काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७ सय ३७ जना युवालाई स्वदेशमै उद्यम तथा व्यवसाय गर्न सहयोग पुर्याउने उद्देश्यको सूचीकृत गरेको छ । सहुलियत कर्जाका लागि आवेदन माग गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले मापदण्ड पुगेका आवेदकलाई सूचीकृत गरेको हो ।
बोर्डले सूचीकरणका लागि दुई महिना लगाएर माघ ०७५ मसान्तसम्म वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको निवेदन संकलन गरेको थियो । कार्यविधि मापदण्डअनुसार पुनः जाँच गरी ७२ जिल्लाका १७ हजार ७ सय ३७ पुरुष तथा ८ सय ९३ महिला गरी १८ हजार ७ सय ६७ जनाको अन्तिम सूची तयार पारेको छ । आवेदन दिनेहरूमा ९५ प्रतिशत पुरुष र महिला ५ प्रतिशत मात्र रहेका छन् । सूचीकरण भएकाहरूको विवरण सबैले हेर्न र डाउनलोड गर्न मिल्ने गरी बोर्डले मंगलबार आफ्नो वेबसाइटमा अपलोड गर्ने जनाएको छ ।
सूचीकरणमा परेकाहरूमध्ये सबैभन्दा बढी मलेसियाबाट फर्केका रहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार सूचीकृत हुनेमा मलेसियाबाट फर्केका ६ हजार ४ सय ८, साउदीबाट फर्केका ४ हजार ३ सय ९२, युएईबाट फर्केका २ हजार ६ सय १७ रहेका छन् भने सबैभन्दा कम जापानबाट फर्केका ३९ जना सूचीकरणमा समेटिएका छन् ।
बोर्डले सूचीकरण भएका युवाहरूलाई मंगलबार नै सार्वजनिक सूचनामार्फत बैंक तथा वित्तीय संस्थाहरूमा सम्पर्क गर्न आग्रह गर्ने र त्यसै आधारमा बैंकहरूले सूचीकृत भएका युवाहरूलाई ऋण प्रवाह गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीप र पुँजीको प्रयोग गरी स्वदेशमै उद्योग तथा व्यवसायको प्रवद्र्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने सरकारको नीति छ । त्यसका लागि सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, ०७५ समेत स्वीकृत गरिसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।