काठमाडौं । लगानीकर्ताले दोश्रो बजारमा सेयर कारोबार गर्दा दलाल व्यवसायी (ब्रोकर) कोमा राखेको धरौटी(मार्जिन) रकमको व्याज पाउने भएका छन् । उनीहरुले दलाल व्यवसायीलाई बुझाउनुपर्ने २५ प्रतिशत धरौटी रकममा प्रतिफल पाउने भएका हुन् ।
नेपाल धितोपत्र बोर्डले बुधबार एक पत्र जारी गरी लगानीकर्ताले सेयर कारोबार गर्नु अघि बुझाएको धरौटीमा पनि प्रतिफल पाउने व्यवस्था गरेको हो ।
लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउने धरौटी रकममा आउने दायित्व तथा प्रतिफलका सम्बन्धमा लगानीकर्ता तथा ब्रोकरबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था समेटी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को संशोधनको स्वीकृति बोर्डले प्रदान गरेको पत्रमार्फत जानकारी गराएको छ ।
यसअघि लगानीकर्ताले बुझाएको उक्त धरौटी रकममा प्रतिफल नपाएको गुनासो गरिरहेका थिए । अब यस व्यवस्थासँगै सेयर कारोबारको लागि लगानीकर्ताले राखेको धरौटी रकममा प्रतिफल प्राप्त हुने वा नहुने सम्बन्धी उनीहरुमा रहेको अन्यौलता हटेको छ ।