काठमाडौं । सेयर विक्रीबाट प्राप्त आम्दानीमा लाग्ने ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर भएको आन्तरिक राजस्व विभागको प्रष्ट पारेको छ । विभागले ५ असारमा धितोपत्र बोर्डलाई गरेको पत्राचारमा पुँजीगत लाभकर अन्तिम हो भनेर उल्लेख गरेको भने छैन ।
आयकर ऐनको दफा ९२ मा अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीमा पुँजीगत लाभकर समावेश छैन । ऐनको दफा ९२ मा भएको व्यवस्थाले पुँजीगत लाभकरलाई अन्तिम भनेर उल्लेख गर्न नमिल्ने भएकोले अग्रिम कर कट्टी गरिएको विषयमा करचुक्ता प्रमाणपत्र दिने व्यवस्था मात्रै खुलाइएको विभागका कर अधिकृत युवराज बस्नेतले जानकारी दिए ।
‘आयकर ऐनको दफा ९२ मा अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीको सुचीमा पुँजीगत लाभकर समावेश छैन, त्यसैले पुँजीगत लाभकर अन्तिम कर हो भने उल्लेख गर्न प्राविधिक रुपमा मिलेन, तर, ऐनको अनुसची १ मा प्राकृर्तिक व्यक्तिको हकमा सेयर निसर्गबाट प्राप्त हुने आम्दानीमा ५ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था स्पष्ट गरिएकोले पुँजीगत लाभकर नै अन्तिम हो, थप कर लाग्दैन,’ कर अधिकृत बस्नेतले भने ।
विभागले बोर्डलाई लेखेको पत्रमा कर चुक्ता प्रमाणपत्र पाइने भनिए पनि पुँजीगत लाभकर अन्तिम हो कि होइन भनेर उल्लेख गरिएको छैन । विभागको यस्तो व्यहोराको पत्रले लगानीकर्तामा अन्योल अझै कायमै छ । आर्थिक ऐनमा पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा उल्लेख गरिएको भए अहिले देखिएको अन्योलता स्वतः हट्ने विभागको भनाइ छ ।

पुँजीगत लाभकर अन्तिम नभएकै अवस्थामा पनि त्यसले तात्विक भिन्नता नपार्ने विभागको दाबी छ । आयकर ऐनको अनुसुची १ मा पुँजीगत लाभकर ५ प्रतिशत मात्रै हुने व्यवस्था भएको र लगानीकर्ताले अग्रिम रुपमा बुझाएको कर पनि ५ प्रतिशत नै हुने भएकोले यसमा थप अल्मलिनु पर्ने अवस्था नरहेको विभागको भनाइ छ ।
यद्यपि कर चुक्ता प्रमाणपत्र लिनको लागि स्थायी लेखा (प्यान) नम्बर भने लिनै पर्ने भएको छ । पाँच लाख रुपैयाँसम्मको सेयर कारोबार गर्नको लागि प्यान नम्बर नचाहिने व्यवस्था गरिएको भएपनि इटीडीएसमा मात्रै कर चुक्ता प्रमाणपत्र पाइने विभागको प्रष्टोक्तिले प्यान नम्बर नलिएका लगानीकर्ताले करचुक्ता प्रमाणपत्र नपाउने अवस्था सिर्जना भएको हो । विभागले सेयर कारोबार मात्रै गर्ने व्यक्तिको वार्षिक ४० लाख रुपैयाँसम्मको आयमा कर विवरण बुझाउने नबुझाउने भन्ने निर्णय करदाताले नै गर्न सक्ने र सोभन्दा बढीको आयमा भने कर विवरण अनिवार्य भएको बताएको छ ।
सम्बन्धित सामग्री