काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १.५७५ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार बिहान १० बजेसम्ममा एक लाख ३० हजार जना आवेदकले करिब ७० लाख कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।
संस्थाले बुधबारदेखि कूल ४४ लाख ४३ हजार २ सय कित्ता सेयरको लागि बिक्री खुल्ला गरेको थियो । बिक्री खुला गरेको पहिलाे दिनमै संस्थाको सेयरमा माग भन्दा बढी आवेदन परेको थियाे ।
एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले असार १० गतेदेखि कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेकाे छ। संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो ।
जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ ।
यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ ।
सम्बन्धित समाचारः
एनआईसी एशिया लघुवित्तको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?