
काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज (साउन २ गते) बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार उक्त सेयर आज दिउँसो ३ बजे बाँडफाँड हुने भएको हो ।
इन्स्योरेन्सले सेयर निष्काशन बन्द गरेको ४ दिनमै बाँडफाँड गर्न लागेको हो । उक्त सेयरको निष्काशन बन्द गत असार २९ गते भएको थियो । माग गरेभन्दा बढी आवेदन परेपछि संस्थाले छिटो मितिमा सेयर निष्काशन बन्द गरेको हो ।
एनआईबीएल एस क्यापिटलका अनुसार उक्त आईपीओमा ४ लाख ८४ हजार ४९८ योग्य आवेदनमार्फत १ करोड ७२ लाख १५ हजार ४९० कित्ता सेयर माग भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजारले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी २ लाख ११ हजार ४ सय ९८ आवेदकको हात खाली हुने छ ।
कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो ।
जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणमा बिक्रीमा राखिएको थियाे ।
यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने व्यवस्था रहेकाे थियाे ।
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।