
काठमाडौं । लकडाउनको अवधिमा धितोपत्रकाे दाेश्राे बजार पूर्णरूपमा बन्द भयाे । याे अवधिमा दोश्रो बजार सञ्चालनको लागि नेपाल धितोपत्र बोर्डले विभिन्न कार्यहरु गरेको छ ।
लकडाउनको तीन महिनाको अवधिमा बोर्डले घरमै बसी कारोबार गर्न सक्ने व्यवस्थादेखि अनलाइन स्टक डिलर व्यवसाय सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको बाेर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले जानकारी गराएका छन् ।
धितोपत्र बजारको विद्यमान अवस्था र सुधारका विषय तथा लगानीकर्ताहरुको माग सम्बन्धमा उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिमा छलफल र नियमन निकायहरुले सुधार गर्नुपर्ने कार्यहरु गर्न निर्देशन दिएको छ ।
विद्युतीय माध्यमबाट रकम भुक्तानी तथा प्राप्ति र लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गर्ने सम्बन्धमा नेप्सेलाई निर्देशन दिएको बोर्डले जनाएको छ ।
स्टक डिलर व्यवसाय सञ्चालनमा ल्याउने सम्बन्धमा निर्देशन तथा अनुमतिका लागि बोर्डमा निवेदन प्राप्त भएको बोर्डले जानकारी गराएको छ ।
त्यसैगरी, लगानीकर्ताले कारोबार गर्दा डिम्याट खातामा धितोपत्र रहे/नरहेको यकिन गर्ने व्यवस्था बोर्डले गराएको छ ।आफूले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्ने र धितोपत्रको भारित औषत लागत प्रविष्ट स्वचालितरुपमा गर्न सकिने व्यवस्था भएको छ ।
धितोपत्र दलालबाट युजर नेम तथा पासवर्ड लिई घरमै बसी कारोबार गर्न सक्ने र नलिने लगानीकर्ताले समेत घरमै बसी दलाललाई विद्युतीय माध्यमबाट धितोपत्र कारोबारका लागि फोन र एसएमएस, इमेल जस्ता विद्युतीय माध्यमबाट आदेश दिन सक्ने व्यवस्था भएको छ ।
क्ल्यिरिंग बैंकबाट अनलाईन भुक्तानी गर्ने सुविधा र नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस वा आईपीएसको प्रयोग गर्न सक्ने व्यवस्था भएको छ ।
खरिद गरेको धितोपत्र लगानीकर्ताको डिम्याट खातामा विद्युतीय माध्यमबाट प्राप्त हुने र बिक्री गरेको धितोपत्रको रकम ब्रोकरले विद्युतीय माध्यमबाट लगानीकर्ताको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएको बोर्डले जनाएको छ ।
साथै, लगानीकर्ताले घरमै बसेर मेरो सेयर एप्लीकेशनको प्रयोग गरी विद्युतीय माध्यमबाट धितोपत्र हस्तान्तरण गर्न सक्ने व्यवस्था(ई-डीआईएस) गरिएको छ ।