
काठमाडौं । बिहीबार कारोबार खुलेको एक घण्टा नबित्दै दुई पटक नकारात्मक सर्किट ब्रेक लागेको छ । दुई दिन लगातार उकालो लागेको बजारमा बिहीबार बजार खुलेदेखि नै घटेर नेगेटिभ सर्किट लागेको हो ।
पहिलो सर्किट लागेर २० मिनेटपछि खुलेको बजारमा ४ मिनेटमै अर्को सर्किट लागेको हो । नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेपछि सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।
११ बजेर ४७ मिनेट जाँदा रोकिएको कारोबार अब दिउँसो १२ बजेर २७ मिनेटमा पुनः सुचारु हुने छ ।
यसअघि कारोबार सुरु भएको २३ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट लागेको थियो । ५३.५ अंक अर्थात ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटमा लागि रोकिएको हो । केही मिनेट उकालो लागेको बजार त्यसपछि लगातार आरालो लागेको हो । सेयर बजार ११ बजेर २३ मिनेटमै ४ प्रतिशतले घटेको थियाे ।
दोश्रो पटक सर्किट लाग्दा नेप्से परिसूचक ६७ अंकले घटेर १२६९ अंकमा झरेको छ । सो अवधिमा १३३ कम्पनीको २९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
