काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले ११ चैतदेखि देशभर लागू गरेको लकडाउनको अवधि १ महिनाभन्दा बढी समय भइसकेको छ । सरकारले २५ बैशाखसम्म देशभर लकडाउन जारी गर्ने निर्णय गरेको छ ।
अहिले नेपालको वार्षिक कूल गार्हस्थ उत्पादन ३६ खर्ब रुपैयाँको हाराहारीमा भएको मानिन्छ । अर्थात प्रतिमहिना औसत कूल गार्हस्थ उत्पादन ३ खर्ब रुपैयाँ बराबरको छ । सरकारले लागू गरेको लकडाउनको कारण प्रतिमहिना ३ खर्ब रुपैयाँको दरले नोक्सानी भइरहेको छ ।
लकडाउनका कारण उद्योग व्यवसाय थलापरिसकेको उद्योगी व्यवसायीले बताएका छन् । लकडाउनको समयमा पनि उद्योेगले कर्मचारीलाई तलब दिनै परेको छ, बैंकबाट लिएको ऋणको किस्ता तिर्नै परेको छ, भाडा बुझाउनै परेको छ, निश्चित रकमसम्मको विजुलीको विल तिर्नै परेको छ । अन्य निश्चित खर्च भइरहेका छन् ।
यस्तै खर्चको कारण आफूहरुलाई थप समस्या भएको उद्योगी व्यवसायीको भनाइ छ । तर, सरकारले लागू गरेको लकडाउन जस्ता अवस्थाको बीमा गर्न सकिदैन ? यस्तो अवस्थाको बीमा गर्ने हो भने उद्योग तथा कम्पनीहरु नोक्सानीमा जानुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य हुने पो थियो कि ?
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल उद्योग प्रतिष्ठानहरुले नाफा नोक्सानको बीमा गराउन सकिने भएपनि लकडाउन जस्तो अवस्थाको बीमा गराउन नमिल्ने बताउँछन् ।
कम्पनीहरुले गर्ने नाफा नोक्सान बीमा भनेको सम्पत्ती बीमासँगै जोडिएर आउने बीमालेख हो । यो बीमालेख लिएका उद्योग प्रतिष्ठानहरुको आम्दानीमा कुनै पनि प्रकारको असर परेर नोक्सानी भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइन्छ । तर, नेपालमा नाफा नोक्सान बीमाको प्रचलन जलविद्युत कम्पनीहरुमा भए पनि अन्य उद्योग प्रतिष्ठानमा नगन्य मात्रामा छ ।
निर्जीवन बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री पनि लकडाउन जस्तो परिस्थितिका कारण उत्पन्न हुने जोखिमको बीमा नहुने बताउँछन् । अनिश्चित कारणबाट उत्पन्न भएको परिणामले भौतिक क्षति भएको अवस्थामा मात्रै बीमाले रक्षावरण गर्ने भएकोले यस्तो अवस्थाको बीमा नहुने उनको भनाइ छ ।
कुनैपनि उद्योगमा भौतिक क्षति भएको अवस्थामा बीमाले आर्थिक जोखिम बहन गर्छ, बीमाको सिद्धान्त अनुसार अनिश्चित जोखिममा हालसम्म बीमा हुँदै आएको छ, अहिलेको लकडाउनको समयमा उद्योग नचल्दा त्यसलाई तत्काल बीमाले समेट्दैन’, क्षेत्रीले भने ।
उद्योग तथा कलकारखानाका सम्पत्तीहरुको बीमा गर्न मिल्ने व्यस्वस्था अहिले पनि छ । उद्योगका सम्पत्ती तथा सामाग्रीहरु टुटफुट, आगलागी, प्राकृतिक विपतबाट नष्ट तथा अन्य कारणले हुने क्षतिको बीमा गर्न पाइन्छ ।
प्रिमियर इन्स्यारेन्स कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा बीमा विज्ञ सुधुम्न उपाध्याय लकडाउन जस्तो परिस्थितिको बीमा नहुने बताउँछन् । सरकारले गरेको निर्णयबाट विभिन्न देशले लकडाउन जारी गरेकोले बीमाको दायराभित्र नपर्ने उनको भनाइ छ ।
‘सरकारले गरेको निर्णयले लकडाउन भएको हो, लकडाउनको कारणले उद्योग व्यवसाय नोक्सानीमा गएका हुन्, यस्तो अवस्थाको बीमा हुदैन, किनभने सरकारले निर्णय गरेर लकडाउन गरेको कारण लकडाउनबाट उत्पन्न परिस्थितिको बीमा गराउनु भनेको सरकारको निर्णय विरुद्ध बीमा गर्नुजस्तै हो, सरकारी निर्णयबाट हुने कुनै पनि प्रकारको अवस्थाको बीमा हुदैन,’ उपाध्यायले भने ।