माध्यामिक तहदेखि नै बीमा पढाउन तात्यो बीमा समिति, कक्षा ११ देखि मास्टर्ससम्मको कोर्स बनाइदै

<p>काठमाडौं । बीमा सम्बन्धी चेतना बढाउन र दक्ष जनशक्ति उत्पादन गर्नको लागि औपचारिक शिक्षा प्रणालीबाटै बीमा अध्ययन गराउन नियामक निकाय बीमा समितिले पहल थालेको छ । विद्यालय तथा विश्वविद्यालय तहका औपचारिक पाठ्यक्रममा बीमा विषय समावेश नभएकोले बीमालाई पनि समेट्न सोही अनुसारको पाठ्यक्रम बनाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘हामीले विगतदेखि नै [&hellip;]</p>

काठमाडौं । बीमा सम्बन्धी चेतना बढाउन र दक्ष जनशक्ति उत्पादन गर्नको लागि औपचारिक शिक्षा प्रणालीबाटै बीमा अध्ययन गराउन नियामक निकाय बीमा समितिले पहल थालेको छ ।

विद्यालय तथा विश्वविद्यालय तहका औपचारिक पाठ्यक्रममा बीमा विषय समावेश नभएकोले बीमालाई पनि समेट्न सोही अनुसारको पाठ्यक्रम बनाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘हामीले विगतदेखि नै विद्यालयस्तरदेखि नै बीमा सम्बन्धी पढाई हुने व्यवस्था मिलाउन पहल गरेका थियौं, कक्षा ११ र स्नातक तहको पहिलो वर्षको पाठ्यक्रम बनाएर सम्बन्धित निकायलाई दिएका पनि हौं, तर कक्षा ११ र १२ तथा स्नातक तहका सबै वर्षको पाठ्यक्रम तयार भएपछि मात्रै कोर्षमा राखिने गरिएको हुने रहेछ, त्यसैले थप गृहकार्य गर्नुपर्ने देखियो,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले भने ।

समितिले चालु आर्थिक वर्षको आफ्नो वार्षिक कार्ययोजनामा बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषय पनि समावेश गरेको छ । समितिले माध्यमिक, स्नातक र स्नाकोत्तर तहमा बीमा विषयको अध्ययनको व्यवस्था मिलाउन पाठ्यक्रम तयार पार्न लागेको हो ।

समितिले अब कक्षा १२ तथा स्नातक तह दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तहको दोस्रो वर्षको पाठ्यक्रम तयार पार्नेछ । यस्तै, समेस्टर प्रणालीबाट अध्ययन हुने संकायको लागि भने प्रत्येक तहका सबै सेमेस्टरको लागि पाठ्यक्रम तयार पार्नेछ । एउटा तहको सबै वर्षका वा सबै समेस्टरको पाठ्यक्रम तयार भएपछि मात्रै त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिकसत्रको क्यालेन्डर अनुसार पाठ्यक्रम समावेश गर्ने जानकारी प्रतिक्रिया दिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

बीमा क्षेत्रको लागि योग्य जनशक्तिको अभाव भएको र जनस्तरमा बीमा सम्बन्धी ज्ञान तथा जानकारी कम भएकोले माध्यामिक तहदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रमा समावेश गर्न लागिएको समितिको भनाइ छ ।

‘बीमा महत्वपूर्ण विषय भएकाले यसको ज्ञान जति छिटो हाँसील गरियो उतिनै राम्रो हुन्छ, हामीले सोही कुरालाई ध्यानमा राखेर माध्यमिक तहदेखि नै बीमा विषय पाठयक्रममा समावेश गर्न पहल गरेका छौं’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने ।

पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक

बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक रहेको बताएको छ । केन्द्रले स्वीकृत गरेपछि मात्रै विद्यालयस्तरको कोर्षमा कुनै पनि विषय समावेश हुन्छ ।

त्रिविसँग छलफल

स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा बीमा विषय समावेश गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) पनि सकारात्मक रहेको र अहिले छलफल चलिरहेको समितिले जानकारी दिएको छ ।

बीमा क्षेत्रको भ्यालुयसन गर्ने (एक्चुरी) विषय पढ्न बर्सेनि नेपाली विद्यार्थी विदेशिने गरेका छन् । छिमेकी राष्ट्र भारतमा पनि एक्चुरी विषय पढ्ने विद्यार्थीको संख्या निकै रहेको जानकारहरु बताउछन् ।

कति लाग्छ खर्च ?

एक्चुरी विषय पढ्न विद्यार्थीहरुले गणित वा तथ्यांकशास्त्र विषयमा प्लस टु गरेको हुनुपर्छ । प्लसटु सकेको विद्यार्थीले ८ वर्षमा एक्चुरीको पढाइ पूरा गर्न सक्छन् ।

एक्चुरी पढ्दा ४ वर्ष डिप्लोमा तथा ४ वर्षको फेलोसिप अध्ययन गर्नु पर्छ । एक्चुरी विषय पढ्न भारतमा करिब ४० लाख तथा अन्य देशमा ७० लाखसम्म लाग्ने जानकारहरु बताउछन् ।

नेपालमा हाल तथ्यांकशास्त्र संकाय अन्र्तगत एक्चुरीयल साइन्सका केही कोर्सहरु पढाई हुदैआएको छ ।

नेपालमा विए एक्चुरीयल साईन्स पढ्न ४ वर्ष लाग्छ । उक्त कोर्ष पढाइ गर्दा विदेशमा पढाइ हुने एक्ुचरीयल साइन्स पढ्न थप सहयोग पुग्छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललका अनुसार नेपालमा एक्चुरी शिक्षा आवश्यक छ तर सो शिक्षा सुरु गर्न केही समय लाग्ने देखिन्छ ।

‘अहिले नेपालमा बीमा सम्बन्धि विषयहरुमा हामीले जोड दिइरहेको अवस्था छ तर एक्चुरीयल साइन्सको हकमा नेपालमा तत्काल सुरु गर्न सकिदैन, केही समय लाग्छ नै, बीमासँग सम्बन्धि विषयहरुमा बीमा समिति तथा पाठ्यक्रमले समन्वय गरिरहेका छन्, बीमा सम्बन्धि चेतनामा वृद्धी गर्नु आजको आवश्यकता पनि हो,’ सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।

Share News