एक वर्षमा जीवन बीमा बजारः बीमालेखका आधारमा २६ प्रतिशत र शुल्कका आधारमा ३३ प्रतिशतले बढ्यो

<p>काठमाडौं । एक वर्षमा जीवन बीमा बजार जीवन बीमालेखका आधारमा २६ प्रतिशतले बढेको छ । बीमाशुल्क संकलनका आधारमा भने ३३ प्रतिशतले बढेको छ । कम्पनीहरुले जारी गर्ने बीमालेख तथा बीमाशुल्क संकलन जस्ता परिसूचकको आधारमा जीवन बीमा बजार बढेको पाइएको हो । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा ५६ लाख ७७ हजार जीवन बीमालेख [&hellip;]</p>

काठमाडौं । एक वर्षमा जीवन बीमा बजार जीवन बीमालेखका आधारमा २६ प्रतिशतले बढेको छ । बीमाशुल्क संकलनका आधारमा भने ३३ प्रतिशतले बढेको छ ।

कम्पनीहरुले जारी गर्ने बीमालेख तथा बीमाशुल्क संकलन जस्ता परिसूचकको आधारमा जीवन बीमा बजार बढेको पाइएको हो ।

बीमा समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा ५६ लाख ७७ हजार जीवन बीमालेख जारी भएका थिए । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कम्पनीहरुले जारी गरेको जीवन बीमालेखको संख्या ७१ लाख ९६ हजार पुगेको छ । बीमालेख संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २६.७५ प्रतिशतले बढेको हो ।

३३ प्रतिशतले बढ्यो बीमाशुल्क

जीवन बीमाशुल्क ३२.८४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमाशुल्क ७१ अर्ब ४ करोड रुपैयाँ रहेको थियो भने गत आर्थिक वर्षको अन्त्यमा ९४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

घट्यो बैदेशिक रोजगार बीमालेख

बैदेशिक रोजगार बीमालेख भने १० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा १६ लाख ५० हजार रहेको बैदेशिक रोजगार बीमालेख गत आर्थिक वर्षको अन्त्यमा भने १३ लाख ८१ हजारमा सिमित हुन पुगेको छ ।

यस्तै, कुल जीवन बीमालेख संख्या १७ प्रतिशतले बढेको छ । समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा ७३ लाख २८ हजार रहेको कुल जीवन बीमालेख संख्या गत आर्थिक वर्षको अन्त्यमा ८५ लाख ७७ हजार पुगेको छ ।

६ प्रतिशतले बढ्यो निर्जीवन बीमा शुल्क

निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ६.३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा २४ अर्ब ३२ करोड रुपैयाँ रहेको निर्जीवन बीमाशुल्क गत आर्थिक वर्षको अन्त्यमा २५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

४ प्रतिशतले बढ्यो बीमाको दायरामा आउने जनसंख्या

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्मका बीमाको दायरामा आएको जनसंख्या १८ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्त्यसम्म बीमाको दायरामा आएको जनसंख्या २२ प्रतिशत पुगेको छ । बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा ४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको शाखा कार्यालय ८ प्रतिशतले बढ्यो

गत आर्थिक वर्षको अन्त्यसम्ममा बीमा कम्पनीहरुको शाखा संजाल संख्या ८ प्रतिशतले वृद्धि हुन पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ५ सय २३ रहेको थियो । गत आर्थिक वर्षको अन्त्यमा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ७ सय ४२ पुगेको छ ।

७ प्रतिशत बढे कर्मचारी

बीमा कम्पनीहरुमा काम गर्ने कर्मचारीको संख्या ७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमा कम्पनीहरुको कर्मचारी संख्या ९ हजार ४ सय ८६ रहेको थियो । गत आर्थिक वर्षको अन्त्यमा कर्मचारी संख्या १० हजार २ सय ३६ पुगेको छ ।

Share News