
काठमाडौँ । मिडिया काउन्सिल सम्बन्धि विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्न खोजेपछि नेपाली पत्रकारहरु आन्दोलित भएका छन् । सो विधेयकमा राखिएका स्वतन्त्र प्रेस विरोधी प्रावधानका विरुद्धमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले सरकार प्रेसप्रति कठोर बन्दै गएको बताउँदै मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस विरोध रहेको बताए । त्यसका विरुद्ध महासंघ आन्दोलनमा उत्रिएको र आन्दोलनमा साथ दिन सम्पूर्ण मिडियाकर्मी र आम नागरिकलाई अनुरोध गरे ।
यता, नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मिडिया काउन्सिल सम्बन्धि विधेयकको विरोध गरेको छ । नाफिज आइतबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने प्रावधान हटाउन भनेको छ ।
संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारिएको सन्दर्भमा संघ (नाफिज) को गम्भीर ध्यानाकर्षण भएको छ–विज्ञप्तीमा उल्लेख छ ।
विधेयकमा प्रस्तावित व्यवस्थाविरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ–संस्थाले शुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागिताका लागि आग्रह समेत गरेको छ ।
यता, नेपाल मिडिया सोसाइटीले आइतबार नै विज्ञप्ती प्रकाशित गरी मिडिया काउन्सिल सम्बन्धि विधेयकप्रति आपत्ति जनाएको छ । सरकारले बनाउने ऐन कानून प्रेस स्वतन्त्रताका पक्षमा हुनु पर्ने सोसाइटीद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी नेपाली काँग्रेसले पनि मिडिया काउन्सिल सम्बन्धि विधेयकको विरोध गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धि विधेयक स्वतन्त्र प्रेस माथिको कू भएको बताए ।