काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा २ करोड ४ लाख १४ हजार एक सय ९० कित्ता सेयर आवेदन परेको छ । गत बिहीबारदेखि निष्काशन भएको उक्त आईपीओमा ५ लाख ३ हजार ८ सय २ जना आवेदकले सो मात्राको सेयरको लागि आवेदन दिएका हुन् ।
सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार(भदौ ७ गते) अपरान्ह ४ बजेसम्ममा उक्त आईपीओमा २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जुन संस्थाले माग गरेकाे भन्दा ३.२० गुणा बढी हाे । कम्पनीले सर्वसाधारणमा कूल ५६ लाख ७० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे हाे ।
यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ ।
उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।