काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने भएका छन् । साउन २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
इन्स्योरेन्सले सो वर्षको वित्तीय विवरण नेपाल लेखामान(एनएफआरएस) बमोजिमको वित्तीय विवरण गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकोले कम्पनीले लाभांश नदिने भएको हो । कम्पनीले बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको एनएफआरएस बमोजिमको वित्तीय विवरण तयार पारेको हो ।
यस्तै, कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा पनि सेयरधनीलाई लाभांश वितरण गरेको थिएन । यससँगै, कम्पनीले लगातार दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको छ ।
साथै, गत साउन २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साही वर्षको वासलात, नाफा नोक्सान तथा आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण सञ्चालक समितिबाट स्वीकृत गरी नियामक निकाय बीमा समितिमा वार्षिक साधारण सभा गर्न स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ ।