९ महिनामा २ खर्ब ६५ अर्ब भन्सार राजस्व, लक्ष्य अनुसार उठ्यो

<p>काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको ९ महिनामा साढे २ खर्ब रुपैयाँभन्दा बढी भन्सार राजस्व उठाएको छ । भन्सार विभागले आयातमा लाग्ने कर तथा त्यसमा लाग्ने मूल्य अभिवृद्धि करसमेत गरी कुल २ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ भन्सार राजस्व उठाएको हो । सरकारले चालू आर्थिक वर्षमा कुल ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने [&hellip;]</p>


काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको ९ महिनामा साढे २ खर्ब रुपैयाँभन्दा बढी भन्सार राजस्व उठाएको छ । भन्सार विभागले आयातमा लाग्ने कर तथा त्यसमा लाग्ने मूल्य अभिवृद्धि करसमेत गरी कुल २ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ भन्सार राजस्व उठाएको हो ।

सरकारले चालू आर्थिक वर्षमा कुल ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । चैत मसान्तसम्ममा सरकारले कुल ५ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ राजस्व उठाएको छ । यसरी उठेको कुल राजस्वमा करिब ५० प्रतिशत योगदान भन्सारको देखिएको छ ।

चालू आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यअनुसार नै भन्सार राजस्व उठेको विभागका महानिर्देशक रामेश्वर ढुंगेलले बताए । ‘कुल राजस्वमा भन्सारको योगदान ५० प्रतिशतको हाराहारीमा छ,’ उनले भने, ‘जसमा आयातमा लाग्ने कर र त्यसमा लाग्ने भ्याट पनि जोडिन्छ ।’

मुलुकको भन्सार राजस्व मुख्यतः ६ वस्तुमा आधारित छन् । पेट्रोलियम पदार्थ, सवारीसाधन, मेसिनरी, विद्युतीय उपकरण, आइरन तथा प्लास्टिकजन्य वस्तुबाट सबैभन्दा धेरै भन्सार राजस्व उठाएको विभागले जनाएको छ । यस अवधिमा सवारीसाधन तथा पार्टस्बाट ६४ अर्ब ५२ करोड, विद्युतीय उपकरण पार्टस्बाट १३ अर्ब ५३ करोड, मेसिनरी तथा पार्टस्बाट १० अर्ब ७६ करोड, आइरन एन्ड स्टिलबाट २० अर्ब २५ करोड, पेट्रोलियमलगायतबाट ४७ अर्ब ३९ करोड र प्लास्टिकजन्य वस्तुबाट १० अर्ब ५२ करोड रुपैयाँ भन्सार राजस्व उठाएको हो ।

९ महिनामा नेपालले कुल ११ खर्ब ३१ अर्ब रुपैयाँको व्यापार गरेको छ । नेपालले १० खर्ब ६१ अर्ब रुपैयाँको आयात गर्दा ६९ अर्ब ८२ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । ९ महिनामा नेपालले कुल ९ खर्ब ९१ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Share News