पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटककाे सङ्ख्या बढ्याे

<p>काठमाडौं । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् [&hellip;]</p>

काठमाडौं । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् ।

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल बाटिका रिसोर्ट, पोखराका सञ्चालक सन्तोष पोखरेलका अनुसार पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश नेपालको भैरहवा सुनौली नाका हुँदै आउने गरेका छन् ।

तालैतालको शहर पोखरा र यहाँ नजिकै रहेको हिमाल आदिको दृश्यावलोकन गर्दै पर्यटक रमाउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न जाने गरेको पोखरेलले जानकारी दिएका छन् ।

पोखरामा भारतीय पर्यटकको आगमन बढाउन नेपाल पर्यटन बोर्डसहित यहाँका पर्यटन सम्बद्ध सङ्घसंस्थाले गरेको प्रर्वद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताएका हुन् ।

“यस समयमा विशेषतः दक्षिण भारत, पश्चिम बङ्गाल, महाराष्ट्र, उत्तरप्रदेश, विहार लगायतका स्थानबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उनले भने, “भौगोलिक निकटता, धार्मिक एवं सांस्कृतिक स्थलको बाहुल्यता आदिका कारण पनि भारतीय पर्यटकका लागि नेपाल घुम्ने उपयुक्त स्थल हो ।”

भारतीय पर्यटक पोखरामा रहेका धार्मिकस्थलको दर्शनका साथै यहाँबाट बाग्लुङ कालिका, गलेश्वर धाम हुँदै मुक्तिनाथसमेतको दर्शनका लागि पुग्ने गरेका छन् । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले पनि भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेको छ ।

पछिल्ला दिन भारतीय पर्यटकको आगमनले पोखराको होटेल व्यवसायमा पनि उत्साह थपेको होटेल एशोसिएन अफ नेपाल(हान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष विकल तुलाचनले बताए ।

यतिखेर पोखरा आएका पर्यटकमध्ये अधिकांशले दुई रात पोखरामा बिताउने गरेको उनको भनाइ छ । अध्यक्ष तुलाचनका अनुसार पोखरामा मात्रै पर्यटक लक्षित होटेलमा रु दुई खर्बभन्दा बढी लगानी पुगिसकेको छ । पोखरामा भण्डै ७०० भन्दाबढी पर्यटक लक्षित होटेल रहेको उनले जानकारी दिएका छन् ।

पोखरा आउने भारतीय पर्यटकमध्ये कोही अत्यन्त सुविधा सम्पन्न त कोही मध्यमस्तरका होटेलमा बस्ने गरेको यहाँका व्यवसायीको अनुभव छ । केही दिनयता बढेको भारतीय पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको होटल रानीवन अर्किट, लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए ।

यस याममा खासै उल्लेख्य सङ्ख्यामा पर्यटक नआउने गरेको भए पनि केही दिनयता भारतीय पर्यटकको आगमनले व्यवसायमा उत्साह थपेको भुजेलले बताएका छन् । नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो । भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा भने अझै वृद्धि हुन नसकेको व्यवसायी बताउँछन् ।

नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकामा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेका छन् । रासस

Share News