काठमाडौ । अफ्रिकादेखि आएको सलहको समुह भारत हुँदै नेपाल प्रवेश गरेको छ । एकै दिनमा ठूलो परिमाणमा बालीनाली खाने किरा सलहले नेपाली किसानले लगाएको अन्नबाली पनि खाएर सखाप पारिदेला कि भन्ने चिन्ता छ ।
तर, किसानले बाली बीमा गरेको अवस्थामा सलहले खाएपनि किसानले क्षतिपूर्ति पाउने बीमा कम्पनीहरुले बताएका छन् । किसानले गरेको बाली बीमामा जुनसुकै प्रकारबाट पनि क्षति पुगेमा क्षतिपूर्ति पाइने भएकोले किसानलाई आर्थिक नोक्सानी नपर्ने भएको हो ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार अन्न बाली किरा फट्याङ्ग्राले खाएर क्षति पुगेको अवस्थामा पनि दाबी भुक्तानी पाइने व्यवस्था छ ।
‘सलहलगायत कुनै पनि प्रकारका किरा फट्यांग्राले बीमा गरिएको बालीनाली तथा फलफूल खाए पनि आर्थिक क्षति नै हुन्छ कि भनेर चिन्ता गर्नु पर्दैन, बीमा गरिएको बालीनाली तथा फलफूलमा जुनसुकै प्रकारबाट क्षति भएपनि बीमा कम्पनीबाट दाबी भुक्तानी हुन्छ,’ क्षेत्रीले भने ।
सलह किराले निकै ठूलो परिमाणमा बालीनाली नष्ट गर्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ । अन्र्तराष्ट्रिय संचार माध्यमहरुले बताएअनुसार पनि सलह किराले एकै दिनमा धेरै किलोमिटरको यात्रा तय गर्न सक्छ ।
विगतका दिनमा पनि नेपाली किसानहरुले अन्नबालीमा विभिन्न किराहरुले दिने दुःख हैरानी व्यहोर्दै आएका थिए । डिएपी, यूरियादेखि विभिन्न कम्पोस्ट मलखाद बालीनालीमा प्रयोग हुन्छ । यस्ता मलखादले अन्य प्रकारका किरा फट्यांग्रा नष्ट गर्ने भएपनि सलहलाई भने कुनै असर नपार्ने बताइएको छ ।
समूहमा देखिने, धेरै देखिने तथा एक ठाउँबाट अर्को ठाउँमा तिव्र गतिमा पुग्ने भएकाले सलह कृषि क्षेत्रमा जोखिम पूर्ण मानिन्छ । कृषि बीमाको प्रिमियममा सरकारले ७५ प्रतिशत अनुदान समेत दिदै आएको छ । बीमा प्रिमियममा उक्त अनुदान प्रदान हुने भएकाले बीमितले २५ प्रतिशत मात्र बीमा प्रिमियम बुझाउँदा हुन्छ ।
बीमा कम्पनीहरुले कृषि बीमाका लागि बाली अनुसार विभिन्न किसिमका बीमालेखहरु संचालन गर्दै आएका छन् । उक्त बीमालेख अनुसार कृषि बीमामा कतिपय कुराहरु समेटिन्छ भने कतिपय बीमालेखले नसमेटने हुन्छन् ।
बीमा कम्पनीहरुले सलह किराले गर्ने हानी नोक्सानीमा कृषकहरुलाई आत्तिनु भन्दापनि रक्षावण गर्दा राम्रो हुने सल्लाह दिएका छन् । विभिन्न किसिमका जोखिममा बीमाले बिमितलाई सघाउदै आएको र सम्झौता अनुसार बीमाको दाबी भुक्तानी हुनेमा ढुक्क रहन बीमा कम्पनीहरुले आग्रह पनि गरेका छन् ।