
काठमाडौं । लगानीकर्ता तथा सेयर बजारका जानकारहरुले गत बिहीबार र आइतबार (भदौ २५ र २८ गते) को बजारमा जानी-जानी चलखेल भएको आशंका गर्न थालेका छन् । टीएमएसमा समस्या भएको भनिए पनि बजारका गतिविधिका आधारमा उक्त दुइ दिनको बजारमा चलखेल नभएको भन्न सकिने धारणा उनीहरूले राखेका छन् ।
मार्केट पुण्डित पोर्टफोलियो म्यानेजमेन्ट एण्ड अड्भाइजरी प्रालिका प्रबन्ध निर्देशक विष्णुप्रसाद बस्यालले ती दुई दिनको सेयर बजारमा जानी जानी नै चलखेल भएको आरोप तथा आफ्नो धारणा राखेका छन् ।
उनले विभिन्न पक्षहरू केलाउँदै चलखेल हुन सक्ने कारणहरू पनि दिएका छन् । उनले निम्न उल्लेखित बुँदाहरुबाट सो दिनको बजारमा चलखेल भएको आशंका गर्न सकिने धारणाा राखेका छन् ।
१. नेप्सेले औपचारिक रुपमा नै ट्रेडिङ हाल्ट भएको भनेर सूचना प्रकाशित गरी सकेको अवस्थामा पनि सीमित ब्रोकर मार्फत ट्रेडिङ भएको थियो । बिहीबारको ट्रेडिङमा यस्तो भएको प्रमाणित गरेर देखाई सकेपछि पुनः त्यही प्रक्रिया आइतबार पनि दोहोरिएको थियो ।
२. ट्रेडिङ हाल्ट भएर फेरि सुचारु हुने समय फेरि उही हुनु । के दुबै दिन ११ः१५ मा ट्रेडिङ हाल्ट हुनु र २ः१५ मा नै ट्रेडिङ सुचारु हुनु मात्र संयोग हो वा फेरि टी प्लस थ्रीमा किनिएको सेयरको डेलिभरी इन्स्योर गर्न समय २स्१५ राखिएको हो ?
३. ट्रेडिङ हाल्ट भएर पुनः सुचारु हुँदा मार्केट डेप्थमा सम्पूर्ण सेलिङ अर्डर क्यान्सिल हुनु तर बाइङ्ग अर्डर यथावत रहनु । के यसो गरेर बजारलाई बुलिश छ भनेर देखाउन खोजिएको हो रु यदि त्यो नियत होइन भने कि त बाइङ्ग र सेलिङ अर्डर दुबै क्यान्सिल हुनु पर्थ्यो वा दुवै अर्डर क्यान्सिल नहुनु पर्ने हो ।
४. ट्रेडिङ पुनः सुचारु हुनु भन्दा केही मिनेट आगाडि मात्र सूचना प्रकाशित गर्नु। कमसे कम १५ मिनेट आगाडि सूचना प्रकाशित न गरी लामो समयदेखि हाल्ट भएको ट्रेडिङ सुचारु गर्नु भनेको केही सीमित व्यक्ति वा संस्थालाई फाईदा पुर्याउनु हो भनेर संका गर्ने यथेष्ट आधार छ।
५. टीएमएस सिष्टमबाट जुनसुकै लगानीकर्ताले ९विशेषतः आईटी को सामान्य एक्सपर्ट ले० पनि अरु कुनै लगानीकर्ताको तीन पुस्ते विवरण सहित अरु विवरण समेत हेर्न सक्नु । यो त माथि उल्लेखित अपराधभन्दा पनि सबैभन्दा उच्च श्रेणीको अपराध हो ।
उनले भनेका छन्, ‘उल्लेखित बुँदाका आधारमा मैले कुनै पनि संस्थाको इन्टिग्रटी माथि प्रश्न गर्न खोजेको होइन न त मेरो उद्देश्य कुनै संस्था माथि व्यक्तिगत आरोप हुन् । मेरो एउटा विनमरतापूर्वक अनुरोध मात्र हो कि यदि कतै जानीबुझी कसैले चलखेल गर्ने प्रयास गरेको छ भने सम्बन्धित व्यक्ति माथि कारवाही गरी सम्पूर्ण बजारलाई प्रकिर्तिक रूपमा चल्न दिइयोस् ।’
यसरी नै मूक दर्शक भएर बस्ने हो भने यो बजारमा कुनै दिन ठूलो दुर्घटना हुन सक्ने सजिलै अनुमान गर्न सकिने समेत उनले लेखेका छन् । यदि समय रहँदै उचित कारवाही गरिएन भने धेरै अबेर हुने उनको भनाई छ ।
(मार्केट पुण्डित पोर्टफोलियो म्यानेजमेन्ट एण्ड अड्भाइजरी प्रा. लि. का प्रबन्ध निर्देशक बस्यालको सामाजिक सञ्चालबाट)