लकडाउनले बीमा कम्पनीहरुको ७ अर्बको आईपीओ अन्योलमा

<p>काठमाडौं । पछिल्लो समय लाईसेन्स पाएका (नयाँ बीमा कम्पनी) हरुको साधारण सेयर कहिले निष्काशन हुने भन्ने विषयमा कुनै टुंगो लागेको छैन । साधारण सेयरका लागि कतिपय कम्पनीहरुले प्रकृया पूरा गरेपनि निष्काशनलाई भने समय लाग्ने देखिएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार बीमा कम्पनीहरुले आफ्नो तर्फबाट गर्नु पर्ने काम [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय लाईसेन्स पाएका (नयाँ बीमा कम्पनी) हरुको साधारण सेयर कहिले निष्काशन हुने भन्ने विषयमा कुनै टुंगो लागेको छैन । साधारण सेयरका लागि कतिपय कम्पनीहरुले प्रकृया पूरा गरेपनि निष्काशनलाई भने समय लाग्ने देखिएको छ ।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार बीमा कम्पनीहरुले आफ्नो तर्फबाट गर्नु पर्ने काम सकेका छन् । सेयर निष्कासनको लागि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबा हुनु पर्ने केही काम भने बाँकी छन् ।

‘अहिले देशभर लकडाउन छ, हामीले साधारण सेयर निष्काशन लागि गर्नुपर्ने सबै काम गरिसकेका छौं, धितोपत्र बोर्डमा विचाराधिन अवस्थामा रहेका कामहरु अहिले त्यत्तिकै थाती छन्, अहिले देशको परिस्थिति नै विषम छ, हरेक किसिमका क्रियाकलाप अहिले रोकिएकाले सेयर निष्कासन दोस्रो प्राथमिकताको विषय भएको छ,’ सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले विकासन्युजसँग भने ।

यस्तै, जनलर इन्स्योरेन्स कम्पनीका महा–प्रबन्धक एसके टमोटका अनुसार केही ढिलाईबाट भएपनि कम्पनीहरु सेयर निष्कासनको प्रक्रियामा अघि बढिसकेका छन् । तर, सेयर निष्कासन प्रक्रियालार्य लकडाउनले प्रभावित पारेको छ ।

‘हामीले चैत्र १४ गते आर्थिक वर्ष २०७५/७६ को एजिएम राखेका थियौं, तर कोरोना महामारीका कारण एजिएम नै स्थगित हुन पुग्यो, सोही कारण हामीले एजिएम सारेका छौँ, अब अफिसहरु सामान्य रुपमा सुचारु भएपछि प्रकृया अघि बढ्छ, बोर्डबाट पास हुनपनि महिनौ लाग्ने देखिएको छ, त्यहाँबाट फटाफट काम भएमा त चाडै निष्काशन हुने सम्भावना पनि छ’, जनरल इन्स्योरेन्स कम्पनीका महा–प्रबन्धक टमोटले भने ।

अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार धितोपत्र बोर्डले केही कमेन्ट गरेको र त्यसको जवाफ दिन खोज्दैगर्दा लकडाउनको कारण काम रोकिएको छ ।

‘साधारण सेयर निष्कासनको लागि धितोपत्र बोर्डले अन्तिम चरणमा पुगेको जानकारी दिएको थियो, हामीले आफ्नोतर्फबाट काम गरिरहेकै थियौं, बोर्डबाट आएको केही कमेन्टको जवाफ दिन बाँकी नै हुँदा काम रोकिन पुगेको अवस्था छ, चालु आर्थिक वर्षको असार मसान्तसम्म साधारण सेयर निष्काशन गर्न पनि त्यति सहज देखिदैन, अब हेर्दै जाउँ के के हुन्छ,’ अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।

कति आउँछ आईपीओ ?

अहिले संचालनमा रहेका १० वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनीतर्फ अडोज, जनरल र सानिमा जनरलले ३०/३० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् ।

यस्तै, जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफले ७५ करोड, ज्योति लाइफले ६६ करोड, युनियन लाइफले ६४ करोड ५० लाख, रिलायन्स लाइफले ६३ करोड र सानिमा लाइफले ६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् । प्रभु लाइफ, आईएमई लाइफ, रिलायवल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६०/६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् ।

तर, कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले देशभर लागू गरेको लकडाउनको कारण कम्पनीहरुले जारी गर्न लागेको आईपीओ अनिश्चित भएको छ । यी सबै कम्पनीको गरी करिब ७ अर्ब रुपैयाँ बराबरको आईपीओ आउनेछ । आईपीओ जारी गर्ने प्रक्रियामा रहेको नेपाल पुनर्बीमा कम्पनीले भने आईपीओ जारी गरिसकेको छ ।

Share News