कोइरालालाई उपचार गर्न किन अस्पतालमा लगिएन ?

<p>टिप्पणी/विकासन्युज काठमाडौं, २६ माघ । समाजको विकाससँगै मान्छेको जन्म र मृत्यु अस्पतालमा हुन थालेको छ । सामान्य नागरिक पनि बिरामी पर्दा अस्पताल लगिन्छ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको गए राती आफ्नै ओछ्यानमा निधन भयो । उनी देशको सबैभन्दा ठूलो पार्टीको सभापति मात्रै होइनन्, निवर्तमान प्रधानमन्त्री हुन्, प्रमुख प्रतिपक्षी दलका नेता पनि हुन् । ज्वरो [&hellip;]</p>

टिप्पणी/विकासन्युज

काठमाडौं, २६ माघ । समाजको विकाससँगै मान्छेको जन्म र मृत्यु अस्पतालमा हुन थालेको छ । सामान्य नागरिक पनि बिरामी पर्दा अस्पताल लगिन्छ ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको गए राती आफ्नै ओछ्यानमा निधन भयो । उनी देशको सबैभन्दा ठूलो पार्टीको सभापति मात्रै होइनन्, निवर्तमान प्रधानमन्त्री हुन्, प्रमुख प्रतिपक्षी दलका नेता पनि हुन् ।

ज्वरो र निमोनियाका विरामी कोइरालाले उपचारको लागि अस्पताल पुग्ने समय पनि पाएनन् । उनी विरामी पर्दा किन अस्पताल लगिएन ?
koirala
सार्वजनिक भएको विवरण अनुसार ज्वरो र निमोनियाको कारण उनको निधन भयो । कोइरालाका निजी चिकित्सक करबीरनाथ योगीले निमोनियाको कारण ‘टाइप टु रेस्पिरेटरी फेलियर’को कारण कोइरालाको निधन भएको सार्वजनिक गरेका छन् ।

योगीले सार्वजनिक रुपमा यो पनि बताएका छन् कि पहिला उनलाई अस्पताल लैजाने बारेमा सोचिएन । स्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्स बोलाइयो । तर उनलाई उपचार गर्न अस्पतालसम्म पुर्याउनै भ्याइएन ।

संयोग अर्काे पनि छ । सोमवार नेपाली काँग्रेसको काठमाडौं जिल्ला अधिबेशन थियो । सो अधिबेशनको प्रमुख अतिथि सभापति कोइराला नै थिए । उनले नै कार्यक्रम उद्घाटन गर्ने भनेर प्रचार प्रसार गरिएको थियो । अधिबेशन प्रचारको लागि टाँगिएका तुल व्यानरमा कोइरालाको फोटो राखेर उनी प्रमुख अतिथि हुने भनिएको पनि थियो ।

सोमवार आफ्नै पार्टीको अधिबेशनमा प्रमुख अतिथि राखिएका व्यक्ति आउनै नसक्ने गरी विरामी पर्दा काँग्रेसजनले त्यसको खोजी किन गरेनन् ? जिब्रोको क्यान्सरका बिरामीकोइराला क्यान्सरबाट पूर्ण रुपमा निको भएको बताइएको थियो । क्यान्सर रोग विजेता भनेर कोइराला बिदेशी समाचारहरुमा पनि छाए । उनले पनि आफू पूर्णरुपमा स्वस्थ भएको बताउने गरेका थिए । क्यान्सर जस्तो रोगसँग लड्न सक्ने कोइराला ज्वरोको कारण किन सुतेकै ठाउमा लगभग बेखबर मरे ?

हो, औषधि विज्ञानले पनि मान्छे बचाउन सक्दैन । मान्छेको मृत्यू अवश्यम्भावी छ । यो शास्वत सत्य हो । तर ६० वर्षभन्दा लामो राजनीतिक जीबन बिताएका, ६४ वर्षदेखिको संविधानसभाबाट संविधान बनाउने नेपाली सपना पूरा गर्ने समय सरकारको नेतृत्व गरेका, देशको सबैभन्दा ठूलो राजनीतिक दलको सभापति, निवर्तमान प्रधानमन्त्री, संसदमा प्रमुख विपक्षी दलको नेतालाई उपचारको लागि अस्पताल पुर्याउन किन भ्याइएन ?

सामान्य परिवारमा कोही व्यक्ति ज्वरोको कारण थलियो र निमोनियासमेत भैसक्ने अवस्था आयो भने किन अस्पताल नलगेको भनेर छिमेकीले प्रश्न गर्छन् । कोइरालाको मृत्यु हृदयघात, मस्तिस्कघात, दुर्घटना वा यस्तै अन्य कुनै आकस्मिक कारणले भएको होइन । ज्वरोको कारण निमोनिया भएर मर्ने अवस्था आउदा अस्पताल गएर उपचार गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो कि होइन ? कोइलाले यो हक किन पाएनन् ? आफ्नै सभापतिको उपचार गर्न सक्रियता काँग्रेसले किन नदेखाएको ? निबर्तमान प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेताको उपचार गर्नुपर्ने दायित्व सरकारको हो कि होइन ? हो भने सरकार आफ्नो दायित्वबाट किन च्यूत भएको ?

कोइरालाको मृत्यु कुनै सामन्ती शासकको मृत्यु जस्तै भयो । उनी विरामी परेको र स्वास्थ्य अवस्था खराब रहेको सत्य कसैले पनि बाहिर ल्याउन । उनी ज्वरो र निमोनियाको कारण मृत्यूसँग लडिरहेका छन् भन्ने जानकारी नागरिकले पाएनन् । जो पारदर्शीताको लागि जीबनभर लडिरहे, उनकै मृत्यू अप्रत्यासित र अपारदर्शी भयो । उनलाई ज्वरो र निमोनियाले थला पारेको र स्वास्थ्य अवस्था कमजोर रहेको तथ्य किन लुकाइयो ? यसको जिम्मेवारी कसैले लिनु पर्दैन ?

भाग्यवादमा विश्वास गर्ने हो भने उनको लेखान्त त्यति नै थियो । मात्र ग्लानी के हुनुपर्छ भने जीवनको अन्तिम क्षणमा उनले उपचार पाएनन् । यसमा कमजोरी भएको छ । मुलुकले एउटा सादगी नेता गुमाएको छ । कोइरालाको आत्माको चीर शान्तिको कामना ।

Share News