राबा बैंकमा सिइओ खाली भएको तीन महिना पुग्न लाग्यो, तत्काल नियुक्ति गर्न कर्मचारी संघको माग

<p>काठमाडौं, ११ चैत । राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुको संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) तत्काल नियुक्त गर्न माग गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो बैंकमा करिब ३ महिनादेखि सिइओ रिक्त हुदा बैंक अस्तब्यस्त भएको भन्दै संघले यस्तो माग गरेको हो । बैंकको सिइओवाट कृष्णप्रसाद शर्माले गत २० [&hellip;]</p>

काठमाडौं, ११ चैत । राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुको संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) तत्काल नियुक्त गर्न माग गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो बैंकमा करिब ३ महिनादेखि सिइओ रिक्त हुदा बैंक अस्तब्यस्त भएको भन्दै संघले यस्तो माग गरेको हो ।

बैंकको सिइओवाट कृष्णप्रसाद शर्माले गत २० पुसमा अवकास पाएपछि सो बैंक सिइओ विहिन छ । तत्कालको लागि नायब प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीलाई कामु सिइओको जिम्मेवारी दिइएको थियो । तर पन्थीले पनि अनिवार्य अवकास पाएपछि बैंकका नायब महाप्रवन्धक द्धय बिष्णुप्रसाद बैद्य र भूपेन्द्र पाण्डेलाई सिइओले प्रयोग गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

‘उहाँहरु दुबै जनालाई अधिकार मात्रै प्रत्यायोजन गरिएको हो, उहाँहरु निमित्त सिइओ, कामु सिइओ वा सिइओ होइन, यसरी लामो समयसम्म नेतृत्व विहिन अवस्थामा राख्दा बैंकको वित्तीय अवस्था पुन धराशायी हुन सक्ने देखिएकोले तत्काल नियुक्तिको लागि दबाब दिइएको हो,’ संघका अध्यक्ष जितेन्द्रसिंह थापाले भने ।

संघले तत्काल सिइओ नियुक्ति गर्न बैंक संचालक समितिसँग माग गरेको छ । यसअघिका सिइओ शर्मा खुल्ला प्रतिस्पर्धावाट बैंकको सिइओ नियुक्त भएका थिए । बैंक संचालक समितिले नयाँ सिइओ खोजी गर्नको लागि अर्थमन्त्रालयका सहसचिव कृष्णप्रसाद देबकोटाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

सो उपसमितिले गत २५ पुसमा विज्ञापन गरेर खुल्ला प्रतिस्पर्धावाट सिइओ नियुक्ति गर्ने प्रक्रिया सुरु गरेको थियो । यसमा १६ जनाले आवेदन दिएका थिए । उसमितिले २८ माघमा अन्तिम चरणका उम्मेदवारहरुको प्रस्तुतीकरण एबम अन्तरवार्ता सकेर सिइओको लागि नाम सिफारिस पनि गरिसकेको थियो । सो उपसमितिले नेपाल बैंकका पूर्व महाप्रबन्धक किरण श्रेष्ठ, कर्मचारी संचयकोषका प्रशासक कृष्णप्रसाद आचार्य र कृषि विकास बैंककका महाप्रबन्धक अनिल उपाध्यायलाई सिफारिस गरेको थियो ।

‘सिफारिस गरिएको यति लामो समयसम्म सिइओ नियुक्ति किन हुन सकेन, बैंक जस्तो संबेदनशील संस्थामा संक्रमणकालको अवस्था किन लम्ब्याउन खोजिदैछ ?, संघले यस्ता प्रश्न सहित बैंक संचालक समितिको ध्यानाकर्षण गराएको छ ।

सो बैंकसँग सरकारी स्वामित्वका बैंकहरुको वित्तीय अवस्था नराम्रो भएपछि सरकारले विश्व बैंकसँग ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम संचालन गरेको थियो । सोही कार्यक्रमको कारण राष्ट्रिय बाणिज्य बैंकको वित्तीय अवस्था पनि सुधार भएको थियो । अहिले सो बैंकको वित्तीय अवस्था राम्रो भएपनि पुन राजनीतिक चलखेलको कारण समयमै सिइओ नियुक्ति हुन सकेको छैन ।

Share News