काठमाडौं । लकडाउनअघि बीमा कम्पनीहरुमा मोटर बीमा सम्बन्धि औसतमा दैनिक ५० वटा जति दाबी पथ्र्यो । लकडाउनको अवधिमा सो संख्या दैनिक १ देखि २ मा समित हुन पुगेको छ ।
लकडाउनले सडकमा सवारी साधन गुड्न नपाउँदा बीमा कम्पनीहरुमा आउँने मोटर दाबीको संख्यामा ह्वात्तै कमी आएको कम्पनीहरुले बताएका छन् । विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुले बताए अनुसार लकडाउनकै कारण पहिलेको तुलनामा अहिले मोटर बीमाको दाबी संख्या अत्यन्तै न्युन छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिएको जानकारी अनुसार सडकमा अहिले गाढी ठप्प रहेकाले दुर्घटना कम भएको तथा बीमा दाबी पनि घटेको हो ।
‘लकडाउन पहिले दैनिक ४० को संख्यामा सवारी दुर्घटना बीमा दाबी पर्ने गरेको थियो, अहिले मुस्किलले १ देखि २ वटा दाबी पर्ने गरेका छन्, सडकमा गाडीको संख्या घटेसँगै बीमा दाबी समेत एकाएक घट्न थालेको हो’, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसँग भने ।
यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार मोटरको दाबी केही मात्रामा परेपनि संख्या भने घटेको छ ।
‘अहिले अलि–अलि दाबी परेपनि पहिलेको तुलनामा घटेको छ, दाबी संख्या घट्बढ भइरहने भएपनि लकडाउनको कारण अर्थतन्त्र नै प्रभावित हुने अवस्था आएमा बीमा कम्पनीहरुले आवश्यक रणनीति अपनाएर अघि बढ्नु पर्छ,’ प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैद्यवारका अनुसार मोटर दाबी अत्यन्तै कम परेका छन् । तर, जति दाबी परेका छन्, तिनको भुक्तानी बीमा कम्पनीहरुले तुरुन्तै गराउँदै आएका छन् ।
‘लकडाउन पहिले एकदिनमा पर्ने मोटर बीमा दाबी अहिले बल्लतल्ल महिनामा दिनमा पर्न थालेको छ, हामी कहाँ परेको दाबीको तत्काल भुक्तानी गर्ने गरेका छौं,’ प्रमुख कार्यकारी अधिकृत बैद्यवारले भने ।