी सहभागी थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।