काठमाडौं । बीमा समितिले आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य योजना तय गरेको छ । समितिले भवन निर्माण गर्नेदेखि दाबी-भुक्तानीलाई सहज बनाउने कार्य योजना पास गरेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार चालु आर्थिक वर्षमा बीमा दाबी-भुक्तानीलाई सरल र सहज बनाउदै बीमितको आवश्यकता अनुसार समग्र उद्योगले काम गर्दै जानेछ ।
‘हामीले कार्य योजना तयार गरेका छौं, समग्र बीमा क्षेत्रको हित हुने हिसाबले हामीले काम गर्नेछाैं, बीमाको दाबी-भुक्तानीलाई अझै छिटो छरितो बनाउने हाम्रो प्रयास यस आर्थिक वर्षमा पूरा हुनेछ’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने ।
यस्तो छ समितिको कार्य योजनाः
भवन निर्माण गर्ने
चालु आर्थिक वर्षमा बीमा समितिले भवन निर्माण गर्ने भएको छ । समितिले भवन निमार्णको प्रक्रिया शुभारम्भ हुने जानकारी दिएको हो । उक्त भवनको निर्माण प्रकृया अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्देशन प्राप्त भएपश्चात अघि बढ्ने जनाएको छ ।
कार्यविधि संसोधन तथा तयार गर्ने
कार्य विधि संसोधन तथा तयारको सन्दर्भमा बीमा समितिले मस्यौदा तयार गर्ने छ । यस्तै, सरोकारवालासँग छलफल गर्ने तथा स्विकृत गर्ने जनाएको छ ।
निर्देशिका संशोधन तथा तयार पार्ने
चालु आर्थिक वर्ष भित्र बीमा समितिले जीवन बीमकको बीमांकीय मूल्याङ्कन सम्बन्धि निर्देशिका संशोधन गर्नेछ । यस्तै, जीवन बीमा अन्तर्गत विभिन्न बीमालेख सम्बन्धी मार्ग दर्शन तयार गर्नेछ । बाली तथा पशुपन्छी बीमा निर्देशिका संशोधन हुनेछ । जीवन र निर्जीवन बीमकको पूनर्बीमा निर्देशिकामा परिमार्जन हुनेछ ।
बीमकको आन्तरिक लेखा परिक्षण सम्बन्धी निर्देशिका परिमार्जन हुनेछ । बीमा कम्पनीको संस्थापक सेयर कारोवार सम्बन्धी निर्देशिका संशोधन हुनेछ ।
बाली तथा पशुपन्छी बीमालेखहरु तयार गर्ने
बाली तथा पशुपन्छी बीमा अन्तर्गत सम्बन्धित निकायबाट माग भए बमोजिम बीमालेखहरु तयार हुनेछ । बाली तथा पशुपन्छी बीमा अन्तर्गत हाल कायम रहेका बीमालेखहरु आवश्यकता अनुसार संशोधन हुनेछ ।
यस्तै, लघु निर्जीवन बीमा अन्तर्गत दुर्घटना, स्वास्थ्य, घातक रोग र अन्य आवश्यक बीमालेखहरु तयार गर्ने बीमा समिले जनाएको छ ।
रणनीतिक योजना (२०२१-२०२५) तयार गर्ने
बीमा समितिको आवद्यिक रणनीतिक योजना तयार हुनेछ ।
बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने
प्रदेश सरकार स्थानीय सरकार, कृषक, विद्यार्थी लगायत बीमा क्षेत्रका सरोकारवालासँग अन्तक्रिया तथा छलफलहरु हुनेछ । समितिले जनचेतना अभिवृद्धि गर्ने उदेश्यले सरोकारवाला पहिचान गर्ने, अन्तक्रिया गर्ने, अभिलेखिकरण गर्ने काम सम्पन्न गर्नेछ ।
बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्न पहल गर्ने
बीमा विषयलाई माध्यमिक, स्नातक र स्नाकोत्तर तहको पाठ्यक्रममा समावेश गर्न पहल हुनेछ ।
समितिको वार्षिक कार्यक्रम
बीमा समितिले वार्षिक उत्सवसको अवसरका कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रमले निरन्तरता पाउनेछ ।
समितिका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने
बीमा समितिका कर्मचारीको क्षमता अभिवृद्धी गर्न जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी तालिम संचालन हुनेछ । यस्तै, नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी तालिम दिइने छ ।
समितिको वार्षिक कार्यक्रमको समिक्षा गर्ने
बीमा समितिले आफ्नो अर्ध-वार्षिक तथा वार्षिक कार्यक्रमको समिक्षा गर्दै आएको छ । उक्त समिक्षाले चालु आर्थिक वर्षमा समेत निरन्तरता पाउनेछ ।
बीमा सम्बन्धी विषयहरुमा विशेष अध्ययन/अनुसन्धान गर्ने
नोवल कोरोना भईरस कोभिड १९ ले बीमा क्षेत्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन हुनेछ । यस्तै, क्षेत्रगत रुपमा समेत बीमाको प्रभाव बारे अध्ययन गरिने छ ।
बीमा समितिको व्यवस्थापन सूचना प्रणाली स्तरीकृत गर्ने
बीमा नियमन, लेखा प्रणाली, मानव संशाधन अभिलेख व्यवस्थापन, सम्बन्धि सफ्टवेर तयार हुनेछ । तथ्याङ्क भण्डारणका लागि सर्भर खरिद गर्नेका काम हुनेछ ।
स्थलगत निरीक्षण गर्ने
जीवन बीमकहरुको एएमएल, सिएफटी विषेश स्थलगत निरीक्षण हुनेछ । यस्तै, जीवन, निर्जीवन तथा पूनर्बीमा गर्ने कम्पनीको समष्टिगत स्थलगत निरीक्षण हुनेछ ।
कोरोना बीमा कार्यन्वयन
१ लाख रुपैयाँसम्मको सामूहिक कोरोना बीमा गर्दा लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिनेछ । यस्तै, आगामी वषएकालागि अस्थायी र करार लगायत सबै राष्ट्र सेवकको १ लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्थाको कार्यन्वयन हुनेछ ।
कृषि लघु उद्यम
कृषि र लघु उद्यम व्यवसायमा बीमाको पहुँच अभिवृद्धी गर्न बीमा दाबी भुक्तानी प्रकृयालाई सहज र सरल बनाइनेछ ।
यस्तै, घुम्त्ती बीमा कार्यक्रमको संचालन हुनेछ ।
कोरोना महामारीका कारण संचालनमा आउन नसकेका उद्योग प्रतिष्ठान एवम् यातायातको साधनको बीमा पोलिसीको म्याद लक डाउनको अवधिसम्म थप गर्ने व्यवस्था हुनेछ ।