काठमाडौं । पछिल्लो समय कर्जाको माग घट्दै गएको छ । वाणिज्य बैंकहरूले मंसिर महिनामा ७ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् । गत आवको यो महिनामा ‘क’ वर्गका वाणिज्य बैंकहरूले ३१ अर्ब कर्जा प्रवाह गरेका थिए । यस आवको मंसिरको तुलनामा चालु आवको मंसिरमा ७७ प्रतिशतले कर्जा प्रवाह घटेको छ ।
चालु आवको साउनमा वाणिज्य बैंकहरूले ९ अर्ब कर्जा प्रवाह गरेका थिए । भदौमा सो लगानी बढेर ५५ अर्ब पुग्यो । असोजमा अझ लगानी वृद्धि भएर ६८ अर्ब पुगेपछि बैंकर्सहरूले फेरि लगानी योग्य पुँजी अभाव हुने भन्दै चिन्तित देखिएका थिए । तर, त्यसो भएन मंसिरमा कर्जाको माग एक्कासी घट्यो ।
चालु आवमा निर्माण सम्बन्धि कार्य धेरै नहुँदा बैंकको कर्जा घट्न गएको हो । पछिल्लो समय कर्जा प्रवाह त्यति बढ्न सकेको छैन,’ नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष भुवन दाहालले भने ‘निर्माण व्यवसायले गति नलिदा यसको असर कर्जा प्रवाहमा देखिएको हो ।’ निर्माणमा मात्रै होइन समग्र कर्जा प्रवाहमानै सुस्तता आएको छ । एसोसिएशनका अनुसार निर्माण सामग्री समेत बिक्री नभएर थन्किएकोे अवस्था भएकोले पनि कर्जामा उत्सुकता नदेखिएको हो ।
राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय निर्माण क्षेत्रमा लगानी घट्दै गएको देखाएको छ । कार्तिक महिनामा वाणिज्य बैंकहरूबाट २ अर्ब १२ करोडमात्रै लगानी भएको छ । यो अवधिमा कर्जा प्रवाहकमा विकास बैंक र फाइनान्स कम्पनीको हिस्सा बढी रहेको छ । सात अर्बको कर्जा लगानीमा वाँकी कर्जाको हिस्सा भने ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीको रहेकोे छ ।
चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरूले २ खर्ब ६८ अर्ब ४७ करोड कर्जा प्रवाह गरेका छन् । असोजसम्म निर्माण क्षेत्रमा २ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरिएको थियो । चालु आवको कार्तिकसम्म २७ वटा वाणिज्य बैंकले कुल १८ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले साढे ३० खर्ब कर्जा प्रवाह गरेका छन् । सो कर्जामध्ये निर्माण क्षेत्रमा साढे १० प्रतिशत अर्थात तीन खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका छन् ।