
काठमाडौं । निर्जीवन बीमा कम्पनीले आगामी एक साता भित्र आ-आफ्नाे व्यवसायीक रिर्पोट बीमा समितिमा पेश गर्नुपर्ने भएकाे छ । सबै कम्पनीले आफ्नो वर्तमान अवस्था तथा आगामी योजनाका बारेमा रिर्पोट पेश गराउनु पर्ने बीमा समितिले जनाएकाे छ ।
आईतबार सम्पन्न भएकाे बीमा समिति र बीमक संघको बैठकमा समितिले साे कुरा जानकारी गराएकाे हाे । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार उक्त बैठकमा कोरोना महामारीको सन्दर्भमा भोलिका दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।
‘अहिलेको परिस्थितिमा कसले के गर्नु आवश्यक छ र कस्को तर्फबाट के गर्दा राम्रो हुन्छ भन्ने विषयमा आज हामीले छलफल गरेका हौँ, अब कम्पनीहरुले हामीलाई आफ्नो वर्तमान अवस्था तथा आगामी योजनाका बारेमा हामीलाई एक साता भित्र जानकारी गराउँने छन्’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।
‘अहिले कोरोना महामारीकै कारण सबैतिर व्यवसाय बन्द छन्, यस्तो अवस्थामा बीमा कम्पनीहरुले कसरी अघि बढ्नु राम्रो हुन्छ, कुन कम्पनीको अवस्था कस्तो रहेको छ, कस्तो किसिमको बीमा प्रडक्ट बजारमा आवश्यक छ भन्ने विषयमा छलफलमा चल्यो’, निर्जीवन बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले विकासन्युजसँग भने ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले आगामी एक साता भित्रमै बीमा कम्पनीहरुले आफूहरु कसरी अघि बढि रहेको र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने खालका प्रगति विवरण बीमा समितिलाई पेश गर्ने बताए ।