काठमाडाैं । काठमाडौं उपत्यकालाई रेलले घेर्ने सरकारको ठुलो योजना छ । यही योजना र रणनीतिलाई आत्मसाथ गर्दै सरकारी मातहतका कार्यालयहरु रेल निर्माणको तिव्र अध्ययनमा जुटेका छन् । काठमाडौं महानगरपालिकाले निर्माण गर्ने भनिएको मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ ।
काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालन हुने मोनोरेलको डीपीआर तयार भएको महानगरले जनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको डीपीआर तयार भएको बताए । चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी)ले मोनोरेलको डीपीआर तयार पारेर महानगरलाई बुझाइसकेको छ ।
महानगर र सीआरसीबीच गत वर्ष पुसमा डीपीआर निर्माण गर्ने सम्बन्धि सम्झौता भएको थियो । महानगरका मेयर विद्या सुन्दर शाक्यले कोटेश्वरकलंकी, कलंकी९महाराजगन्ज र महाराजगन्ज ९कोटेश्वर खण्डमा मोनोरल सञ्चालन हुने बताए । ‘एक सय किलोमिटर प्रतिघण्टा गुड्ने रेलले एक पटकमा एक हजारभन्दा धेरै यात्रुलाई सेवा दिने अनुमान गरिएको छ, मोनोरेल चक्रपथमा तीन चरणमा निर्माण गरिनेछ ।’ उनले भने ।
डीपीआरमा रेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यस्थापनको अनुमान, उपत्यकाको साढे २७ किमि दूरीभित्रको माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने कार्यसमेत अघि बढेको छ ।
मोनोरेल सञ्चालन गर्न १६ अर्ब
काठमाडौंको चक्रपथ क्षेत्रमा मोनोरेल सञ्चालन गर्न १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । शाक्यले डीपीआरअनुसार १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । उनले चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसनकै आर्थिक तथा प्राविधिक सहयोगमा डीपीआर तयार भएको बताए ।
मोनोरेलको सम्भाव्यता अध्ययन पनि सीआरसीसीले नै गरेको थियो। निजी सार्वजनिक साझेदारी अनुसार महानगरले नै सञ्चालन गर्ने गरी निर्माण कार्य अगाडि बढ्ने छ । काठमाडौंमा चल्ने रेलको मुख्य आर्थिक स्रोत यात्रु भाडा हो। औसत दैनिक कतिको संख्यामा यात्रु चढ्दा रेल सञ्चालन गर्न सम्भव हुन्छ ।
३० लाखभन्दा माथि जनसंख्या भएको सहरको यातायात प्रणालीलाई व्यवस्थित गर्न मास ट्रान्सपोर्टको आवश्यकता पर्छ । हाल उपत्यकाको जनसंख्या करिब ६० लाख हाराहारी गेको अनुमान छ। यो जनसंख्यालाई व्यवस्थित गर्न पनि रेलको आवश्यकता छ ।
मेट्रो रेलको पनि अध्ययन गरिँदै
काठमाडौंको उपत्यकाको ट्राफिक अवस्थालाई व्यवस्थित र सुसविधा सम्पन्न सहरका रुपमा विकास गर्न सरकारले मेट्रो रेल पनि सञ्चालन गर्ने भएको छ । लामो समयदेखि काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण गर्ने भनिएपनि निर्माणको प्रक्रिया भने अहिलेसम्म अगाडि बढेको छैन ।
चीनको एक कम्पनीले मेट्रो रेलको डीपीआर अध्ययनमा जुटेको छ । यो रेल विभागको मातहतमा रहने छ । मेट्रोरेलको डीपीआर तयार हुन अझैं एक वर्ष लाग्ने रेल विभागका एक अधिकारीले बताए । सरकारले सातदोबाटो९रत्नपार्क९चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने भएको छ ।
रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो । यो रुटमा सन् २०११ मा विभागले सम्भाब्यता अध्ययन गरिसकेको छ । कोरियन कम्पनीमार्फत मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिएको थियो ।
त्यसैगरी विभागले सातदोबाटोबाट खोकना र नारायणगोपालचोकबाट बूढानीलकण्ठसम्म पनि मेट्रो रेल बनाउने बारे सम्भाब्यता अध्ययन गर्ने भएको छ । नागढुंगा९धुलिखेल रुट ४५ किलोमिटर र बूढानीलकण्ठ९खोकना ५४ किलोमिटर लम्बाइका हुनेछन् । दुवै मार्गका लागि ३५ मेगावाट विद्युत आवश्यक पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
२५ पुस ०७३ को बोर्ड बैठकले सम्भाव्यतासँगै मेट्रोको मोडेल र अनुदानबारे अध्ययनका लागि कमिटी गठन गरेको थियो ।
सरकारले यस्तो रेल सार्वजनिक-निजी-साझेदारीअन्तर्गत बुट मोडेलमा निर्माण गर्ने योजना बनाएको छ । लगानी बोर्डको अध्ययनअनुसार काठमाडौंमा दैनिक ४० लाख यात्रु एक ठाउँबाट अर्को ठाउँसम्म ओहोरदोहोर गर्छन् ।
लगानी बोर्डले २०७४ मा गरेको अध्ययनले निर्माण थालेको चार वर्षभित्र काठमाडौंमा रेल गुडाउन सम्भव रहेको देखाएको थियो । काठमाडौंमा मेट्रो रेलको सम्भाव्यताबारे अध्ययन गर्न बोर्डले एक उच्चस्तरीय कमिटी गठन गरेको थियो । कमिटीको प्रतिवेदनअनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग सम्भव देखिएको छ, जसको लागत त्यतिबेला करिब तीन खर्ब १६ अर्ब हुने उल्लेख गरिएको थियो । अध्ययनले काठमाडौंमा दुईवटा रुटमा रेलमार्ग सम्भव देखाएको थियो ।
मोनोरेल र मेट्राे बनाउनेमा मतभेद
काठमाडौंमा मोनारेल आवश्यक कि मेट्रोरेल भन्ने विषयमा बहस पनि चल्न थालेको छ । सरकारी निकायहरु नै एक आपसमा छलफल र बहस नगरी काम गर्न अगाडि बढेका देखिन्छन् ।
धेरैले उपत्यकामा मोनोरलभन्दा पनि मेट्रोरेल आवश्यक छ भनेर आफ्नो धारणा राख्न थालेका छन् । तर, नेताहरुले चुनावमा चुनावी नारा बनाएकै कारण चक्रपथमा मोनोरेल नै गुडाउने बताइरहेका छन् । हुनतः यी दुवै मास ट्रान्जिट हुन् । तुलनात्मक रुपमा मेट्रोले धेरै यात्रु बोक्छ ।
मेट्रोरेल भनेको ‘ह्विल एण्ड ट्रयाक’ अर्थात लिक र फलामको चक्का । आकाशमा, जमिनमुनि वा जमिनमा जता बनाएपनि मेट्रोरेलको संरचना ह्वील एण्ड ट्रयाक नै हो । यो लिग वा पट्रीमा दुई वटा रेलमा फलामको चक्का गुड्दछ । पूर्वाधार रेल विभागका एक अधिकारीले रेल सम्बन्धि महानगरसँग कुनै सहकार्य नभएको बताए । यसले पनि रेल विभाग र महानगरबीच कुन रेल बनाउँदा उचित हुन्छ भन्ने बारे बहस नभएकाे बुझ्न सकिन्छ ।