काठमाडौं, २४ माघ । सरकारले एक हप्ता भित्रै उर्जा संकट निवारण काल घोषणा गर्ने भएको छ । उर्जा मन्त्रालयले उर्जा संकट निवारण काल सम्बन्धी गुरुयोजना तयार गरिसकेको छ । प्रधानमन्त्री केपी ओलीलाई ब्रिफिङ गरेर सो गुरु योजना मन्त्री परिषदमा पेश गरिने उप प्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले बताए ।
मन्त्रालयले तयार पारेको गुरु योजनामा एक बर्ष भित्र जनताले महशुस गर्ने गरि लोड सेडिङ घटाउने र दुई बर्ष भित्र आफ्नै उत्पादनले लोडसेडिङको अन्त्य गर्ने उल्लेख गरिएको छ ।१० बर्षमा १० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्यसहित तयार पारिएको गुरु योजनाले जल विद्युतको उत्पादन, ट्रान्समिसन लाईन र वितरण प्रणालीको ठोस योजना अघि सारेका उप प्रधान तथा उर्जा मन्त्री रायमाझीले बताए ।
यस्तो छ एक बर्षे योजना
–भूकम्पले बन्द तथा अवरुद्ध भएका ११० मेगावाट क्षमताका बिभिन्न जल विद्युत आयोजना सुचारु गरिसक्ने ।
–निर्माण सम्पन्न हुनै लागेका २०० मेगावाट क्षमताका आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग गर्ने
–१५० मेगावाट पिकिङ ड्यामबाट उत्पादन बढाउने
– भारतबाट २०० मेगावाट किनिरहने र थप २०० मेगावाट गरेर ४०० मेगावाट खरिद गर्ने ।
– हाल उत्पादन भैरहेका ३०० मेगावाट जारी रहने ।
– ३०० मेगावाट सोलार प्लान्टबाट उत्पादन गर्ने ।
मन्त्रालयले यसरी आगामी एक बर्ष भित्रमा १२०० मेगावाट विद्युत आपुर्ति गरेर मुलभूत रुपमा लोड सेडिङ अन्त्य गर्ने मन्त्री रायमाझीले बताए । उनले उर्जा संकट निवारण काललाई संकटकाल नभएर फास्ट ट्रयाकमा काम गर्ने समय भएको पनि बताए । ‘संकटकाल भनेको घाँटी निमोठ्ने र दमन गर्ने समय होइन, त्यो त समस्याको गाँठो फुकाउने अभियान हो ।’ मन्त्री रायमाझीले भने ।
भारत, चीन, बंगलादेश र पाकिस्तानसम्म क्रस बोर्डर ट्रान्समिसन लाईन विस्तारको काम योजनामा समेटिएको उनले जानकारी पनि दिए ।