काठमाडौ । बीमा कम्पनीहरुले करारका कर्मचारी हटाएर दक्ष जनशक्ति भर्नाको प्रक्रिया थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण व्यवसाय कम भएपछि बीमा कम्पनीहरुले कर्मचारी कटौति गर्न लागेका हुन् ।
कोरोना भाइरस संक्रमण अघिसम्म एक कम्पनीमा आवद्ध कर्मचारीको अर्को कम्पनीमा माग हुन्थ्यो । तर अहिले भने करारका कर्मचारी हटाएर बजारबाट दक्ष जनशक्ति लिन लागेका छन् ।
जेठ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने बीमा क्षेत्रमा १० हजार २ सय ४७ जनाले रोजगारी पाएका छन् । यस्तै, अभिकर्तातर्फ ५ लाख जना कार्यरत छन् । सर्भेयरको संख्या ४ सय दर्तामा छ भने सय-डेढ सय सक्रिय रहदै आएका छन् ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्मचारी राख्नु र हट्नु स्वभाविक प्रक्रिया भएको बताए । तर, कोरोना भाइरसलाई नै कारण देखाएर कसैलाई पनि जागिरबाट हटाउन नहुने समितिको भनाइ छ ।
‘कुनैपनि कम्पनीमा कर्मचारी थप्ने र घट्ने सामान्य प्रकृया हो, तर, कोरोना भाइरस संक्रमणको असर परिरहेको अहिलेको समयमा कसैलाई जागिरबाट ननिकाल्न बीमा कम्पनीहरुलाई हामीले निर्देशन नै दिएका छौं,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले भने ।
पछिल्लो समय कोरोना महामारीकै कारण बीमा क्षेत्रमा रोजगारी गुमाउनेहरुको संख्या वृद्धि भएको छ ।
अभिकर्ताहरु पनि बेरोजगार भए । बीमा व्यवसायमा फ्रन्टलाइनमा बसेर काम गर्दै आएका अभिकर्ताहरु बिमितको घर दैलोसम्म पुग्न सकेनन् । कोरोना महामारीका कारण अभिकर्ताहरुले दैनिक रुपमा गर्दै आएको बीमा पनि ठप्पै रोकियो ।
बीमा कम्पनीहरुले पनि आफ्ना शाखा कार्यालय संचालन गर्न पाएनन् । कम्पनीहरुले सेवा सुविधामा कमी नआओस् भनेर हरसम्मत प्रयास गरे । सोही कारण बीमा कम्पनीहरुले आफ्नो प्रधान् कार्यालयबाटै बीमा सेवा तथा दाबी भुक्तानी जारी राखेका थिए ।
कोरोना महामारीकै प्रभावका कारण वैदेशिक रोजगारसँग सम्बन्धित उद्योग धन्दादेखि पर्यटन, होटल व्यवसायमा ठुलो प्रभाव पर्न गयो । हालसम्मपनि होटल व्यवसाय र अधिकांश उद्योग धन्दा सामान्य रुपमा चल्न सकेका छैनन् ।
त्यस्ता उद्योग धन्दाहरुसँग बीमा व्यवसाय पनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिने गर्छ । जसले गर्दा हरेक क्षेत्रमा आर्थिक लाभ माथि ठेस लागेको छ ।
यस्तै यावत कारणहरुले गर्दा बीमा क्षेत्रमा कार्यरत केही कर्मचारीहरुले रोजगारी गुमाउने अवस्था सिर्जना भयो । तर अहिले कोरोनाको कहर नसक्किदै केही बीमा कम्पनीहरुले कर्मचारीको आवश्यकता पर्यो भन्दै आवेदन माग गर्न थालेका छन् ।
प्रायजसो करारमा राखिएका कर्मचारीहरु बीमा कम्पनीबाट बाहिरिएको बीमा समितिले जानकारी दिएको छ । यस्तै, सिक्ने प्रयोजनका लागि मात्र बीमा क्षेत्रमा प्रवेश गरेका कतिपय कर्मचारीहरुले कोरोना महामारीको कारण केही समयको लागि बाहिरिनु परेको छ ।
कतिपय कर्मचारी बेतलबी बिदा दिएर बसेका, कतिको रोजगारी गुमेको छ भने कतिपयले नयाँ काममा समेत हात हालेका छन् । यसैकारण पनि बीमा कम्पनीहरुमा कर्मचारीको अभाव देखिन थालेको छ ।
कर्मचारी खोज्दै केही बीमा कम्पनी
ज्योति लाइफले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनी आफ्नो आवश्यकता अनुसार विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको हो ।
ज्योति लाइफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख, उप–शाखा प्रमुख, बजार प्रतिनिधि र कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ ।
केही निर्जीवन बीमा कम्पनीहरुले कोरोनाको कहरकै समयमा आफ्नो कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कामबाट बिदा समेत गरेका थिए ।
एभरेष्ट इन्स्योरेन्सबाट २६ जना तथा सिद्धार्थ इन्स्योरेन्स कम्पनीबाट २२ जनाले कामबाट बिदा दिएका थिए । यसरी बाहिरिने कर्मचारीहरु अधिकांश प्रशिक्षार्थी छन् ।
बीमा समितिले बीमा कम्पनीहरुले आफ्नो नजिकको २ शाखा मर्ज गरेर एउटै बनाउन मिल्ने तर कर्मचारी हटाउन नमिल्ने बताउँदै आएको छ ।